लमहीमा महोत्सव सुरु
टेकबहादुर पुन
देउखुरी, ८ माघ । लमहीमा तेस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारिक महोत्सव २०८२ सुरु भएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा बुधवारदेखि लमहीमा महोत्सव सुरु भएको हो ।
करिब तीन लाख दर्शकले महोत्सवको अवलोकन गरार्ने तथा तीन करोड बराबरको व्यापार गर्ने लक्ष्य लिइएको छ । स्थानीय कला, संस्कृति, सम्पदा, मौलिक उत्पादन र जीवनशैलीलाई प्रवर्धन गर्दै लमहीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले मेला तथा महोत्सवले मनोरन्जन मात्र नभई सिकाइ र जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने बताए ।
लोप भइसकेका तथा लोपोन्मुख कला, संस्कृति र जीवनशैलीका पक्षलाई नयाँ पुस्तालाई अभिमुखीकरण गर्ने माध्यम मेला–महोत्सव बन्न सक्ने उनको भनाइ छ । आधुनिक विकासका कारण बिर्सिंदै गएका मौलिक वस्तु र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रम प्रेरणादायी हुने उनले बताए । आयातीत संस्कृतिको प्रभाव बढ्दै गएको र मौलिक खानपान तथा परम्परा विस्थापित हुँदै गएको सन्दर्भमा स्थानीय समुदायका परम्परागत परिकार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महोत्सवले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
महोत्सव अवधिभर सञ्चालन हुने सांस्कृतिक कार्यक्रममार्फत् स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनुका साथै आयआर्जनको अवसर पनि पाउनेछन् । चेम्बर अफ कमर्स लमहीका अध्यक्ष किरणकुमार बुढाथोकीले देउखुरीको ऐतिहासिक कला, संस्कृति, पर्व, जात्रा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई लमही क्षेत्रका जैविक विविधता ग्रीनपार्कलगायत विभिन्न पर्यटकीय स्थलको परिचय गराउने अवसर महोत्सवले प्रदान गर्ने उल्लेख गरे । कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका महासचिव हरिबहादुर थापाले महोत्सवले लमही नगर र समग्र देउखुरी क्षेत्रको संस्कृति, परम्परागत सिप र स्थानीय उत्पादनको प्रचार प्रसारमा टेवा पुग्ने बताए ।
जैविक विविधता ग्रीनपार्कलाई तीनै तहका सरकारको समन्वयमा विकसित गरी लमहीलाई नमुना पर्यटकीय गन्तव्य बनाउनु पर्ने उनको धारणा थियो । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्रीधर महराले राप्ती करिडोर, देउखुरी विमानस्थल र औद्योगिक क्षेत्र जस्ता ठुला योजनाले यहाँको पर्यटन व्यवसायलाई थप उकास्ने विश्वास व्यक्त गरे । चेम्बर अफ कमर्स लमहीका अध्यक्ष बुढाथोकीको अध्यक्षता तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका पूर्वअध्यक्ष लीलाराम खनाल, पत्रकार दशरथ घिमिरे, शिवु चौधरीलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष प्रमोद बस्नेतको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार लीला शाहले गरेकि थिइन् ।