लमहीमा योजनाको अनुगमन

गोरक्ष समाचारदाता
देउखुरी, १० पुस । लमही नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न विकास निर्माण योजनाहरूको स्थलगत अनुगमन गरेको छ । नगर प्रमुख जोगराज चौधरीको नेतृत्वमा उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा नं. ६ का वडाध्यक्ष श्यामनारायण चौधरी, ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, योजना शाखा प्रमुख सुनिता पोख्रेल, प्राविधिक अधिकृत अमित विक, सुवास कुमाल, रन्जना पोख्रेललगायतको टोलीले विभिन्न वडामा सञ्चालित योजनाहरूको अनुगमन गरेको हो ।

अनुगमन टोलीले लमही नगरपालिका वडा नं. ३, ४, ५ र ६ मा सञ्चालनमा रहेका तथा सम्पन्न भएका योजनाका अवलोकन गर्दै कामको गुणस्तर, प्रगति र प्रभावकारिताबारे जानकारी लिएको थियो । वडा नं. ३ को बड्का गल्लीमा आर्थिक वर्ष २०८२÷०८३ को बजेटबाट दुवैतर्फ पक्की नाला निर्माण गरिएको छ । सोही सडकमा चालु आर्थिक वर्षमै कालोपत्रे गरिने वडा नं. ३ का वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिएका छन् ।

यसैगरी वडा नं. ४ को शिव मन्दिर टोलमा बाटो स्तरोन्नति तथा चैलाही क्षेत्रमा नाला निर्माण गरिएको छ, जसले स्थानीयलाई सुरक्षित र आवागमनमा सहज हुनेछ । वडा नं. ५ को सनलाइट चोकको पूर्वतर्फ आरसीसी ढलान गरिएको सडकले बजार क्षेत्रको आवागमन व्यवस्थित बनाएको छ भने वडा नं. ६ मा देउपुर स्कुलदेखि नमकिन फ्याक्ट्रीसम्मको सडक स्तरोन्नति भएसँगै विद्यार्थी, कामदार र सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । यसका साथै लमही नगरपालिकाले अन्य वडामा पनि खानेपानी, ढल निकास, सडक स्तरोन्नति, पुलपुलेसा, सामुदायिक भवन निर्माण, विद्यालयको भौतिक पूर्वाधार सुधार, स्वास्थ्यचौकी सुदृढीकरण, पार्क तथा खुला स्थान विकास जस्ता योजनालाई निरन्तर अघि बढाइरहेको छ । नगरभित्रका गल्लीमा नाली निर्माण, ग्राभेल बिछ्याउने र कालोपत्रे गर्ने कामले समग्र नगरको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ ।

नगर प्रमुख चौधरीले अनुगमनका क्रममा विकास योजनाहरू समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गरिनु पर्नेमा जोड दिए । उनले स्थानीय सरकार जनताको घरदैलोमै सेवा र विकास पु¥याउन प्रतिबद्ध रहेको बताउँदै, नगरको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । विभिन्न वडामा भइरहेका तीव्र विकास निर्माण कार्यले स्थानीय उत्साहित बनेका छन् । ‘पहिले हिलो र धुलोले हैरान हुन्थ्यौँ, अहिले पक्की सडक र नाली बनेपछि हाम्रो बस्ती नै फेरिएको छ’, स्थानीय बालकृष्ण चौधरीले खुसी व्यक्त गरे । लमही नगरपालिकाले आगामी दिनमा पनि पूर्वाधार विकास, सामाजिक सेवा र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै नगरलाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।