तुफानबाबु श्रेष्ठ
राजस्थानको एउटा सहरमा बस्ने एक युवक मेहनती र पढेलेखेको व्यक्ति थियो । ऊ निजी संस्थामा काम गथ्र्यो तर जीवनप्रति सन्तुष्ट थिएन । कहिले कार्यालयको तनाव, कहिले घरमा मनमुटाव, त कहिले स्वास्थ्यको चिन्ता– उसको मन सधैं कुनै न कुनै समस्याले घेरेर राख्थ्यो । ऊ सोच्थ्यो, ‘कसरी सबै समस्या एकैचोटि अन्त्य होलान् र म निश्चिन्त जीवन बाँच्न सकु ?’
एक दिन सहर नजिकै एक प्रसिद्ध साधु बाबा आफ्नो यात्रासमेतको साथी–समूह लिएर आएको खबर फैलियो । धेरै मानिसहरू आफ्ना पीडा र समस्यासहित उनको दर्शन र सल्लाह लिन पुगे । त्यो युवकले पनि सोच्यो– ‘सायद बाबाले मेरो पनि समस्या सुन्नेछन् र समाधान बताउनेछन् ।’ भोलिपल्ट बिहान सबेरै ऊ बाबा बसेको शिविरमा पुग्यो । त्यहाँ सयौं मानिसहरूको भीड थियो । लामो प्रतीक्षापछि उसको पालो आयो ।
युवकले ढोग गर्दै भन्यो– ‘बाबा, म मेरो जीवनदेखि अत्यन्त दुःखी छु । जहाँ जान्छु, त्यहीँ समस्या भेटिन्छ । कहिले कामको तनाव, कहिले परिवारमा असमझदारी, कहिले स्वास्थ्यको चिन्ता । कृपया यस्तो उपाय बताइदिनुहोस् जसले मेरा सबै दुःख र समस्याहरू अन्त्य होऊन् र म शान्त जीवन बाँच्न सकूँ ।’
बाबाले मुस्कुराउँदै भने– ‘पुत्र, आज ढिलो भइसकेको छ । म तिमीलाई भोलि बिहान यसको उत्तर दिनेछु । तर के तिमी मेरो एउटा सानो काम गर्न तयार छौ ?’ युवकले उत्साहित हुँदै भन्यो– ‘पक्कै बाबा, म तयार छु ।’ बाबाले भने– ‘हाम्रो यात्रामा सयवटा ऊँट छन् । ती हेर्ने मान्छे आज बिरामी भएको छ । आज राती ती ऊँटहरूको हेरचाह तिमीले गर्नु । जब सबै ऊँट बसीसक्छन्, तब तिमी पनि निश्चिन्त भएर सुतेर आराम गर्नु ।’ बाबा यो भन्दै आफ्नो टहरामा फर्किए ।
अर्कोदिन बिहान बाबा युवक कहाँ आए र सोधे– ‘कस्तो छ, पुत्र तिमिलाई राम्रो निद्रा प¥यो ?’ युवकले थकित स्वरमा उत्तर दियो– ‘कहाँ बाबा, म त रातभर एकछिन पनि सुतेनँ । मैले जति प्रयत्न गरे पनि कहिल्यै सबै ऊँटहरू एउटै समयमा बस्न मानेनन् । कुनै न कुनै फेरि उठ्थ्यो ।’ बाबा हाँसे र भने– ‘मलाई थाहा थियो, त्यही हुनेछ । कहिल्यै पनि यी ऊँटहरू सबै एकैपटक बसेका छैनन् ।’
युवकले केही रिसाउँदै भन्यो– ‘तर बाबा, जब यो सम्भव नै छैन भने मलाई किन यस्तो गर्न लगाउनुभयो ?’ बाबाले शान्त स्वरमा भने– ‘पुत्र, यही त तिम्रो प्रश्नको उत्तर हो । जीवन पनि यस्तै हुन्छ । तिमीले जति नै प्रयास गरे पनि सबै समस्या एकैचोटि हराउँदैनन् ।
एउटा समाधान हुन्छ भने अर्को जन्मिन्छ । जबसम्म जीवन रहन्छ, समस्या रहिरहन्छन्– कहिले कम, कहिले बढी । त्यसैले तिमीले समस्यामाथि होइन, जीवनमाथि ध्यान दिन सिक्नुपर्छ । केही समस्या आफैं समयसँगै हराउँछन्, केही तिमीले आफ्नो प्रयासले हल गर्छौ र केही तिमीले जति मेहनत गरे पनि समाधान हुँदैनन् । ती समस्यालाई समयको जिम्मा देऊ । उचित समयमा ती आफैं हराउँछन् । तर त्यसबीचमा जीवनको आनन्द लिन नछोड, किनभने समस्या सोच्दै बसेर शान्ति पाइँदैन ।’
त्यस दिन त्यो युवकले जीवनको गहिरो सत्य बुझ्यो । समस्या नभएको जीवन असम्भव छ, तर समस्याबीच पनि शान्त र सन्तुष्ट जीवन बाँच्न सकिन्छ । ऊ अब समस्यासँग डराएन, बरु त्यसलाई स्वीकार गर्न सिक्यो । जीवनमा समस्या आउनु स्वाभाविक हो । तर तिनीहरूलाई नियाल्ने दृष्टिकोण नै हाम्रो खुशीको आधार हो । केही समस्या प्रयासले हल हुन्छन्, केही समयसँगै हराउँछन् र केही स्वीकार गर्नुपर्ने हुन्छन् ।
त्यसैले समस्यामा होइन, जीवनमा केन्द्रित बनौँ । कृतज्ञ बनौँ र जीवनको हरेक पलमा शान्ति खोजौँ । जीवन सुन्दर तब हुन्छ, जब हामी समस्याबीच पनि मुस्कुराउन सिक्छौँ ।