राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी

लीलाधर वली
दाङ, १२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमा गठबन्धनबाट चुनाव लडेका १८ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

जस अन्तर्गत लुम्बिनीमा कांग्रेसबाट वासुदेव घिमिरे र चन्द्रप्रसाद केसी, एमालेबाट रामकुमारी झाक्री, कोशी प्रदेशबाट एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल तथा कांग्रेसका सुनिलबहादुर थापा, मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रन्जित कर्ण तथा जसपा नेपालको तर्फबाट लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुर निर्वाचित भएका छन् ।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना, कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही, सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्य बनेका छन् ।

लुम्बिनीबाट महिला कोटामा एमाले उम्मेदवार गुल्मी निवासी रामकुमारी झाक्री, अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा नेपाली कांग्रेसका दाङ निवासी वासुदेव घिमिरे र अन्य कोटाबाट नेपाली कांग्रेसका उम्मेदवार गुल्मी निवासी चन्द्रबहादुर केसी विजयी भएका हुन् ।

विजयी झाक्रीले प्रदेशतर्फ तीन हजार तीन ३९ र स्थानीय तहतर्फ दुई हजार नौ सय ६४ गरी जम्मा छ हजार तीन सय तीन मतभार, अपाङ्ग÷ अल्पसङ्ख्यातर्फ विजयी घिमिरेले प्रदेशतर्फ तीन हजार तीन सय ३९ र स्थानीय तहतर्फ दुई हजार नौ सय ८३ गरी छ हजार तीन सय २२ र अन्य कोटाबाट विजयी केसीले प्रदेशतर्फ तीन हजार एक सय २७ र स्थानीय तहतर्फ दुई हजार आठ सय ५० गरी जम्मा पाँच हजार नौ सय ७७ मतभार प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् ।

पराजित महिला कोटामा नेपाली कम्युनिस्ट पार्टीकी पाल्पा निवासी दुर्गाकुमारी भण्डारीले प्रदेशतर्फ पाँच सय ८३ र स्थानीय तहतर्फ सात सय ७९ गरी जम्मा एक हजार तीन सय ६२ मत, अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा बाँके निवासी सर्जन विकले प्रदेशतर्फ छ सय ९३ र स्थानीय तहतर्फ नौ सय १२ गरेर एक हजार छ सय एक मतभार प्राप्त गरेका हुन् ।

अन्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निवासी बृहस्पति अधिकारीले प्रदेशतर्फ नौ सय एक र स्थानीय तहतर्फ नौ सय ३१ गरेर जम्मा एक हजार आठ सय ३२ मतभार प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट महिला कोटामा उम्मेदवार बनेकी प्युठान निवासी पद्मा पण्डितले प्रदेशतर्फ ५३ र स्थानीय तहतर्फ एक सय ३३ गरेर एक सय ८६ मत र अन्यमा उम्मेदवार बनेकी प्युठानकै बोमबहादुर खत्रीले प्रदेशतर्फ ५३ र स्थानीय तहतर्फ एक सय १४ गरेर एक सय ६७ मतभार प्राप्त गरेका थिए ।

निर्वाचनमा महिला कोटातर्फ स्थानीय तहको चार र प्रदेश सभातर्फ एक गरेर सात, अन्य कोटातर्फ स्थानीय तहमा तीन र प्रदेश सभातर्फ एक गरेर चार र अपाङ्ग÷अल्पसङ्ख्यक कोटातर्फ स्थानीय तहतर्फ तीन र प्रदेश सभातर्फ दुई गरेर पाँच मत बदर भएको थियो । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म भएको मतदानका क्रममा दुई सय छ मतदान भएको थियो । जसमा प्रदेश सभातर्फ सात जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गरेका थिए । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश सभामा ८३ र स्थानीय तहतर्फ दुई सय १६ जना मतदाता रहेका छन् ।

निर्वाचनमा विजयी हुनेलाई निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले प्रमाणपत्र प्रदान गरेका थिए । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ ।