गोरक्ष समाचारदाता
दाङ, ८ माघ । घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय गिठेपानीको ३५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सामुदायिक विद्यालय सुधारमा स्थानीय सरकारले काम गरिरहेको बताए । ‘हामी सामुदायिक विद्यालयको सुधार गरिरहेका छौँ’, उनले भने । पछिल्लो समय सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउँदै नगर प्रमुख चौधरीले शिक्षाको सुधारका लागि परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको भन्दै नगर प्रमुख चौधरीले यसमा स्थानीय सरकारले अभिभावकत्व निर्वाह गर्दै आएको बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले शिक्षाको सुधारका लागि सबैको सहयोग आवश्यक रहेको बताए । आधारभूत विद्यालयल गिठेपानी समुदायको सहयोगले नै पछिल्लो समयमा सुधार हुँदै गएको बताएका थिए । विद्यालयको सुधारसँगै विद्यार्थीको आकर्षणमा वृद्धि भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरतमणि अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य सोमबहादुर गिरी, मावि बाल विकासका प्रधानाध्यापक खिमबहादुर बुढा, कालीका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यसोदा पाण्डे, १२ टोलका अध्यक्ष मातृका पाण्डे, अक्षयकोषदाता सुरेश पाण्डे, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सुरेश बुढा, शिक्षक अभिभावक संघका सदस्य सोविलाल पुनलगायतले भनाइ राखेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक जीवन खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक अभिभावक संघका अध्यक्ष हस्त बिए (मिलन) र शिक्षक माधवी डिसीले गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा महेन्द्र पाण्डे र कर्मचारीतर्फ घनबहादुर रावतलाई सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीलाई विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।