नकारात्मक सोचविचारबाट कसरी मुक्त हुने ?

सुप्रिया मां

सकारात्मक सोच यस्तो शब्द हो जसलाई हामीले धेरैपल्ट सुनिसकेका छौँ । कोही मानिसहरु निराश भए भने सकारात्मक सोच्नुपर्छ भनेर सल्लाह पनि दिएकै हो । सकारात्मक सोचविचार र सकारात्मक जीवनशैली हामी सबैले चाहेको हो, हामीभित्र चाहना त्यसैको छ । कुनै पनि कुरा पहिला भावनामा आउँछ, त्यसपछि विचारमा, त्यसपछि वाणीमा र त्यसपछि व्यवहारमा देखापर्छ । अर्थात् जस्तो सोचविचार छ व्यवहार पनि त्यस्तै बन्दछ । नकारात्मक सोचविचारहरु धेरै प्रकारका हुन्छन्, जस्तै चिन्तित् हुनु, डराउनु, निराश हुनु, कसैप्रति इष्र्या, द्वेष र घृणाको भावना राख्नु, कसैलाई आरोप लगाउनु, अरुको नराम्रो होस् भनेर सोच्नु, कसैलाई नराम्रो भन्नु, कसैको आलोचना गर्नु, अरुसँग तुलना गरेर आफूलाई सानो ठान्नु, अरुले भनेका कुराहरुमा आफू दुःखी हुनु, बाहिर हेर्दा धेरै कुरा नराम्रो देख्नु आदि । कसरी थाहा हुन्छ आफ्नो मनमा चलेका सोचविचारहरु नकारात्मक हुन भनेर ? कुनै पनि यस्तो सोचविचार जसले मेरो मनस्थितिलाई विचलन गर्छ, मनको शान्तिलाई खल्बलाउँछ वा मनलाई असहज बनाउँछ भने त्यो सबै नकारात्मक सोचविचार हो ।

नकारात्मक सोचविचार गर्नु हुँदैन, हानी गर्छ, ठूला–ठूला रोगहरु निम्त्याउँछ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर पनि यस्ता सोचविचारहरु हाम्रो मनमा बारम्बार आइरहेका हुन्छन् । दुई प्रकारको सोच मानिसले गर्नसक्छ, एउटा हो सकारात्मक र अर्को हो नकारात्मक । कसैको मनमा सकारात्मक कुराहरु धेरै आउँछन् । कसैको मनमा नकारात्मक कुराहरु धेरै आउँछन् । किन यस्तो फरक हुन्छ ? मानिसले नचाहेर पनि मनमा बारम्बार नकारात्मक सोचविचारहरु किन धेरै आउँछन् ? एउटा गिलासमा आधा पानी भरेर टेबलमा राखिदिने हो भने कसैले त्यसमा तुरुन्तै आधा पानीले भरिएको देख्छ र कसैले तुरुन्तै आधा गिलास खाली देख्छ । सकारात्मक सोच भएको मानिसले आधा भरिएको देख्छ र नकारात्मक सोच भएको मानिसले आधा खाली देख्छ । दुवै कुरा सही हो, तर दृष्टिकोण मात्र सकारात्मक र नकारात्मक हो । यस्तो किन हुन्छ भनेर विचार गर्न आवश्यक छ र यो हाम्रो चिन्तनको विषय हो ।

हाम्रा सोचविचार र भावनाहरुलाई प्रभाव पार्ने कारक तत्वहरू वा स्रोतहरु के–के हुन् ? त्यतातिर ध्यान दिन आवश्यक छ । सोचविचार हाम्रो मनमा सिर्जना भएको एउटा ऊर्जा हो । हाम्रो सोचविचार र मनका भावनाहरुलाई प्रभाव पार्ने मुख्य तत्व वा स्रोत भनेको हामीले लिएको बाहिरको सूचना र जानकारीहरु हो । बाहिरको सूचना र जानकारी भन्नाले जे देख्छौँ, जे पढ्छौँ, जे सुन्छौँ, जे बोल्छौँ र जे लेख्छौँ त्यो सबै पर्दछ । मनको आहार वा स्रोत भनेकै सूचनाहरु र जानकारीहरु हुन् । जसरी हामीले खाएको अन्नले हाम्रो शरीरलाई प्रभाव पारेको हुन्छ, त्यसैगरी हामीले लिएको सूचना र जानकारीहरुले हाम्रो मनलाई प्रभाव पारेको हुन्छ । जसरी पौष्टिक र सन्तुलित आहारले शरीरको प्रतिरोधक शक्ति बढाएको हुन्छ र शरीर स्वस्थ्य हुनु र नहुनु आहारमा भर पर्छ, त्यसैगरी मन स्वस्थ हुनु र नहुनुमा पनि मनको आहारमा भर पर्छ ।

