पुजिइन् विद्याकी देवी सरस्वती

गोरक्ष समाचारदाता
दाङ, १० माघ । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी मनाइएको छ । श्रीपञ्चमी पर्वका अवसरमा शुक्रवार देशभरका विद्यालय तथा सरस्वती मन्दिरहरूमा सरस्वतीको पूजा गरिएको हो ।

श्रीपञ्चमीमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।

आजकै दिन बालबालिकाको नाक, कान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ । यस दिन साहित्यकार, कलाकार, सङ्गीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तुको पूजा गर्ने परम्परा रहेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ ।

पद्मोदय क्याम्पसमा सरस्वती पूजा

यसैबिच घोराही–१७ स्थित पद्मोदय क्याम्पसमा सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस परिसरमा निर्माण भएको सरस्वती मन्दिरलाई सरस्वती पूजाका अवसरमा पूजाआराधना तथा प्रसाद वितरण कार्यक्रम गरी सञ्चालनमा ल्याइएको हो । सरस्वती मन्दिर स्थापना गरी विधिवत् पूजाअर्चना गरिएको थियो ।

सरस्वती मन्दिर घोराही–१५ निवासी गिरिराज खड्का तथा श्रीमती मोती खड्काले निर्माण गरिदिएका हुन् । कार्यक्रममा क्याम्पस प्रमुख किरण पौडेलले मन्दिर निर्माण गरेर सहयोग गर्ने दातालाई धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारी, पदाधिकारीहरू, सदस्यहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमी एवम् शुभेच्छुकको उपस्थिति रहेको थियो ।

सरस्वती पुजा तथा विजेतालाई मेडल वितरण

श्रीपञ्चमीको अवसरमा विभिन्न विद्यालयमा विशेष सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन् । तुलसीपुरस्थित राप्ती बाल एकाडेमी तुलसीपुर–६ गाईडहरले सरस्वती पुजन तथा खेलकुद प्रतियोगिताका विजेतालाई मेडल वितरण गरेको छ ।

विद्यालयमा प्रिन्सिपल ठाकुरप्रसाद डाँगीको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

नेपाली संस्कारमा आधुनिक शिक्षा भन्ने मूल नाराका साथ २०६५ सालमा स्थापना भएको स्कुलले तुलसीपुर क्षेत्रमा पहिचान बनाउन सफल भएको सहभागीले बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यावहारिक ज्ञान पनि आवश्यक पर्ने बताएका थिए ।

उनले तल्लो कक्षादेखि नै विद्यार्थीलाई व्यावहारिक शिक्षा दिनु पर्ने भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय र अभिभावले ध्यान दिनु पर्ने बताए । कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल भूपबहादुर बुढाथोकी, समाजसेवी रामबहादुर जिसीलगायतले अहिलेको शिक्षा व्यावहारिक र बालबालिकालाई नैतिक ज्ञान दिन आवश्यक रहेको बताएका थिए ।

उनीहरूले किताबी ज्ञानले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास नहुने भन्दै बाहिरी ज्ञान पनि सिकाउनुपर्ने बताएका थिए । विद्यार्थीले नृत्य, गीत, प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रिन्सिपल ताराप्रसाद पुन मगरले गरेका थिए ।

यसैबिच राप्ती आँखा अस्पताल, नेत्रज्योति प्राविधिक शिक्षालय तुलसीपुर–४ रक्षाचौरको आयोजनमा सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको छ । एकाडेमिक चिफ सहायक प्राडा रन्जितकुमार साहको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख आतिथि गिरीले सरस्वती ज्ञानविज्ञान, कला, शिल्प, सङ्गीतकी देवी भएको बताएका थिए ।

कार्यक्रममा नेत्र विशेषज्ञ डा. विनिता केसी, नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहकोषाध्यक्ष प्रणवकुमार खड्का, सदस्य सुरेन्द्रबहादुर खड्का, ध्रुव गौतम, ताराप्रसाद पोख्रेल, प्राविधिक शिक्षालयका प्रशासन तथा लेखा प्रमुख प्रेमाकुमारी सापकोटालगायतले बोलेका थिए । सो अवसरमा नेत्रसहयाकका विद्यार्थीले सरस्वतीको पूजाअर्चना गरेका थिए । कार्यक्रमको सहजीकरण लाइब्रेरियन निरला अर्यालले गरेकी थिइन् ।