भुवन पोख्रेल
तात्ने, ज्वारभाटा आउने र सेलाउन खासै समय पनि नलाग्ने नेपाली राजनीतिको स्थायी चरित्र भइसकेको छ । राजनीति तातेको होकि नेता तातेका हुन यसको प्रष्ट उत्तर नागरिकको राजनीतिमा देखिएको निष्क्रीयताले दिन्छ । अहिले नेपालको राजनीति सडक र सामाजिक सञ्जालमा बेस्सरी तातेको छ ।
आम नागरिकबिच चुनावको पूर्वसन्ध्यामा पनि खासै रौनक देखिँदैन । सामाजिक सञ्जालमा सङ्घीय संसदमा टिकट पाउने उम्मेदवारलाई दिइने बाधाइँको ओइरोत छदै छ त्यसका अतिरिक्त समर्थन, आरोप, प्रत्यारोप र गाली गलौजको श्रृंख्ला पनि उल्लेख्य बढेको छ । चुनावी माहोल तात्दै गर्दा अहिले नागरिकले आशा र चिन्ताका साथ राजनीतिलाई चिहाइरहेका छन् ।
अहिलेको निर्वाचनमा नयाँ पात्रहरुको प्रवेश र राजनीतिमा युवा पुस्ताको चासोका कारण नेपाली राजनीतिमा मडारिएको कालो बादललाई चिर्छ कि भन्ने आशाको सञ्चार भएको छ । नयाँ अनुहारमा पनि पुरानै प्रवृति देखिएमा अहिले तातेको राजनीतिक माहेल छिट्टै सेलाएर मुलुकमा परिवर्तनमा हुन्छ भनी ढुक्क हुने स्थिति छैन, राजनीतिक अस्थिरताको फाइदा उठाउने शक्ति पनि सक्रिय छन् ।
मुुलकका राजनीतिक, आर्थिक, सामाजिक समस्याहरु दशकौदेखि चाङ लागेर बसेका छन् । त्यही समाधान गर्न नयाँ पुस्ताका पात्रहरु राजनीतिमा आउना साथ फड्को मारेर अघि बढ्न सक्ने अवस्था पक्कै छैन । अहिले मुलुक आर्थिक रुपमा जर्जर छ त्यसर्थ जुन शक्ति सत्तामा गए पनि घिस्रिने नै हो । फट्को मार्न अझै धेरै समय कुर्नु पर्छ ।
हामीलाई क्षमताका आधारमा आत्मविश्वासले भरिएको, जीवन र जगतका बारेमा बुझेको स–साना समस्यालाई तत्काल समाधान गर्दै दिगो योजना तर्जुमा गर्ने, कार्यान्वयन गर्ने र देशको मुहार फेर्ने नयाँ युवा पुस्ताको खाँचो छ । देश भनेको नागरिक हुन्, नागरिकलाई केवल मतदाताको रुपमा मात्र हेर्ने राजनीतिक संस्कारको अन्त्य नभएसम्म सक्षम नेतृत्वको आशा राख्न सकिँदैन ।
राजनीतिक दलका नेताहरुले दलको संख्या बढाउनभन्दा गुणस्तर बढाउन लाग्नुपर्छ । नेताले रोजेको होइन, जनताले खोजेको उम्मेदवार दिन सक्नुपर्छ यदि मुलुकमा परिवर्तन खोजेको हो भने । नेपाली कांग्रेसको नेतृत्वमा यसपालिका विशेष महाधिवेशनले अनुहार परिवर्तन मात्र नभई जवरजस्त क्रम भंग भएको छ । वृद्ध पुस्ताले डो¥याएको कांग्रेस अहिले युवाको हातमा पुगेको छ ।
कांग्रेसको एउटा सिंगो पुरानो पुस्ता विस्थापनको डिलमा पुगेको छ । अहिले कांग्रेसमा विचार, दर्शन र समर्पणको जित भएको छ, नकि वंश, नातावादको । कांग्रेसमा भएको पुस्ता अन्तरणले नेपाली राजनीतिमा एउटा अध्याय थपेको छ । लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो पार्टीलाई शुद्दिकरण गरेर अघि बढाउने जुन आँट, साहस देखायो त्यसबाट नेकपा एमाले, माओवादीका अरु युवा नेतृत्वले पाठ सिक्नुपर्छ । अरु पार्टीमा पनि नेपाली कांग्रेसका युवा नेता गगन र विश्वप्रकाश जस्ता ज्यूँदा नेतृत्वहरु अग्रपंक्तिमा उभिन सक्नुपर्छ ठुला पार्टीका शीर्ष नेतृत्वको वरिपरी परिक्रममा गरेर पार्टीको आन्तरिक लोकतन्त्र मजबुद हुन सक्दैन ।