हामीले देखेको, सुनेको, पढेको, लेखेको र बोलेको यस्ता सबै कुराहरु गएर हाम्रो अवचेतन मन (Sub Conscious Mind) मा संग्रहित भएको हुन्छ र यो नै हाम्रो सोचविचारको स्रोत बन्दछ । अर्थात् जे भित्र संग्रहित छ त्यो नै बाहिर आउँछ । जस्तै हामीले धेरै दिनदेखि बारम्बार दुर्घटनाको समाचार पढ्ने, हेर्ने र सुन्ने गरेका छौँ भने दुर्घटनाको कुरा बारम्बार हाम्रो मनमा खेलिरहेको हुन्छ र घरका कुनै सदस्य घर बाहिर निस्कने बेलामा हामीलाई तुरुन्तै दुर्घटनाको सोचविचार मनमा आउँछ । घर बाहिर गएको सदस्य घरमा आउन केही समय ढिलो भयो भने तुरुन्तै नकारात्मक कुराहरुले सताउन थाल्छ र दुर्घटना पो भयो कि भन्ने डर, चिन्ता र भयले सताउँछ । अरु कुनै राम्रो कामले गर्दा ढिलो भएको होला भन्ने सोचविचार यो समयमा मनमा आउँदैन । किनकि हाम्रो अवचेतन मनमा दुर्घटना भन्ने कुरा संग्रहित भएर बसेको छ । हामीले नचाहेर पनि स्वतः नकारात्मक सोचविचार मनमा आउँछ । हामी यसलाई रोक्न सक्दैनौँ । हामीले आफै यस्ता कुराहरुको संग्रह गरेको हो र यसले हाम्रो मनको भावनालाई चलाएको हो । जस्तो संग्रह छ त्यस्तै भावनाहरु र जस्ता भावनाहरु छन् त्यस्तै सोचविचार, वाणी र त्यस्तै व्यवहार बन्दछ ।

हामीले हेरेका फिल्महरु, टेलिभिजनका सिरियलहरु र अरु कुनै दृष्यहरु, सुनेका जोक्सहरु र गीतहरु, पढेका किताबहरु, कविताहरु र समाचारहरु, अरुबाट सुनेका कुराहरु, फेसबुक र इस्टाग्राममा हेरेका र पढेका सबै कुराहरुको एउटा एउटा शब्द गएर हाम्रो अवचेतन मनमा संग्रहित भएको हुन्छ । हामीलाई यस्तो लाग्छ, फिल्म हेरेको हो, गीत सुनेको हो, फेसबुकमा पढेको हो, मैले त समय कटाउनका लागि गरेको हो, यसले मलाई के फरक पार्छ र ? वास्तवमा यस्तै कुराहरुले धेरै फरक पारेको हुन्छ । यस्ता सबै नकारात्मक कुराहरुले हाम्रो मनमा प्रभाव पार्दछ र हामीलाई डर, चिन्ता, नकारात्मक भावना र पछि गएर डिप्रेसन नै बनाउँछ । अरुको आलोचना गरेको धेरै पढ्ने र हेर्ने गरेका छौँ भने विस्तारै आफूले पनि अरुको आलोचना गर्न सुरु गर्दछौँ । हामीले नचाहेर पनि आलोचनाका शब्दहरु हामीबाट स्वतः निस्कन्छन् । मन निराश भएको बेलामा निराशाका गीतहरु धेरै सुन्न मन पर्छ । किनकि मन जस्तो छ बाहिरको कुराहरु पनि मनले त्यस्तै मन पराउँछ । मनको आवृत्ति (frequency) जस्तो छ मनले त्यस्तै कुराहरु अफूतिर तान्छ । त्यसैले भनिन्छ दुःखी मानिसले दुःखलाई नै तान्छ र खुशी मानिसले खुशीलाई नै तान्छ ।

हाम्रो सोचविचार र भावनाहरुलाई सकारात्मक बनाउन र डर, चिन्ता, निराशा, भयजस्ता कुराहरुबाट मुक्त हुनका लागि हामीले बाहिरबाट ग्रहण गर्ने सबै कुराहरु जस्तै, पढ्ने, सुन्ने, हेर्ने, लेख्ने र बोल्ने जस्ता सबै कुराहरु सकरात्मक नै हुनु पर्दछ । यसका साथै हामीले खाने आहार पनि पौष्टिक र सन्तुलित हुनुपर्छ । दैनिक रुपमा व्यायाम, योगा, प्राणायाम र ध्यान पनि गर्न आवश्यक छ ।

तलका यस्ता कुराहरुमा ध्यान दिने हो भने मनका भावनाहरु र सोचविचारहरुलाई सकारात्मक बनाउन सकिन्छ ।

