प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिमा डाँगी

गोरक्ष समाचारदाता
विजौरी, ८ माघ । लुम्बिनी प्रदेश सरकारले बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा स्थानीय युवा नेता तथा समाजसेवी हिमबहादुर डाँगीलाई नियुक्त गरेको छ । डाँगी सो अस्पतालमा विकास िसमिति गठन हुनुअघि नै अस्पताल सहयोग समितिका संयोजक थिए ।

चिकित्सालय विकास समितिको अध्यक्षमा नियुक्त भएलगत्तै अध्यक्ष डाँगीले बुधवार अस्पतालमा पदभारसमेत ग्रहण गरेका छन् । चिकित्सालयका निमित्त प्रमुख अर्जुनराज शर्मा, अस्पतालका कर्मचारीहरू, स्थानीय समाजसेवी तथा सञ्चारकर्मीहरूसमेतको उपस्थितिमा डाँगीले पदभार ग्रहण गरे ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष डाँगीले आफू यस अस्पतालको विषयमा नजिकबाट जानकार रहेको बताउँदै अस्पतालको विकासमा एउटै ईट्टा भए पनि थप्न लागिपर्ने बताए । ‘यो अस्पताल त्यो अवस्थाबाट यो अवस्थामा आइपुगेको छ, जुन सिङ्गै राप्तीबासीको गौरवको कुरा हो, अझै यो संस्थाको सुदृढीकरण र सेवा विस्तारका लागि मेरो निरन्तर राजनीतिक प्रयास रहनेछ’, डाँगीले भने ।

अस्पताल विकास समिति नै गठन नभएको बेला आफूले तात्कालीन अस्पतालका मेसु डा देवकला भण्डारीका पालामै अस्पताल सहयोग समितिको संयोजकको भूमिका निर्वाह गरी विकास समिति गठन गराउन पहल गरेको नवनियुक्त अध्यक्ष डाँगीले बताए ।

पदभार ग्रहण गराउँदै चिकित्सालयका निमित्त प्रमुख शर्माले अध्यक्ष डाँगीलाई डायरी र कलम प्रदान गरेका थिए । साथै उनलाई खादा, माला र अविरले स्वागत गरिएको थियो ।