खेमराज रिजाल
दाङ, ८ माघ । दाङलाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा जिल्लामा क्रियाशील सडक मानवको व्यवस्थापन गर्ने संस्थाहरू तथा स्थानीय पालिकाको सहकार्यमा खुल्ला सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका विभिन्न सहरी क्षेत्र तथा बजार क्षेत्रमा देखिने सडक मानवलाई उद्धार गरी जिल्लामा क्रियाशील आश्रमले खाना, नाना, छाना र स्वास्थ्योपचारसमेतको व्यवस्थापन गरेसँगै बुधवार जिल्लालाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो ।
तुलसीपुरमा रहेको मानव सेवा आश्रमले तुलसीपुर उपमहानगरपालिकालगायत पश्चिम दाङका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका सडक पेटीमा बस्ने सहयोगापेक्षी सडक मानवलाई आश्रय दिने, नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवा घर)ले घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा भेटिने सडक मानवको व्यवस्थापन गर्ने तथा देउखुरीको राप्ती गाउँपालिका पिपरीमा रहेको नीलसागर सेवा आश्रमले देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका सडक आश्रित सहयोगापेक्षी मानवलाई आश्रममा व्यवस्थापन गर्न जिल्ला समन्वय समितिसँग सम्झौता भएसँगै जिल्लालाई खुल्ला सडक मानवमुक्त घोषणा गरियो । यद्यपि नारायणपुरमा सञ्चालनमा रहेको संंस्थाका प्रतिनिधिको भने घोषणा सभामा उपस्थिति देखिएन ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य लोकाकुमारी विश्वकर्माको प्रमुख आतिथ्यता तथा जिल्लाका १० वटै स्थानीय पालिका प्रमुख, उपप्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा स्थानीय तथा प्रमुख प्रशासकीय अधिकृतहरू तथा विभिन्न गैरसरकारी संघघसंस्थाका प्रतिनिधिसमेतको उत्साहजनक सहभागितामा जिल्लालाई खुल्ला सडक मानवमुक्त जिल्ला घोषणा गरियो ।
घोषणाको सम्झौतापत्रमा प्रथम पक्षका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा तथा दोस्रो पक्षका तर्फबाट मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, नीलसागर मानव आश्रम देउखुरीका अध्यक्ष सरिता खनालले हस्ताक्षर गरेका छन् । घोषणा सभा अघि कार्यक्रमका सहभागीले घोराहीको शहीद गेटबाट तुलसीपुर चौक हुँदै जिल्ला समन्वय समितिसम्म पञ्चेबाजासहित ¥याली प्रदर्शन गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा घोषणासभा सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्विनी प्रदेश सभा सदस्य विश्वकर्माले जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले यो सामाजिक अभियानमा स्थानीय सरकार कटिबद्ध र प्रतिबद्ध हुनुपर्ने बताइन् । मुलुकलाई खुल्ला सडक मानवमुक्त गराउने नेपाल सरकारको लक्ष्य भएको उल्लेख गर्दै उनले यसमा प्रदेश सरकारको पनि अर्थपूर्ण सहयोगका लागि आफूले संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।
‘खासमा प्रदेश सरकारले विकास निर्माणसँगै नीति निर्माण गर्ने हो, यो विषयमा पनि प्रदेश सरकार गम्भीर छ, सिङ्गै प्रदेशलाई खुल्ला सडक मानवमुक्त गराउन हामीले आश्रमसँग सहकार्य गर्नेछौँ’, प्रमुख अतिथि विश्वकर्माले भनिन् । घोषणा सभामा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका सडक मानवमुक्त अभियानमा सधैँ सकारात्मक रहेको उल्लेख गर्दै आफ्नो वार्षिक बजेटमा हरेक वर्ष मानव सेवा आश्रमलाई आवश्यक आर्थिक सहयोग गर्दै आएको बताए ।
