गोरक्ष समाचारदाता
दाङ, १० माघ । घोराही–१५ स्थित हिन्दू विद्यापीठ नेपालले ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद योगीको अध्यक्षता तथा अन्तर्राष्ट्रिय प्रवचनकर्ता डा. चिन्तामणि योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नरही व्यावहारिक, नैतिक र संस्कारयुक्त हुनुपर्ने बताएका थिए । विद्यापीठले अनुशासन र गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गर्दै उनीहरूले निजी विद्यालयले शिक्षाको गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा सञ्चालन समितिका सदस्य अनिता देवकोटा, प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण वली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष गिरिराज लम्साल, समाजसेवी प्रेम शाह, बलदेव योगी, विद्यार्थी आरम्भ पोख्रेल, विद्यालयका प्रिन्सिपल पिताम्बर रिजाललगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा पत्रकार गोविन्द खड्का विद्यालयमा लामो समयदेखि अध्यापन गराइरहेका शिक्षका पुष्पा रावत र नीमा बुढाथोकीलाई सम्मान प्रदान गरिएको थियो । उत्कृष्ट शिक्षकको रूपमा बामदेव पोख्रेल सम्मान गरिएको थियो । विद्यालयबाट प्रदान गरिने उत्कृष्ट छात्र÷छात्रा पुरस्कार रोहित गिरी र निशा रावतलाई प्रदान गरिएको थियो ।
खगराज लोहनी शारदा पुरस्कार निर्दोष विक र पूजा शर्मालाई प्रदान गरिएको विद्यालयले जनाएको छ । योगी परिवारद्वारा स्थापित सुकदेव रेवता उत्कृष्ट छात्र÷छात्रा पुरस्कार स्नेहा ठाकुर र कौशल शर्माले प्राप्त गरेका छन् । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रमको सहजीकरण निर्दोष विक र रिया हलवाइले गरेका थिए ।