प्रतिनिधि सभा निर्वाचनका लागि दाङका तीन निर्वाचन क्षेत्रमा ६२ को उम्मेदवारी

लीलाधर वली
दाङ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङसहित देशभर मनोनयन दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार सोमवार निर्धारित समयभित्रै देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा मुख्य राजनीतिक दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारले आआफ्नो क्षेत्रमा मनोनयन–पत्र दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू बाजागाजा र ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
दाङका तीन निर्वाचन क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र गरी ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सबैभन्दा धेरै क्षेत्र नं. ३ मा २५ जना र १ मा कम १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. १ मा १४ जनाको उम्मेदवारी
यसैबिच दाङ निर्वाचन क्षेत्र नं. १ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेपाली कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेबाट रेवतीरमण शर्मा घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, नेकपा माओवादीबाट प्रकाश शाहीको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडी मगर, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, जनता समाजवादीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीबाट रन्जित चौधरीले उम्मेदवारी र स्वतन्त्र रूपमा कुलप्रसाद केसी र मालिकराम यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. २ मा २३ जनाको उम्मेदवारी
दाङ निर्वाचन क्षेत्र नं. २ मा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दिएको समयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, नेपाली कांग्रेसबाट नेता किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ऋषिकेश पोख्रेल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतीक अधिकारी र राष्ट्रिय जनमोर्चाबाट मनिराम खनालको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट रविन्द्र उच्च नेपाली, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही, नेसनल रिपब्लिक नेपालबाट जितन पुन, मङ्गोल नेसनल अर्गनाइजेसनबाट अमरबहादुर बुढा, मितेरी पार्टी नेपालबाट रेखबहादुर पुन मगर, नागरिक उन्मुक्ति पार्टी नेपालबाट झरेन्द्रबहादुर खत्री, जनता समाजवादी पार्टी नेपालबाट ढुण्डीराज थापा र आम जनता पार्टीबाट कृष्णबहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्रबाट धर्मराज शर्मा, विष्णुकुमारी भुसाल, पद्मप्रसाद पाण्डे, कल्पना लामा, विष्णुविक्रम सेन वली, समीर वली, लालबहादुर खत्री क्षेत्री र बालाराम पौडेलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् ।
नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेलको उम्मेदवारी दर्ता भएकाले यस क्षेत्रलाई विशेष चासोका रूपमा हेरिएको छ । उम्मेदवारी दर्ताका लागि प्रमुख राजनीतिक दलहरू ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
क्षेत्र नं. ३ मा २५ जनाको उम्मेदवारी
यसैगरी दाङ क्षेत्र नं. ३ मा २५ जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, नेकपा एमालेबाट घनश्याम पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, नेपाल कम्युनिस्ट पार्टीबाट धनबहादुर मास्की, नेपाल कम्युनिस्ट पार्टी
(माओवादी)बाट बलबहादुर वली, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दामोदर भण्डारी, नेसनल रिपब्लिक नेपालबाट प्रितम चौधरी, श्रम संस्कृति पार्टीबाट टोपबहादुर महतरा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट घनश्याम डाँगी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट घनश्याम चौधरी, मितेरी पार्टी नेपालबाट सन्तोष सिंह, जनता समाजवादी पार्टी नेपालबाट शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट पाण्डवी नेपाली, संयुक्त नागरिक पार्टीबाट दलवीर कामी, नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरी र स्वतन्त्रतर्फ भागीराम चौधरी, गोपाल वली, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, सप्रिक कँडेल र इन्द्रबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
‘दाङको समग्र विकास प्राथमकता’
नेपाली कांग्रेसबाट दाङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका नेता किरणकिशोर घिमिरेले कृषि, यातायात, शिक्षा, स्वास्थ्यलगायत समग्र दाङको विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् । आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग धारणा राख्दै उम्मेदवार घिमिरेले दाङको समग्र विकासका लागि कृषि, यातायात, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार गर्न पहल गर्ने बताएका हुन् ।
परिवर्तनलाई सधैँभरि आत्मसात गर्दै जिल्लाको समग्र विकासका लागि नेतृत्व गर्ने बताएका थिए । २०३६ सालदेखि राजनीतिमा सक्रिय रूपमा लागे पनि विभिन्न पेसा र व्यवसायमा संलग्न भएका कारण लामो समयपछि सक्रिया राजनीतिमा आएको भन्दै उनले भने, ‘व्यवसाय र लामो राजनीतिक संलग्नताबाट प्राप्त अनुभवलाई अब दाङको विकासमा लगाउने समय आएको छ । त्यही जनताका बिचमा जाँदैछु ।’
दाङ उपत्यकामा करिब ५६ हजार खेतीयोग्य जमिन रहेको उल्लेख गर्दै घिमिरेले यसलाई सिँचित गर्दै किसानको आयस्रोत बढाउने, यातायात क्षेत्रको सुधारसँगै दाङलाई हवाई सेवा विस्तारका लागि पहल गर्ने बताएका थिए ।
‘चुनाव लोकतन्त्र पुनःस्थापनाको माध्यम’
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले चुनाव लोकतन्त्र पुनःस्थापना गर्ने माध्यम भएको बताएका छन् । दाङ क्षेत्र नं. २ मा आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोख्रेलले यो चुनावले मुलुक प्रतिगमनतर्फ उन्मुख भइरहेको अवस्थामा निर्वाचनका माध्यमबाट लोकतन्त्रलाई पुनःस्थापना गर्ने दिशामा अघि बढाउन महत्वपूर्ण हुने बताएका हुन् ।
अहिले हुन गइरहेको चुनाव राष्ट्रिय राजनीतिमा सामान्य चुनाव नभएको भन्दै महासचिव पोख्रेलले लोकतन्त्र पुनःस्थापना गर्ने मुलकलाई प्रतिगमनतर्फ लैजाने भन्ने निर्धारण गर्ने जनमतसङ्ग्रह भएको बताए । उनले भने, ‘भदौ २३ र २४ गते भएका घटनाले मुलुकमा असाधारण क्षति पुगेको उल्लेख गर्दै ती घटनाका कारण देश अग्रगमनभन्दा पनि प्रतिगमनतर्फ धकेलिएको छ । यस्तो अवस्थालाई सही दिशामा ल्याउन निर्वाचनले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने प्रयास भएको उल्लेख गर्दै देशलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका थिए ।