अहिले मानव सेवा आश्रम महँगो भाडाको घरमा चलिरहेको बताउँदै मानव सेवा आश्रमका लागि आफ्नै भवन निर्माणमा तुलसीपुर उपमहानगरपालिका लगायत पश्चिम दाङका पालिका अग्रसर भएको उनले बताए । ‘तुलसीपुरमा कुनै पनि बेसहारा सहयोगापेक्षी सडक मानव हुने छैनन् भनेर हामीले खुल्ला सडक मानवमुक्त तुलसीपुर घोषणा गरिसकेका छौँ, अबको केही महिनामा आश्रमले आफ्नै स्वामित्वको भवन पाउनेछ’, खड्काले भने ।
नगर प्रमुख खड्काले अहिले पनि तुलसीपुर उपमहानगरपालिकाले वार्षिक रूपमा मानव सेवा आश्रमलाई सात लाख रुपैयाँ आर्थिक सहयोग गर्दै आएको बताए । तुलसीपुरमा निर्माणाधीन मानव सेवा आश्रमको निर्माण केही महिनामै सम्पन्न हुने र यसले चर्को भाडाबाट आश्रम मुक्त हुने अपेक्षा गरे ।
कार्यक्रमलाई सम्बोधन गदेै राप्ती गाउँपालिका अक्ष्यक्ष प्रकाश विष्टले जिल्लामा सुरुआतीमै राप्ती गाउँपालिकाबाट सडक मानवमुक्त अभियान नीलसागर सेवा आश्रमबाट सुरु भएको बताउँदै आश्रमसँग पालिकाले हरेक वर्ष आर्थिक एवम् सबै तवरले सहकार्य गर्दै आएको अभिव्यक्ति दिए ।
‘हामीले २०७५ सालमै राप्ती गाउँपालिका र घोराही उपमहानगरलाई नीलसागर आश्रमसँगको सहकार्यमा खुल्ला सडक मानवमुक्त घोषणा गरिसकेका थियौँ, अहिले सिङ्गै दाङ खुल्ला सडक मानवमुक्त जिल्ला घोषणा हुन सफल भएकोमा हार्दिक आभार व्यक्त गर्दछु’, अध्यक्ष विष्टले भने । त्यसताका नीलसागर आश्रमले राप्ती गाउँपालिका मात्र नभएर पूरै जिल्लामा देखिने सडक मानवलाई आश्रय दिन सफल भएको अध्यक्ष विष्टले बताए ।
घोषणा सभामा धन्यवाद व्यक्त गर्दै पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले जिल्लालाई खुल्ला सडक मानवमुक्त अभियानको निरन्तरता दिन आश्रमहरूको व्यवस्थापन सहज बनाउन स्थानीय सरकारलाई आग्रह गरे । साथै यो विशुद्ध सामाजिक एवम् धार्मिक अभियान भएकाले यसमा सम्पूर्ण सञ्चारकर्मीहरूको सधैँ साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
शुभकामना अघि जिल्लामा क्रियाशील मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी र नीलसागर आश्रमका केन्द्रीय अध्यक्ष सरिता खनालले आआफ्नो क्षेत्रमा सडक मानवको उद्धार, पालनपोषण, स्वास्थ्योपचारलगायत क्षमता विकासमा सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा जिल्लाका १० वटै पालिकाका प्रमुख तथा प्रतिनिधिलाई दाङ जिल्ला खुल्ला सडक मानवमुक्त भएको घोषणापत्र प्रदान गरिएको थियो । सोही अवसरमा जिल्ला समन्वय समिति दाङले खुल्ला सडकमा बस्ने सहयोगापेक्षी सडक मानवको उद्धार गरी उनीहरूका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएका मानव सेवा आश्रम तुलसीपुर तथा नीलसागर सेवा आश्रम पिपरीलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिको कार्यालय दाङका नायव सुब्बा बिमला खनाल पाण्डेले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठ, सशस्त्र प्रहरी बल कारागार सुरक्षा बेसका प्रहरी नायव उपरीक्षक ईश्वर डिसी, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, महिला मानव अधिकारकर्मीहरू सूष्मा लामिछाने गिरी, अनिता पोख्रेल, सुशीला आचार्य, लक्ष्मी पौडेललगायत नेपाल नेत्रज्योति संघका प्रतिनिधिहरू तथा मानव सेवा आश्रम तुलसीपुरका अभिभावकको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा पञ्चेबाजाको व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले गरेको तुलसीपुर उपमहानगरपालिका पर्यटन प्रवर्धन शाखाका प्रमुख झरेन्द्र खरेलले बताए । सम्भवतः माघ महिनाभित्र लुम्बिनी प्रदेशलाई नै खुल्ला सडक मानवमुक्त प्रदेश घोषणा गर्न आफूहरूले तयारी गरिरहेको सेवा आश्रमहरूले जनाएका छन् ।