नेपाली कांग्रेसका युवा पुस्ताबाट पनि मुलुकमा परिवर्तन सम्भव छ । यदि राष्ट्र र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने हो भने भन्ने सन्देश भर्खरै विशेष महाधिवेशनबाट सञ्चार भएको छ । नेतृत्व माथि प्रश्न गरेकै अभियोगमा एमालेका नेताहरुलाई चुनावमा उठ्न निषेध गरिएको छ । योगेश भट्टराई, गोकुल बाँस्कोटासम्मलाई कुनामा धकेलेर एमाले नेतृत्वले प्रष्ट सन्देश दिएको छ ।
ओली स्तुती गीत गाउन नमान्ने नेताको भविष्य एमालेमा छैन भन्ने प्रष्ट हुन्छ । पार्टीबाट कुनै नेताले टिकट पाउने वा कुनैले नपाउने ठुलो कुरा होइन तर नेतृत्वको निरकुंश शैलीबारे पार्टीभित्र र बाहिर बहस हुनुपर्छ । शीर्ष नेतृत्व सत्ता र शक्ति केन्द्रमा रहिरहन खोज्नुलाई उनीहरुको आत्म सुरक्षाको अस्त्र वा कवज हो । सत्ता जब विकास, समृद्धि र सुशासनको सेवाहक होइन सुरक्षाको कवज बन्छ, देश यही फन्दामा फसिरहने छ । अब नेपाली कांग्रेसले राजनीतिमा हस्तक्षेपकारी भूमिका मात्र होइन । सुधारको संकल्प बोकेर अगाडि बढ्ने मूल मन्त्र लिनुपर्छ ।
कांग्रेस सभापतिबाट देउवा बहिर्गमन भए लगत्तै नेपाली कांग्रेसको नयाँ नेतृत्व अग्नीपरीक्षाको घडीमा उभिएको हो । हिजो देउवासँग प्रश्न सोध्ने भूमिकामा रहेका गगन, विश्वप्रकाश अब प्रश्न सोधेर उम्कन पाउँदैनन् जवाफ दिनु पर्ने स्थानमा समयले पु¥याएको छ । अहिले नागरिक नयाँ अनुहार, नयाँ जोश र उत्साहमा विश्वास गर्ने भएका छन् । पुराना दल र पुराना अनुहारसँग रुष्ट छन् ।
नेताहरुको असफलताको अपजस प्रणालीले बोक्नु परेकाले पनि दलहरुको परम्परागत नेतृत्व परिवर्तन अपरिहार्य बनेको हो । शीर्ष नेतृत्वबाट नागरिक वाक्क दिक्क भएर कतै मत नै परिवर्तन गर्ने होइनन् भन्ने नेपाली कांग्रेसका युवा नेतृत्वलाई डर थियो त्यसर्थ पार्टी भित्रको आन्तरिक लोकतन्त्र मजवुद गर्नका लागि पार्टीभित्र नै उनीहरुले आवाज उठाएर पार्टीलाई रुपान्तरण गरेका छन् ।
अब पार्टीमा जनविश्वास पक्कै बढ्छ अब पुरानो शैलीमा कांग्रेस छैन भन्ने केही प्रष्ट उदाहरणीय काम नयाँ नेतृत्वले दिन सक्नुपर्छ । अब नेपाली कांग्रेसको गगनमा कालो बादल मडारिने छैन, पार्टी जनउत्तरदायी बन्ने छ भन्ने विश्वास आम नागरिकले लिएका छन् । पार्टीका शीर्ष नेतृत्वहरुले जनविश्वासलाई कुठाराधान गर्ने छैनन् । गगन नेतृत्वको कांग्रेस अब जनतामाझ माझिएर अगाडि बढ्नु पर्छ । पद, पैसा र प्रतिष्ठाको पछि दौडिएर पार्टीको अस्थित्वलाई बेच्ने छैन ।
