कठै मेरो देश र हामी जनता

राजीव चौधरी

अहिले पूरा विश्व कोरोनाको त्रासले त्रसित छ । त्रसित मात्र के भन्ने कोरोनाले ग्रसित छ । दैनिक हजारौ मान्छे यसबाट संक्रमित भइरहेका छन् भने सयाँैको मात्रामा ज्यान गुमाइरहेका छन् । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका इटलीजस्ता मै हुँ भन्ने राष्ट्रहरु कोरोनाका अगाडि घुडा टेक्न बाध्य भइरहेका छन् । यस्तो अवस्थामा हामी नेपालीलाई भने रमाइलो हासो मजाकको बिषय भएको छ । कोरोना यसलाई नेपालीको मूर्खता भनौ कि साहस बुझ्नै गाह्रो । एकातर्फ साहस भनेर बुझौ त राम्रै हो खराबभन्दा खराब परिस्थितिलाई पनि सहासका साथ लड्यौ भने त्यसमाथि जीत हासिल गर्न सकिन्छ तर मूर्खताको रुपमा बुझौ त हामी एकदमै ठूलो समस्यालाई हाँसी हाँसी स्वागत गर्दैछौ ।

हामी जनता त सधैँ मूर्ख नै छौं, कहिल्यै पनि संवेदनशीलता र विवेकका साथ सोच्न जानेनौ । बस हामीले जान्ने भनेको ठूला ठूला गफ लगाउने जुन कुरा के हो ? कसरी गर्ने भन्ने कुराको पनि हामीलाइ ज्ञान छैन । यदि जानेका हुन्थ्यौ भने हाम्रो देशको अवस्था यस्तो हुने थिएन होला । यस्ता भ्रष्ट र विवेकहीन ब्यक्तिको हातमा देशको बागडोर जाने थिएन होला । जो यस्तो गम्भीर अवस्थामा पनि गोजी भर्नमा लागेका छन् । हुनत देशका लागि राजनीति गरेको भए पो समस्या समाधानको पाटो हेर्दा हुन् । निसंकोच बस आफ्ना लागि राजनीति गर्नेबाट के अपेक्षा गर्नु छ र ? जस्ता मूर्ख हामी जनता उस्तै चलाख हाम्रा नेता, यी नेतालाई गाली गरेर के गर्नु ? यिनलाई नेता बनाको हामीले नै हो । र भोलि फेरि यिनलाई नै नेता छान्ने छौं, यसमा कुनै शंका छैन ।

तर भोलि फेरि हामीहरुले यिनलाई नेता छान्नका लागि रहन्छौ रहन्नौ यसमा भने शंका छ। यी गैरजिम्मेबार र भ्रष्ट नेता अनि हामी महान मूर्ख नेपालीको पारा देख्दा त यी भ्रष्टहरु फेरि हाम्रा नेता हुने सौभाग्य गुमाउलान जस्तो छ । त्यसैले हाम्रा प्रिय नेताज्यूहरु आफू फेरि नेता हुनका लागि भए पनि मात्र अहिलेको अवस्थाका लागि मात्र भए पनि आफ्नो गोजीको बारेमा मात्र आफ्नो घरको पाहुनाको बारेमात्र नसोचिदिनुहोस् । अहिलेको अवस्थामा मात्र भए पनि देश र हामी जनताको बारे सोच्नुहोस् । हामी जनता बाँचे त्यो गोजी भोलि पनि भर्न पाउनु हुनेछ किनकि हामीले नेता छान्ने भनेकै हजुर जस्ता गैरजिम्मेबार मान्छेलाई नै हो । र हामी जनता भोलि फेरि यिनै नेता रोज्नका लागि चुनाबको बेला मासुभात खानका लागि मात्र भए पनि लकडाउनको पालना गरेर बसौँ बाचेछौ भने भोलि झन् बढी भ्रष्ट नेता छानौला । किनभने जनता र सरकार दुबै जिम्मेबार र सजक भए कोरोनालाई जित्न सक्ने कुरा चीन र दक्षिण कोरियालाई हेरेर पनि थाहा पाउन सक्छौं ।

