चैतसम्मलाई प्रतिष्ठानलार्ई प्रथम सेवा विन्दु कायम

गोरक्ष समाचारदाता
दाङ, ८ माघ । स्वास्थ्य बिमा बोर्डले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चैतसम्मलाई प्रथम सेवा विन्दु कायम गर्ने निर्णय गरेको छ । बोर्डले बुधवार औपचारिकपत्र पठाएर बिमित नागरिकको सेवामा सहजता ल्याउन यस्तो व्यवस्था गरिएको जनाएको हो ।

बोर्डका अनुसार सङ्घीय अस्पताल तथा प्रतिष्ठानलार्ई प्रथम सेवा विन्दु नबनाई केवल रेफरल केन्द्रका रूपमा राख्ने पूर्वनिर्णय कार्यान्वयनका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका विभिन्न पत्र तथा स्थानीय तहको सिफारिसलार्ई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । घोराही उपमहानगरपालिकाले अस्पताल निर्माण प्रक्रिया जारी रहेको र सेवाग्राहीको चापलार्ई ध्यानमा राख्दै प्रथम सेवा विन्दुका रूपमा कायम गरिदिन अनुरोध गरेपछि स्वास्थ्य बिमा बोर्डले अस्थायी व्यवस्था गरेको पत्रमा उल्लेख छ ।

निर्णय अनुसार २०८२ चैत मसान्तसम्म बिमित नागरिकको सुविधालार्ई ध्यानमा राख्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम सेवा विन्दुबाट समेत सेवा दिन पाउनेछ । यस अवधिमा आवश्यक समन्वय र सहजीकरण गर्न प्रदेश तथा जिल्ला तहका स्वास्थ्य बिमा कार्यालयलार्ई निर्देशन दिइएको छ ।

स्वास्थ्य बिमा बोर्डले यो व्यवस्था पूर्णतः अस्थायी भएको स्पष्ट गर्दै भविष्यमा सङ्घीय अस्पताल तथा प्रतिष्ठानसम्बन्धी नीतिगत निर्णय अनुसार पुनः समीक्षा गरिने जनाएको छ । स्थानीय स्तरमा भने यस निर्णयले दाङ तथा आसपासका जिल्लाका बिमित नागरिकलार्ई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । सेवा सकिएपछि नागरिक समस्यामा परेका थिए ।