गढवामा महिला लक्षित माघ कार्यक्रम, खेलमा जोडिए चार सय महिला

गोरक्ष समाचारदाता
गढवा, ११ माघ । गढवा बजारको पश्चिमतर्फको ठुलो खेलमैदान विगत तीन दिनदेखि खेलकुदमय बनेको छ । खेलमा सहभागी प्रायःजसो चौधरी समुदायका महिला बढी देखिन्छन् । स्कुले विद्यार्थीदेखि गृहिणी महिलाहरू समेतको बाक्लो उपस्थितिले खेल मैदानलाई मनोरम बनाएको देखिन्छ ।

दाङ जिल्लाको देउखुरी उपत्यकामा विगत केही वर्षदेखि क्रियाशील गैरसरकारी संस्था क्रियटिभ पोसिबिलिटी (सिपी) नेपालको आयोजनामा गढवामा सातौँ माघ कार्यक्रम तथा खेलकुद महोत्सव शनिवार समापन गरिएको छ । ‘कति बस्छौ चुलो र चौकोमा, आउ बाहिर रमाऊ खेलमा’ भन्ने मूल नाराका साथ गढवामा आयोजित माघ कार्यक्रम अन्तर्गत आयोजित खेलकुद महोत्सवमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका करिब चार सय महिलाको सहभागिता रह्यो । जेन–जी उमेर समूहदेखि ७६ वर्षसम्मका महिलाहरू खेलकुद महोत्सवमा सहभागी भए ।

हर इन्टरनेसनल क्यानाडाको आर्थिक सहयोगमा सिपी नेपालले देउखुरीका ती पालिकाहरूमा विपन्न महिलाहरू विशेष गरी थारू समुदायका महिलाका लागि आयआर्जन कार्यक्रम, शिक्षामा पहुँच र अवसर वृद्धिको कार्यक्रम तथा विपन्न समुदायलाई निःशुल्क स्वास्थ्योपचार सेवालगायत कृषि र पशुपालनका लागि महिलालाई समूहमा परिचालन गर्ने र सहयोग गर्ने जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सिपी नेपालले सञ्चालन गरेका यी सबै कार्यक्रमको समीक्षासँगै आगामी कार्यक्रमको योजना निर्माण गर्दै माघ महिनामा माघ विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । विगत ७ वर्षदेखि सञ्चालन हुँदै आएको खेलकुद कार्यक्रममा प्रतियोगी सबैलाई घरायसी सामान पुरस्कार दिने आयोजकले जनाएको छ ।

माघ ८ गतेदेखि सञ्चालन गरिएको खेलकुद महोत्सवको समापन शनिवार गरिएको छ । समापनका अवसरमा खेलमा सहभागी कसैले डेक्ची पुरस्कार थापे, कसैले राइसकुकर उपहार थापे त कसैले नगद र प्रशंसापत्रसमेत प्राप्त गरेर खुसी साटेका छन् । तीन दिनसम्म गढवाको खेल मैदानमा डोरी तानातान, कुर्सीदौड, चक्लेट दौड तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

शनिवार संंस्थाले सहभागी सबैलाई पुरस्कृत ग¥यो । आफ्नो संस्थामा आबद्ध भएर उद्यम सुरु गरेका उत्कृष्ट महिला उद्यमीलाई नगद २५ हजार रुपैयाँले सम्मान गरियो । त्यस क्षेत्रमा सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरियो, विद्यालयलाई सम्मानित गरियो, त्यसपछि उद्यमशीलतामा क्रियाशील आमा समूहहरूलाई नगदसहित प्रशंसापत्रले सम्मानित गरिएको थियो ।

सिपी नेपालका सदस्य जुनु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले देउखुरीमा सञ्चालित सिप नेपालले विशेष गरी मुक्त कमैया र मुक्त कमलरीको शिक्षा र आयआर्जनमा विशेष कार्यक्रमलाई निरन्तरता दिइरहेकोमा प्रशंसा गरे । सिपी नेपालको सहयोगले मुक्त कमैया र मुक्त कमलरीहरू आयआर्जनमा जोडिन सकेको स्मरण गर्दै अब यसलाई स्थानीय सरकारले अपनत्व ग्रहण गर्नु पर्ने बताए ।