यहाँ कुरा कोरोनाको मात्र छैन, पूरा राज्य व्यबस्थाको छ । राज्य व्यबस्था चलाउनका लागि जिम्मेबारी पाएका व्यक्ति र हामी जनताको व्यवहारको र नियतको कुरा छ । किनभने कोरोनाजस्ता भाइरसबाट सजग भएर बच्न सकिन्छ तर अहिले हाम्रो नेतृत्व तहमा भएको गैर जिम्मेवारीपन भ्रष्टपनको भाइरसबाट बच्न गाह्रो हुनेछ । कोरोनाले त हाम्रो ज्यान मात्र लिन्छ तर गलत नेतृत्व र हामी जनताको गैरजिम्मेबारी पनाको भाइरसले हाम्रो राष्ट्रियता र स्वाभिमानको पनि हत्या गर्नेछ । त्यसैले कोरोनाजस्ता भाइरस र देशलाई बिगार्ने भाइरससँग लड्नका लागि हाम्रो नेतृत्व तहले आफू र आफ्नो स्वार्थभन्दा माथि उठेर नेपाल आमाको बारे सोच्न जरुरी छ । र हामी जनता पनि चाहिने कुरामा आवाज उठाउने, राम्रालाई हाम्रा भन्न सक्नुपर्छ । यति भन्दै गर्दा हाम्रो नेतृत्व तह सबै खराब छ, सबै जनता गैरजिम्मेबार छ भनेको चाहिँ होइन । देश र जनताको बारेमा सोच्ने नेता पनि छन् । देशको बारे सोच्ने जनता पनि छौं । तर यति हो कि राम्राभन्दा नराम्राको जमात धेरै भयो । जुन दिन आफूभन्दा माथि देशलाई सोच्ने छौं, त्यो दिन कोरोना त के जुनसुकै भाइरसले पनि हाम्रो केही बिगार्न सक्नेछैन । एकदिन राम्रोको जमात धेरै पक्कै हुनेछ । नराम्रो माथि राम्रोको जीत पक्कै हुनेछ । त्यसैले बेलैमा आज सोचौ भोलि देख्न पाउने छौ । हाय कोरोना ।

तर निराशामात्रै सबथोक होइन, निराशाका बीच पनि केही गर्नुपर्छ भन्ने अठोटका साथ अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ । हाम्रो नेतृत्वको प्रवृत्ति र क्षमताबारे मैले मेरो बुझाई माथि चित्रण गरिसकेको छु । त्यो चित्रणको निष्कर्ष के हो भने अब नेतृत्वमा पनि परिवर्तन आवश्यक छ । सुझबुझपूर्ण नेतृत्व र जनताका समस्याका अगाडि अरु सबै कुरालाई गौण मान्ने संस्कृतिको विकासले नै हाम्रा आगामी दिनहरुलाई सुन्दर बनाउन सक्दछन् । हामीले यो कोरोनाको संकटका बेलामा भएका सबै गतिविधिहरुलाई मस्तिष्कमा राख्न सक्यौं भने त्यसले हामीलाई कुनै न कुनै बेला केही गर्न अग्रसर हुनका लागि घच्घच्याउने छ नै ।

वर्तमान नेतृत्वसँग गुनासाका पोकाहरु प्रशस्त छन् । उनीहरुबाट केही हुँदैन भन्ने निष्कर्ष निकाल्न हामी बाध्य छौं । तर विकल्प आफूले दिन नसकेर उनीहरुको आलोचना गरेर मात्रै बस्यौं भने हामीजस्ता नागरिकहरु पनि नेताहरुको त्यो व्यवहारको सहयोगीमात्र ठहरिने छौं । लोकतन्त्रमा चुनावको महत्व यसकारण पनि छ कि त्यसले नागरिकलाई विकल्प खोज्न प्रेरित गरिरहेको हुन्छ । लोकतन्त्रको यो सुन्दर पक्षलाई स्वीकार्दै त्यसको महत्व र भावनाअनुरुप निर्वाचनमा हामीले विवेक प्रयोग गर्न सक्नुपर्छ । क्षणिक लोभ, लाभ र रमाइलोका भरमा भोट दिने प्रवृत्ति हामी नागरिकमा व्याप्त छ । हाम्रो यही खराब प्रवृत्तिको फाइदा उठाउँदै नेतृत्वमा खराब मानिसहरुले हालिमुहाली गरिरहेका छन् । हामीले यो कुरालाई बुझेर आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । कि त आफै विकल्प बन्नका लागि सक्षम बनौं ।

त्यही ढंगको क्षमता विकास गरौं र नागरिकहरुको विश्वासको पात्र बन्न सकौं, होइन भने लोभ–लालचमा नफसी विवेकपूर्ण निर्णयका आधारमा मतदान गरी सही नेतृत्व स्थापित गर्ने प्रक्रियामा आफूलाई जिम्मेवार बनाऔं । यति पनि गर्न नसक्ने हो भने हामीसँग पनि नेतृत्वलाई आलोचना गर्ने नैतिक धरातल रहँदैन । देश असल संस्कृति प्रदर्शन गर्दै सही मार्गमा हिँड्नुपर्छ । तर यो आदर्श सोच आपसेआप कार्यान्वयन हुन सक्दैन । त्यसका लागि असल संस्कृति निर्माण गर्न अनिवार्य हुन्छ । हामीले विवेक पु¥यायौं, नेतृत्वलाई खबरदारी गर्न हिच्किचाएनौं भने त्यस्तो संस्कृति पक्कै बस्छ ।