सत्ता गठबन्धनको दौडमा नेपाली कांग्रेस लाग्ने छैन । भ्रष्टाचारीहरुलाई नेपाली कांग्रेसले संरक्षण गर्ने छैन भन्ने प्रतिबद्धता नयाँ नेतृत्वले गर्नुपर्छ । शक्तिका नयाँ खेलाडी बालेन्द्र र रवि लामिछानेको प्रतिस्पर्धामा नेपाली कांग्रेस कसरी उभिन्छ त्यो प्रतिक्षामा छ । कांग्रेसको नयाँ नेतृत्वले पुराना नेताहरुलाई अभिभावकीय भूमिकामा सल्लाहकारका रुपमा राख्ने हो भने गगन पक्कै सफल बन्छन् ।
अहिले कांग्रेस परिवर्तनको मोडमा छ । नेपाली कांग्रेस अहिले गहिरो आन्तरिक संकट र नेतृत्व परिवर्तनको मोडमा पुगेको छ । गगन थापा र विश्वप्रकाशको सक्रियतामा सम्पन्न विशेष महाधिवेशनले पार्टीमा नयाँ नेतृत्वको सुरुवात गरे पनि यसले पार्टीभित्र नयाँ विवाद र असन्तुष्टि पक्कै जन्माएको छ । कांग्रेसले आन्तरिक एकता कायम गर्दै समयमै चुनावको तयारी गनुृको अर्को कुनै विकल्प छैन । राजनीतिमा कोही पनि कसैको स्थायी शत्रु र स्थायीभित्र हुँदैन ।
राजनीतिमा लागेका व्यक्तिहरु आफ्नै निहित राजनीतिक स्वार्थका आधारमा पक्ष विपक्षमा लाग्ने हुन् । एमाले र कांग्रेसको गठबन्धन सरकारको स्वेच्छाचारी शैली, अहंकारले मदमत्त भएके बेला जेन–जी आन्दोलनमा अचानक हिंसाले प्रवेश पाएपछि बल्ल स्थिति आफ्नो काबु बाहिर भएको अनुमान गरी आफ्नो सुरक्षार्थ कसरी सेनाको शरणमा पुगे । दुई ठुला पार्टीको स्थायी सरकारलाई कसले हल्लाउन सक्छ भनी चाहिनेभन्दा बढी निर्धक्क र अभिमानले गर्दा कतिबेला नेपाली सेनाले सत्ता आफ्नो नियन्त्रणमा लियो भेउ नै पाउन सकेनन् ।
जेनजी आन्दोलनपछि एमालेका केपी ओली आफूलाई चोख्याउन दलको महाधिवेशन बोलाएर आफूलाई पार्टी अध्यक्षका सुरक्षित तुल्याए । जेन–जी आन्दोलनको राप र तापले रन्थनिएका नेपाली कांग्रेसका देउवाले भने सभापतिको दायित्व पूर्णबहादुर खड्कालाई दिएर ढुक्कले बसे पार्टीको भविष्यलाई अन्योलमा राखे, पार्टी व्यवस्थापन गर्न चाहेनन् ।
गगन थापाका सक्रियतामा विशेष महाधिवेशन सम्पन्न भयो । गगन पार्टी सभापति भए तर देउवाको अनुपस्थिति र असहमतिमा भएको यो निर्णयले अहिले देउवा पक्षका नेताहरु विलख बन्दमा परेका देखिन्छन् । गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेस इतिहासका प्रत्येक कालखण्डमा नेतृत्वदायी भूमिकामा आफूलाई उभ्याएर देश र जनताको आँट र भरोसाको केन्द्र बनेको सबैमा अवगत छँदैछ ।
लोकतान्त्रिक धारको एउटा मात्र जीवन्त संस्था कांग्रेसमा सबै अट्ने र सबैलाई समेट्ने राजनीतिक संस्कार छ । नेपाली जनताले विकास, समृद्धिको सपना देख्न थालेको दशकौ बितिसक्दा पनि राजनीतिक अहंकार र अदुरदर्शी दृष्टिकोणका कारण मुलुकको र जनताको समृद्धिको मार्ग अवरुद्ध भएको छ । राजनीतिमा निरन्तर नयाँ जोगीहरु देखिएका छन् तर जुन जोगी आए पनि कानै चिरेका भने झै उनीहरुको आचरण व्यवहार र चालचलन सधै जनताका आकांक्षाका प्रतिकुल रहेका छन् । राजनीतिक दलका नेताहरुले अहंकार त्याग्नु आवश्यक छ ।
