प्रिया स्मृती गजमेर
देउखुरी,१२ माघ । लमही नगरपालिकाले राजस्व संकलनलाई सहज बनाउने र व्यवसाय व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले राजस्व, व्यवसाय व्यवस्थापन तथा व्यवसाय दर्ता एवं नवीकरण सम्बन्धी घुम्ती शिविर आइतवारदेखि सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका व्यापारी, उद्यमी तथा व्यवसायीलाई नगरपालिकाको सेवा ढोकैमा उपलब्ध गराउने लक्ष्यका साथ यो शिविर आयोजना गरिएको हो ।
शिविरको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले स्थानीय सरकारको सेवा नागरिकको घरदैलोमै पुर्याउने नीति अनुसार घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले व्यवसाय दर्ता र नवीकरण नगरी सञ्चालन हुने गतिविधिले नगरको राजस्वमा असर पार्ने भएकाले सबै व्यवसायीलाई कानुनी दायरामा आउन आग्रह गर्नुभयो । नगर प्रमुख चौधरीले कर तिर्नु दण्ड नभई नगर विकासमा लगानी भएको उल्लेख गर्दै नगरपालिकाले करदातालाई सम्मान गर्ने नीति लिएको पनि बताउनुभयो ।
उपप्रमुख लक्ष्मी योगीले व्यवसायी र नगरपालिकाबीच सहकार्य भए मात्र समृद्ध स्थानीय अर्थतन्त्र निर्माण सम्भव हुने बताउनुभयो । उहाँले महिलामैत्री तथा साना उद्यममैत्री नीति अवलम्बन गर्दै नगरपालिकाले व्यवसाय विस्तारमा सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । घुम्ती शिविरले व्यवसायीको समय र खर्च बचत गर्दै सेवा सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाको आन्तरिक आय वृद्धि र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उहाँले दर्ता, नवीकरण, कर भुक्तानी र विवरण अद्यावधिक जस्ता सबै सेवा एकै ठाउँबाट दिने व्यवस्था गरिएको बताउँदै कर प्रणालीलाई पारदर्शी र डिजिटल प्रणालीतर्फ लैजान पनि तयारी भइरहेको जानकारी दिनुभयो ।
त्यसैगरी देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले नगरपालिकाले व्यवसायीको समस्या बुझ्दै घरदैलोमै सेवा ल्याउनु सकारात्मक पहल भएको बताउनुभयो । उहाँले व्यवसायीहरूलाई नियमित दर्ता र नवीकरण गरी कानुनी हैसियतमा रहन आग्रह गर्दै नगरपालिकासँग सहकार्य गरेर स्थानीय बजारलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घुम्ती शिविरबाट नयाँ व्यवसाय दर्ता, वार्षिक नवीकरण, कर तथा शुल्क भुक्तानी, प्रमाणपत्र वितरण र परामर्श सेवा उपलब्ध गराइने लमही नगरपालिका राजस्व शाखा प्रमुख अम्विका शर्माले जानकारी दिनु भयो । यो शिविर आगामी फागुन १५ सम्म सञ्चालन हुने भएकाले सबै व्यवसायीलाई सहभागी भई सेवा लिन शाखा प्रमुख शर्मा आग्रह गर्नु भयो ।
घुम्ती शिविरमार्फत व्यवसायीहरूले नयाँ व्यवसाय दर्ता, वार्षिक नवीकरण, कर तथा शुल्क बुझाउने, व्यवसाय प्रमाणपत्र प्राप्त गर्ने, कर दर र नियमसम्बन्धी परामर्श तथा व्यवसायिक विवरण अद्यावधिक जस्ता सेवाहरू एकै ठाउँबाट पाउन सक्नेछन । यसले कार्यालय धाउनुपर्ने झन्झट हटाई समय र खर्च दुबैको बचत हुने भएपछि व्यवसायीहरू खुसी भएका छन । साथै कर, दस्तुर र कानुनी प्रक्रिया बुझ्न सहज हुँदा व्यवसाय सञ्चालन पनि थप पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
स्थानीय सरकारका लागि पनि यो घुम्ती शिविर निकै उपयोगी हुने नगरपालिकाले जनाएको छ । शिविरमार्फत करको दायरा विस्तार, राजस्व संकलन वृद्धि, अवैध वा दर्ता नभएका व्यवसाय पहिचान, व्यवसायिक तथ्यांक अद्यावधिक तथा नियमितता प्रवर्द्धन गर्न मद्दत पुग्नेछ । यसले नगरपालिकाको आन्तरिक आय मजबुत भई विकास निर्माण, सरसफाइ, पूर्वाधार र सार्वजनिक सेवामा लगानी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ । यो शिविरले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कर प्रणालीलाई न्यायोचित तथा प्रभावकारी बनाउने लमही नगरपालिकाले अपेक्षा गरेको छ ।