केपी सुवेदी
राजनीतिमा नैतिकताको ख्याल गरिएन भने अवसर वा हाबी हुनथाल्छ र विस्तारै त्यसले समाजलाई भ्रष्टाचारको भूमरीमा हेलिदिन्छ । आज हाम्रो समाज भ्रष्टाचारको भुमरीमै फसेको छ । त्यो भूमरीबाट मुलुक र हाम्रो समाजलाई बाहिर निकाल्न एउटै व्यक्ति वा पार्टीको प्रयासले सम्भव हुँदैन । सबैमा सद्बुद्धिको जागरण हुन अनिवार्य छ ।
लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि भ्रष्टाचार अन्त्यको प्रयास नभएको होइन तर जसलाई भ्रष्टाचार भए नभएको छानबिन गरी त्यसको सत्यतथ्य सार्वजनिक गर्ने जिम्मा दिइयो स्वयम् भ्रष्टाचारमा रुमलिन थालेपछि अन्यको सम्भावनै बाँकी रहेन ।
राज्यको सबै निकाय र तहमा प्रतिनिधिको हैसियतले जिम्मेवारी पाएको होस् वा राष्ट्रसेवकको हैसियतमा जिम्मेवारी पाएको होस्, दुबै थरिबाट राष्ट्रिय स्वार्थ चटक्कै बिर्सेर निजी स्वार्थमा राष्ट्रको सम्पत्ति चोरी गर्ने, लुट्ने वा दुरुपयोग गरेर आफ्नो बनाउने संस्कृतिकै विकास भएपछि कसले कसलाई सुधार्न सक्छ ?
कसैले यसको जवाफ दिन पनि सक्तैन र त्यो पत्याउनलायक पनि हुन्न । यो प्रसङ्ग वा सन्दर्भको कुरा किन उठाइएको हो भने यतिखेर मुलुक चुनावी मौसमले रङ्गिएको छ र विभिन्न पार्टी र व्यक्तिहरुको देश बदल्ने अभिव्यक्तिको प्रतियोगिता भइरहेको छ ।
यसै सन्दर्भमा कोही यथार्थमा आधारित हुन सक्छन् तथापि धेरै जसोमा यथार्थभन्दा धेरै अगाडि बढेर वाचा गर्ने होड चलाउँदै छन् । उनीहरुलाई पत्याउनु पर्ने बाध्यता नभए पनि भ्रम बेचेर जनमत किन्ने आँट गरिरहेका छन् । राजनीतिमा जबसम्म नैतिक मूल्य र मान्यतालाई आत्मसात गरिँदैन तबसम्म जिम्मेवारीप्रतिको जवाफदेहिता व्यवहारमा देखिँदैन ।
समाज बदल्न सबैभन्दा पहिले आफूलाई बदल्नुपर्छ भनिन्छ । आफूलाई बदल्दा पनि सबैले देख्ने, सुन्ने र बुझ्ने गरी बदलिने प्रक्रियालाई भनिन्छ । यो सबै कुरा पारदर्शी तरिकाले हुनुपर्छ । बदलिएको ढोङ्ग गरेर समाजलाई छल्ने कोसिस जहिलेसम्म ठुला भनाउँदा ठालुहरुबाट भइरहन्छ त्यतिबेला समाजलाई धोका हुन्छ, विश्वासघात हुन्छ ।
यस पटक फेरि त्यो प्रवृति हाबी भएको छ । जेन–जी पुस्ताको आवरणमा धेरै भूमिगत राजनीतिले मुलुकलाई घेराबन्दीमा पारेको छ । जेन–जी पुस्ताको भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शी शासन व्यवस्था मागेर गरिएको आन्दोलनलाई ध्वंसमा बदल्न भूमिका खेल्ने पात्रहरुले त्यसपछि गठन भएको सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस गरेका थिए र निर्वाचन हुन नदिनेसम्मका धम्कीको भाषा बोल्दै थिए । मानौ यो मुलुकमा अब उनीहरु नै सर्वेसर्वा भइसकेका छन् ।
उनीहरुले राजनीतिक दलको गतिविधिलाई नियन्त्रण र नियमन गर्ने हैसियत राख्छन् भन्ने मान्यता स्थापित गर्ने कोसिस गरे तर नेपाली जनता ध्वंसावशेषबाट माथि उठेर शान्ति र समृद्धिको सपना देखिरहेका बेला ध्वंसका हिमायतीहरुको हालिमुहाली स्वीकार्य हुने कुरै थिएन । त्यस कारण परिवर्तनको सकारात्मक विन्दुलाई प्रस्थानविन्दु मानेर लोकतान्त्रिक विधिबाट स्थापित हुने कानुनी शासनको पक्षमा उभिएका छन् ।