कांग्रेसमा पनि नयाँ नेताहरु अंग्रजलाई विशिष्ट सम्मान दिएर अभिभावकीय भूमिकामा सक्रिय बनाउनु पर्छ । निषेधको राजनीतिक संस्कारले कसैमा पनि हितकर हुँदैन । अबको मार्गचित्र गगन स्वयम्ले कोर्नुपर्छ, अनि मात्र पार्टीलाई सही ढंगले सबैको पार्टी हाम्रो पार्टी राम्रो पार्टी नेपाली कांग्रेस बनाउन सकिन्छ ।
इतिहासका कालखण्डमा योगदान पु¥याएका शीर्ष नेतृत्वहरुलाई पाखा लगाएर होइन उनीहरुको अहंमलाई जोगाएर अघि बढ्नुपर्छ । देउवाले आफ्नो दुखान्त अबसान होला भन्ने सोचेका भए बेलैमा पार्टीको महाधिवेशन बोलाएर राजनीतिलाई पुस्ता अन्तरण गर्थे होलान् उनी भित्रको अहंक दम्भ र निषेधको राजनीतिले आफूलाई नै दल–दलमा हालेका छन् ।
नेपाली राजनीतिमा नेतृत्व परिवर्तन र पुस्तान्तरण भए पनि पुरानै प्रवृति र वंशवादी मानसिकता कायम छ । सत्ताका लागि नेताहरुको निरन्तर संघर्ष, अनुयायीहरुको घेरबन्दी र लोकतान्त्रिक मूल्यको उपेक्षाले राजनीतिक प्रणालीमा गम्भीर विकृति ल्याएको छ । समावेशी र समानुपातिक प्रणालीको दुरुपयोग तथा सत्ताको गठबन्धनले देशलाई सुधारभन्दा बढी अन्योलतर्फ धकेल्दछ ।
नेपाली कांग्रेसले उम्मेदवार चयन गर्दा जनताको चाहना र समयको मागअनुसार स्वच्छ छवि लोकतान्त्रिक मूल्यमा प्रतिवद्ध र नयाँ अनुहारलाई प्राथमिकता राख्न जरुरी छ । पुरानो भ्रष्टाचारी अनुहार, दागी, गुन्डा नाइके, अवसरवादीलाई टिकट दिनु जनताको उत्साह घटाउने र लोकतन्त्राई कमजोर बनाउने कार्य हो । संविधानका मूल प्रावधान र जेन–जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै दलहरुले पारदर्शी, जिम्मेवार र जनउत्तरदायी उम्मेदवार अघि सार्नुपर्छ ।
अहिलेको निर्वाचन विशेष पृष्ठभूमिमा हुन लागेकाले दलहरुले कस्तो उम्मेदवार अघि सार्छन् भन्नेमा आम नागरिकमा निकै चासो र चिन्ता देखिएको छ । त्यसर्थ दलहरुले उम्मेदवार चयन गर्दा आफ्ना आसेपासेलाई भन्दा स्वच्छ छवि भएका, लोकतान्त्रिक मूल्यमा मान्यताप्रति प्रतिबद्ध उम्मेदवार छनोट गर्नुपर्दछ । विगतमा पाएको पदप्रति न्याय गरेका, सम्भावना बोकेका, नयाँ अनुहारलाई दलहरुले प्राथमिकता दिए भने त्यसले निर्वाचनलाई स्वास्थ बनाउने छ ।
नागरिकको सार्वभौमिकता उपयोगको सुन्दर अवसरमा रुपान्तरण गर्ने छ । भ्रष्टाचारको आरोप लागेका, पदीय, जिम्मेवारी पूरा नगरेका, अघिल्लो निर्वाचनमा गरेका बाचा अलपत्र छाडेका, गुन्डा, नाइकेहरुले सुशासन एजेण्डा बोक्न सक्दैनन् । त्यसको वकालत गर्ने सामथ्र्य पनि राख्नैनन् । अब पनि त्यस्ता व्यक्ति व्यक्तिलाई टिकट दिनु भनेको जेन–जी आन्दोलनको भावना र सन्देशलाई अवमूल्यन गर्नु हो । नागरिक समाजले दलहरुलाई निगरानी र खबरदारी गर्नुपछृ । दलहरु बलमिभ्याए गरेर जथाभावी उम्मेदवार पठाए भने मताधिकारमार्फत् जवाफ दिने अधिकार जनता समक्ष छ ।
