६८ जना फरार प्रतिवादी पक्राउ

गोरक्ष समाचारदाता
दाङ, ८ माघ । दाङमा प्रहरीले एक महिनाको अवधिमा ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने प्रहरी अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट ६८ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले बुधवार घोराहीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरीले पुस महिनामा पक्राउ गरेका फरार प्रतिवादीका बारेमा जानकारी दिएको हो । पक्राउ परेका प्रतिवादीलाई अदालतबाट ४५ वर्ष ११ महिना सात दिनको कैद तथा २१ लाख २६ हजार छ सय तीन रुपैयाँ नगद जरिमानाको फैसाला गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये तीन जना अदालतको फैसला गरेको करिब दश वर्षपछि पक्राउ परेका छन् ।

९५ मुद्दा दर्ता, ७७ जना पक्राउ

यसैगरी दाङमा एक महिनाको अवधिमा ९५ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । पुस महिनामा विभिन्न किसिमका दर्ता भएका ९५ वटा मुद्दामध्ये ३० वटा मुद्दा पस्र्योट भएका हुन् । ९५ मुद्दामा ७७ जना पक्राउ पर्दा १९ जना फरार भएका छन् । प्रहरीमा दर्ता भएका मुद्दामध्ये ६५ वटा विचाराधीन अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।

पुस महिनामा दर्ता भएका सबैभन्दा बढी अभद्र व्यवहारसम्बन्धी १७ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये १४ फस्र्योट भएका छन् भने तीन वटा प्रक्रियामा रहँदा २५ जना पक्राउ परेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । यसैगरी लागूऔषधसम्बन्धी १२ मुद्दा दर्ता भएकोमा पाँच मुद्दाको फस्र्र्योट भएका छन् । सात वटा विचाराधीन रहेको लागूऔषध मुद्दामा २३ जना एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

झुण्डीसम्बन्धी १८ मुद्दा दर्ता भएकोमा सबै मुद्दा विचाराधीन रहेका छन् । यसैगरी चोरीसम्बन्धी नौ वटा, भवितव्य ज्यानका आठ, विष सेवन गरी आत्महत्याका पाँच, जबर्जस्ती करणी र फुटकर ज्यानका तीन÷तीन वटा, बैङ्किङ, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी दुई÷दुई वटा, चोरी उद्योग, जबर्जस्ती करणी उद्योग, ठगी, आपराधिक उपद्रव, सवारी तङ्गभङ्ग, अमानवीय व्यवहार, ज्यानसम्बन्धी कसुर र डाँका चोरीसम्बन्धी मुद्दा एक महिनाको अवधिमा एक÷एक वटा प्रहरीमा दर्ता भएका छन् ।

जिल्लामा बढ्दो आत्महत्या दुरुत्साहनका घटनालाई निरुत्साहित गर्न जिल्लामा विशेष कार्यक्रम सञ्चालनका लागि तयारी भइरहेको प्रहरीले बताएको छ । यसैगरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरी सक्रियता बढाएको प्रहरी प्रमुख श्रेष्ठले बताए । उनले सडकमा चेकिङदेखि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए । पत्रकार सम्मेलनको सहजीकरण प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले गरेका थिए ।