महिलामा दबिएर रहेको ऊर्जालाई उजागर गर्दे आयआर्जनमा जोडेर आत्मनिर्भर बनाउने यो संस्थाको अभियानले स्थानीय स्तरमै महिलालाई स्वरोजगार बन्न पनि टेवा पुगेको उल्लेख गरे । कार्यक्रममा विशिष्ट अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले सिपी नेपालको क्रियाशीलताले स्थानीय पालिकामा मानवीय पुँजी निर्माणमा सहयोग पुगेको बताए ।

जसरी संस्थाले गरिखाउ भन्ने महिलालाई अवसर सिर्जना गरिदिएर आत्मनिर्भर बनााएकोमा पालिका आभारी भएको बताए । पालिकाले गैरसरकारी संस्थालाई मार्गदर्शकका रूपमा लिने भन्दै उने सिपी नेपालले थालेका कार्यक्रममा पालिकाको पनि सहकार्य हुने प्रतिवद्धता व्यक्त गरे ।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका गरी एक हजार बढी महिला सहभागिता रहेको सो बृहत माघ महोत्सवमा विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो । कार्यक्रममा दातृ निकाय क्यानाडाका प्रतिनिधि पनि छमछमी नाँचेका थिए । पुरस्कार स्वरूप पाएका भान्साका सामानसहित फोटो सेसनसमेत गरिएको थियो । संस्थाका विद्यार्थी सशक्तीकरण संयोजक दीपा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले थारू समुदायमा रहेका महिलाको पहिचान, क्षमता र सिपको अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्ने सम्भावना रहेकाले अब महिला दिदीबहिनीहरू सिप र संस्कृतिको संरक्षणको अभियानमा लाग्नु पर्ने सुझाव दिइन् ।

कतिपय मुलुकहरू संस्कृति बेचेरै धनी भएको उल्लेख गर्दै उनले थारू संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्ने सुझाव दिएकी थिइन् । गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले आज दिदीबहिनीहरूको सबैभन्दा खुसीको दिन भएको उल्लेख गर्दै हरेक महिला आयआर्जनमा जोडिने अभियानमा पालिकाले हातेमालो गर्ने बताइन् ।

सिपी नेपाल प्रतिभाको प्रस्फुटन गर्ने संस्था भएकाले पनि महिलालाई स्वावलम्बी बन्न संस्थाको सहयोग अपरिहार्य रहेको बताइन् । राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले महिलालाई माथि उकास्ने कुनै पनि अभियानमा राजपुर गाउपालिका पछि नहट्ने उद्घोष गरिन् ।

कार्यक्रममा दातृ निकाय हर इन्टरनेसनल क्यानाडाका कोषाध्यक्ष केभिन एजकोम्बाले आफू दाङमा आउँदा निकै गौरवको अनुभूति भएको र यहाँका नागरिकले मलाई घरपरिवारमा जस्तै आत्मीयता प्रदर्शन गरेको बताए । ‘म यसपालि यहाँ आउन पाएको र हामीले गरेको सहयोगले तपाईंहरूमा उत्साह थपिएको पाउदा मलाई गर्व लागेको छ, म फेरि फेरि आइरहने छु’, उनले भने । सोही अवसरमा उनले सहभागीलाई खाजासमेत वितरण गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण संघसंस्थाका तर्फबाट गढवा सामुदायिक पुस्तकालयका दुःखहरण यादव, सिपी नेपालका महासचिव मन्दो शिखर बन्धोपाध्याय, निर्देशक निदेशराज सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सिपी नेपालका कार्यक्रम संयोजक सरिता चौधरीले गरेकी थिइन् ।