केही राजनीतिक विश्लेषकका अनुसार नेपालमा तीनथरिका मानिस छन् । एकथरि मानिस अवसरको खोजीमा लागिरहने, पाएपछि सानै भए पनि नछोड्ने, त्यसपछि बिस्तारै सबै चिज, भनेको राज्यको स्रोतसाधन, आफ्नो नियन्त्रणमा राख्ने र नमरुन्जेल नछोड्ने । अर्कोथरि जोखिममा प्रवेश नगर्ने, आफूलाई दुधले नुहाएको भन्ठान्ने तर जोखिमविनै जिम्मेवारी पाइहालेपछि त्यसको चरम दुरुपयोग गर्ने ।
यस्ता मानिस नपाउँदासम्म निकै आदर्शवादी तर पाएपछि अघिल्लाभन्दा भ्रष्ट हुन्छन् । अब तेस्रो कोटीको नागरिक, सबै कुरा बुझ्छ तर कम मात्र व्यक्त गर्छ । चरित्र र व्यवहारमा समानता कायम राख्छ । जेन–जी पुस्ताले विद्रोह गरेर आएको परिवर्तनको धुम्रदृश्यमा चिट्ठा परेका केही पात्रहरु माथिको विभक्त समूहमा दोस्रो कोटीमा समेटिएका छन् ।
त्यसैमा समेटिने केही राजनीतिक पात्रहरु पनि राजनीतिक नैतिकताबाट च्युत भएको देख्न सकिन्छ । त्यस्ता नैतिकताको मापनमा कुनै मानक नभए पनि सार्वभौम जनताको मौलिक मापदण्ड उल्लङ्घन भएको छ । देशको मुहार फेर्न असक्षम भनेर अघिल्लो पुस्ताको देशको समुन्नतिका लागि त्याग, तपस्या र समर्पणलाई नकार्ने केही पात्र र प्रवृत्तिले आफूलाई ती भन्दा भ्रष्ट, सत्तालिप्सा र अवसरवादबाट अलग राख्न नसकेको छरपष्ट भएको छ ।
जनमतको अपहेलना वा अवमूल्यान गर्नु पनि राजनैतिक बेइमानी होइन भन्न कसरी मिल्छ ? बहालवाला नगर प्रमुख, प्रदेश सांसद, निर्वाचन सम्पन्न गर्न शपथ खाएका मन्त्रीहरु जो अहिले निर्वाचनमा उम्मेदवार बन्न जनताको नासोलाई अलपत्र पारेर राजीनामा गरे तिनीहरु अनैतिक पात्र हुन् । यसपछि कि चुनावै हुन्न कि म हुन्न यसैपालि यो पाइहाले त्यो पनि मैले पाउनुपर्छ ।
म जति योग्य कोही छैनन् भन्ने सर्वसत्तावादी सोच पुराना भ्रष्टभन्दा के अर्थमा सही हुनसक्छ । नपाएसम्म साधु बनेका पात्रहरु यो मुलुकको लागि खतरनाक पात्र हुन सक्छन् । काठमाडौंका नगर प्रमुख बालेन, धरानका हर्क साम्पाङ, वर्तमान मन्त्रिमण्डलबाट बाहिएका सञ्चारमन्त्री जगदीश खरेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, कुलमान घिसिङ जनतालाई धोका दिने र सामान्य नैतिकता नभएका पात्र हुन् ।
यसैगरी पदमा रहेकै अवस्थामा पदबाट राजीनामा दिएर केन्द्रीय सांसदको सपना देख्ने प्रदेश सांसदहरु निर्वाचनमा जनताको बिचमा मत माग्न आएपछि जनताले मत दिन अस्वीकार गर्नु आफ्नो अधिकारको सदुपयोग गर्नु हो । यिनीहरु कसैकसैले घोषित रुपमा र कसैले अघोषित रुपमा आफूलाई भावि प्रधानमन्त्री भनाउँदै हिंडिरहेका छन् । यिनीहरुम्ध्ये केहीलाई राजनीतिको सामान्य ज्ञान छ । एकपटक जनताको भावनामा बहेर प्राप्त गरेको जिम्मेवारीमा खेलचारीहरु नै खासमा चरम अवसरवादी हुन् ।