नेतृत्वको क्षमता भनेको पद धारण गर्नु मात्र होइन, समयको संवेदनशीलता बुझ्नु, परिस्थिति चिन्नु र सही क्षणमा नेतृत्व लिनु सक्नु पनि हो । राजनीति सधै सिधा रेखामा चल्दैन । परिस्थिति अनुसार बदलिन्छ । आजको समकालीन राजनीतिमा पुस्तान्तरण अपरिहार्य थियो जसको परिणाम स्वरुप आजको कांग्रेसको ड्राइमिङ सिटमा बसेका गगन र विश्वप्रकाश कुनै अभिजात वर्गका नभई भुई तहबाट विद्रोह गर्दा गर्दै यहाँसम्म आइपुगेका विद्यार्थी नेता हुन् ।
नेपाली समकालीन राजनीतिमा सबैभन्दा बढी आशा गरिएका युवा हुन् । पार्टी नेतृत्व सम्हाल्दै गर्दा आम नागरिकमा आम सञ्चार भएको छ । आजको समकालीन राजनीतिमा पुस्ताअन्तरण अपरिहार्य थियो । लामो समयदेखि ठुला दलहरुमा नेतृत्वको विकास जमेको पोखरी जस्तो भएको थियो । त्यसबाट बाहिर निकाल्न गलेको पर्खाल भत्काउन कुनै न कुनै विद्रोहको आवश्यकता थियो । जुन विद्रोह गगन र विश्वप्रकाशले गरे ।
अहिले देउवा युगको मात्र समाप्त नभई राजनीतिमा आउट डेट भएका ठुला दलका शीर्ष नेता केपी ओली, प्रचण्डको पनि अध्याय समाप्त भएको छ । कांग्रेस अहिले पनि लोकप्रिय हुनुमा गगनहरु जस्तै नेता तथा कार्यकर्ता प्रत्येक समयमा जन्मिनु हो ।
कांग्रेसले आफैभित्र सच्याउनु पर्ने धेरै कुरा छन् । गुटबन्दीको कारण तथा अर्को पार्टीसँग सिद्धान्तहीन सत्ता गठबन्धन गरेर माखे साङ्लोमा पारेको कांग्रेसको पार्टी संगठन लथालिंग अवसथामा छ । सभापति गगन थापाले पार्टीका विकृति र असंगतिलाई थुप्रिएको फोहरको डुंगुर सोहोरेर शुद्धता दिनेतर्फ केन्द्रित हुनुपर्छ । पार्टीलाई सफल र सार्थक बनाउन उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्धय गुरु घिमिरे तथा प्रदिप पौडेल लगायत वर्तमान परिवर्तनका संवाहक नेताहरुले योगदान पु¥याउनु पर्ने देखिन्छ ।
नेपाली कांग्रेको विशेष महाधिवेशनबाट गगनकुमार थापाले नयाँ टिम सार्वजनिक गरेसँगै पुराना दलप्रतिको अरुचीलाई कम गर्दै नेपाली कांग्रेस प्रतिको आकर्षण हवात्तै बढेको छ । पुराना दलहरु कहिल्यै सुध्रिदैनन् भन्ने भाष्यलाई यसले चिरेको छ । दलहरु परिवर्तन गर्ने यसका नेता र कार्यकर्ताले हो, पुरानो नेतृत्वले बदलिन नचाहेको स्थितिमा गगन थापा अघि आउनुको विकल्प थिएन ।
हाम्रो मुलुकमा कांग्रेस नै यस्तो दलल हो, जसमा अरु सबै दलमा जान नचाहेर स्वतन्त्र रहेका व्यक्तिले पनि अन्नतः लोकतान्त्रिक ठानेर यसैका उम्मेदवारलाई मत दिने हो । अहिले कांग्रेस खारिएको छ, गगन एकाएक नेपाली कांग्रेसको राजनीतिमा उदाएका होइनन् । लामो संघर्ष, त्याग र संघर्षको स्थितिबाट आजको स्थितिमा आएका हुन् । आफूलाई तयार पार्दै, खारिँदै, जनतामाझ गगन आएका हुन् । अब नेपाली कांंग्रेसको राजनीतिमा सम्भावनाका ढोका खुल्ने छन् ।