पूर्वप्राथमिक तहका संयोजकहरूलाई प्रशिक्षण

गोरक्ष समाचारदाता
दाङ, ८ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगरले पूर्वप्राथमिक तहका संयोजकहरूलाई प्रशिक्षण दिएको छ । प्याब्सन घोराहीको बाल उत्सवका रूपमा रहेको दोस्रो प्याब्सन घोराही किड्स ओलम्प्याड २०८२ लाई भव्य, सभ्य र उल्लासमय तरिकाले सम्पन्न गर्न पूर्वप्राथमिक तहका संयोजकहरूको भेला गरेर प्रशिक्षण दिइएको हो ।

माघ १७ गते तुलसीपुर–१८ बेलझुण्डीस्थित रङ्गशालामा सञ्चालन हुने किड्स ओलम्प्याडमा बालबालिकाले प्रस्तुत गर्ने नृत्य तथा खेलबारे संयोजकहरूलाई प्रशिक्षण गरिएको थियो । सो अवसरमा प्याब्सन घोराही नगर कमिटीका सदस्यद्वय शर्मिला थापा र ममता केसीले संयोजकहरूलाई खेलबारे जानकारी दिँदै खेललाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने गरी प्रशिक्षित गरेका थिए ।

३६ विद्यालयबाट सहभागी भएका संयोजकहरूलाई खेलका नियम, आवश्यक सामग्री र खेलाडीहरूको तयारीका विषयमा समेत व्यावहारिक प्रशिक्षण दिइएको थियो । कक्षा एलकेजी, युकेजी र एकका विद्यार्थी सहभागी हुने ओलम्प्याडमा कक्षागत रूपमा दुई÷दुई वटा खेल, नृत्य तथा मार्चपास समावेश गरिएको खेलकुद संयोजक मानसिंह घर्तीले जानकारी दिए ।

यसैगरी अभिभावकका लागि पनि नृत्यको व्यवस्था गरिएको घर्तीले बताए । प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण वलीको अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो । प्रशिक्षण कार्यक्रममा प्रमुख सल्लाहकार वीरेन्द्र चन्दले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगर उपाध्यक्ष मानसिंह घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिमल भण्डारीले गरेका थिए ।