(१) सूचना र जानकारीहरु
हामीले लिने सबै प्रकारका सूचनाहरु र जानकारीहरु सकारात्मक र उत्प्रेरणा दिने खाल्का छन् कि छैनन् हेर्नुपर्छ । सकारात्मक कुराहरु मात्र पढ्ने, हेर्ने, लेख्ने, सुन्ने र बोल्ने गर्नुपर्छ । जस्तै सकारात्मक र उत्प्रेरणा दिने खालका राम्रा–राम्रा पुस्तकहरु छानेर पढ्ने । सकारात्मक, उत्प्रेरणा र सन्देश दिने खालका फिल्म र टिभी सिरियलहरु हेर्ने । हँसाउने खालका र रमाइला जोक्सहरु सुन्ने । सकारात्मक, उत्प्रेरक र मीठा, मनलाई आनन्द दिने खालका गीतहरु मात्र सुन्ने । अरुलाई गाली गरेको, आलोचना गरेको कुराहरुमा ध्यान नदिने र त्यस्ता कुराहरु सामाजिक सञ्जालमा नपढ्ने, नहेर्ने । सकारात्मक सोचविचार भएका साथीहरुको संगत गर्ने । आफूले लेख्ने र बोल्ने कुराहरुमा सधैँ सकारात्मक शब्दहरु प्रयोग गर्ने । आलोचना, विवाद र झगडाहरुबाट टाढा रहने । ज्ञानवर्धक कुराहरु पढ्ने र त्यस्तै प्रवचन र भजनहरु सुन्ने । विहान उठ्नेवित्तिकै नराम्रा घटनाहरु लेखेको कुनै पनि समाचार र पत्रपत्रिकाहरु नहेर्ने आदि । विहानमा यस्तो कुरा मनमा राख्नु पर्छ कि त्यसले आफूलाई दिनभरि मनमा शान्ति, उत्साह, उमंग र आनन्द दियोस् ।

(२) पौष्टिक र सन्तुलित आहार
एउटा भनाई छ– ‘जस्तो अन्न त्यस्तै मन’ हामीले खाने आहारले पनि हाम्रो मनलाई प्रभाव पार्दछ । पौष्टिक नभएको असन्तुलित आहारले मनलाई कमजोर र शक्तिहीन बनाउँछ । भिटामिनहरुजस्तै, भिटामिन–डी, भिटामिन–बी १२ र बी ६ जस्ता भिटामिनको कमीले शरीर अस्वस्थ बनाउँछ र मनलाई अशान्त बनाउँछ, नकारात्मक सोचविचारहरु धेरै आउँछन् । मनलाई स्वस्थ राख्न आहारमा पनि ध्यान दिनुपर्छ ।

(३) शारीरिक व्यायाम, निन्द्रा, योगाशन, प्राणायाम र ध्यान
दैनिक रुपमा विहान उठेर व्यायाम, योगाशन, प्राणायाम र ध्यान नगरेसम्म शारीरिक र मानसिक रुपमा स्वस्थ र फूर्तिलो हुन सकिँदैन । यस्ता योगाशन र ध्यानले शरीर र मस्तिष्कमा अक्सिजनको प्रवाह बढाउँछ, शरीर र मस्तिष्कलाई स्वस्थ र ताजा राख्छ । मनलाई शान्त र उत्साहित् बनाउँछ । पर्याप्त निन्द्रा हुनुपर्छ । निन्द्राको कमीले मनलाई अस्वस्थ बनाउँछ । नकारात्मक सोचविचारहरुबाट मुक्त हुने सबैभन्दा उत्तम उपाय प्राणायाम र ध्यान हो ।

(३) मनमा शक्ति भर्ने र आत्मविश्वास बढाउने
नकारात्मक सोचविचार धेरै आउनु भनेको मन कमजोर र शक्तिहीन भएको हो । अवचेतन मनमा सकारात्मक कुराहरु राखेर मनलाई शक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ । अब राम्रो हुन्छ, अब राम्रो गर्छु, राम्रो हुँदै छ जस्ता कुराहरुतर्फ ध्यान दिएर आत्मविश्वास बढाउन सकिन्छ ।

(४) गहिरो र लामो स्वास
हामीले फेर्ने स्वास र विचारको गहिरो सम्बन्ध छ । हामी डराएको बेला, चिन्ता र तनावमा हुँदा र मनमा विचारहरु धेरै आउँदा स्वासको गति पनि चाँडो र सतहमा भएको हुन्छ । त्यसको ठीक विपरित लामो र गहिरो स्वास फेर्ने हो भने विचारहरु कम हुन्छन्, डर, चिन्ता र तनाव पनि कम हुन्छ । मनमा नकारात्मक भावना र नकारात्मक विचारहरु आउँदा गहिरो र लामो स्वास लिने हो भने विस्तारै नकारात्मक विचारहरु कम हुँदै जान्छन् ।

यसरी सबै सकारात्मक कुराहरुलाई जीवनमा उतार्ने हो भने केही दिनमै फेरि सकारात्मक भावना र सोचविचारहरु आफै आउन थाल्छन् । जसरी नकरात्मक सोचविचारहरु हामीले नचाहेर पनि आफै आएका थिए त्यसैगरी सकारात्मक कुराहरु पनि मनमा आफै आउन थाल्छन् । भावना र सोचविचारहरु सकारात्मक भएपछि वाणी र व्यवहार पनि सकारात्मक हुन थाल्छन् । यसरी जीवनलाई सकारात्मक दिशातिर लैजान सकिन्छ । आजलाई यति नै, हरि ॐ !

सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।