अबको राजनैतिक यात्रा कता ?

नारायणप्रसाद श्रेष्ठ

प्रतिनिधि सभा निर्वाचन २०८२, मिति २०८२÷१०÷६ गते राजनैतिक दल का व्यक्तिले मनोनयन पत्र दाखेल गरेसँगै अघि बढेको छ । अब आउने नेतृत्व साच्चिकै जनअपेक्षा अनुसार राष्ट्र र राष्ट्रियतालाई मजवुद बनाई भ्रस्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न सक्ने क्षमता भएको सक्षम व्यक्ति छनोट हुने छन्, हामीलाई विश्वास छ ।

बढ्दै गरेको राजनैतिक ध्रुवीकरणले अहिले नेपालको राजनीतिमा देखा परेको अविश्वासलाई चिर्दै नयाँ गतिशिल, सक्षम, विश्वास र भरोसा जगाउन सक्षम व्यक्ति निर्वाचित हुन सकुन् हाम्रो शुभकामना । नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने यहाँ विभिन्न कालखण्डमा विभिन्न घटना घटेको पाइन्छ ।

राष्ट्रिय स्वतन्त्रताको लागि लड्ने नेतृत्वलाई झुण्ड्याएर फाँसी दिएको इतिहास पनि यहाँ लेखिएको छ । पूर्वमा टिस्टा र पश्चिममा काकडासम्मको नेपालको भूमि रहेको नक्साङ्कनको इतिहास पनि यहाँ विद्यमान छ । अमरसिंह थापा जस्ता वीर सपुत र भक्ति थापा जस्ता इमान्दार अनुशासित योद्धा, व्यक्ति पनि यसै क्षेत्रमा सहिद भएको इतिहास साक्षी छ ।

क्षणिक र अहमवादी राजनीतिक स्वार्थले नेपाली इतिहासमा भीमसेन थापाले सेरिएर मर्नु परेको वास्तविकता पनि यहाँ ताजै छ । वीर बलभद्रदेखि कालु पाण्डे लगायतका योद्धा पनि यहाँ भइरहेको इतिहास छ । अहमवादी चिन्तनका कारण राजनीतिज्ञको गलत मानसिकता र रकममा सटही हुने प्रवृत्तिका नेताको कारण नेपालको भूस्वामित्व गुमाएको इतिहास पनि ताजै छ ।

राजनीतिक अकर्मन्यता र स्वार्थी भावनाले प्रेरित भई नेपालको नक्सा खुम्चिएको इतिहास पनि यहाँ नभएको होइन । यस्तो इतिहास लेखिएको पनि देखिएकै छ । राजनीतिक स्वार्थ चरित्रले राष्ट्रको नक्सा, स्रोत, साधन, फेरबदल गर्ने चेष्टा यहाँ नभएको पनि होइन । यो इतिहास पनि यहाँ भएको पढ्न पाइन्छ । राजनीति कोखोल ओडी गोप्य सम्झौताको आधारमा नेपाल राष्ट्रलाई अरुको गुलामी बनाउन लागेको इतिहास पनि यहाँ नभएको होइन ।

यस्को साथै विषम परिस्थिति सिर्जना भई विभिन्न कालखण्डमा धेरै उथुलथुल भएको इतिहास पनि यहाँ छ । सरकारप्रति जनताको आवेक प्रकट भई व्यवस्था परिवर्तनसँगै धेरै सहिदहरु बन्न पुगेको इतिहास पनि यहाँ लेखिएको छ । यसरी राजनीतिक अकर्मन्यताले राष्ट्र र राष्ट्रियताप्रति विभिन्न समयमा विभिन्न किसिमको समस्या र उतारचढाव भएको पनि यहाँ इतिहास लेखिएकै छ ।

वीपी, गणेशमान, पुष्पलाल तथा मदन भण्डारी जस्ता नेताहरुको त्याग र समर्पण पनि यसै भूमिमा रहेको इतिहास छ । नेताको नाम भजाई आफ्नो स्वार्थ परिपूर्ति गर्ने नेतृत्व पनि यहाँ प्रशस्तै देखा नपरेका पनि होइनन । रास्ट्रवादी नेताहरु अपमानित भई राजनीतिबाट अलग भई बसेको इतिहास पनि यहाँ लेखिएको छ । राष्ट्र र राष्ट्रिय एकताको लागि कहिले नझुक्ने राष्ट्रवादी चिन्तक मरिचमान जस्ता नेता पनि यहाँ जन्मिएकै हुन् ।

निस्पक्ष र सधै जन अपेक्षा अनुकुल राष्ट्रको सम्वृद्धि चाहाने नेता पनि यहाँ जन्मेका छन् तर पनि देशले अन्य राष्ट्रको तुलनामा खासै प्रगति गरेको देखिँदैन । प्रकृतिको वरदान प्राप्त खनिज पदार्थले भरिपूर्ण, जलस्रोतको धनी भएर पनि विकासको दृष्टिले यस क्षेत्रमा गरिएको राजनीतिक क्रियाकलापले देशको मुहारमा सामान्य परिवर्तन बाहेक खासै उल्लेखनीय भूमिका निभाएको पाइँदैन ।

बाह्यरीन र अनुदानमा निर्भर रहेको यहाँको अर्थतन्त्रले विकास नाम मात्रको भई नैतिक धरातलमा आधारित राजनीतिक सोच विकासको दृष्टिले कमजोर रहेको छ । भन्ने गरिन्छ जन्मदेखि मृत्युसम्म र त्यस पर्यन्त पछि पनि कहीँ न कतै राजनीतिले मानव जीवनलाई प्रभाव पारिरहेको हुन्छ । तसर्थ राजनीतिलाई समयको परिवर्तनसँगै मुलुकको भविष्य, मानव जीवनको आवश्यकता तथा सामाजिक मूल्य र मान्यताको धरातलभित्र व्याख्या हुनेगरी राजनीतिक सोच हुनुपर्दछ, राजनीतिक गोटी राष्ट्र र राष्ट्रिय स्वाभिमानको लागि गरिने कर्म र व्यवहार मुखरित हुनेतर्फ केन्द्रित हुनुपर्दछ ।

राजनीति गोटी चाल बदला र प्रतिशोधतर्फ नभई राष्ट्रिय र राष्ट्रिय स्वाभिमानको लागि उत्तरदायित्वपूर्ण र जवाफदेही विश्वासको धरातल बलियो भएकोतर्फ मुखरित हुनुपर्दछ । त्यसतर्फ केन्द्रित राजनीति गरिनुपर्छ तर भनाइ र गराइमा तालमेल नभई विकासले फटको मार्न सकेको छैन । सहिदको सपना अधुरै रहेको छ तर जनताको आकाक्षा सपना जस्तै भएको छ ।

हाम्रो राष्ट्र हाम्रो गौरव भन्ने नारासँगै राष्ट्रिय स्वाभिमानलाई बचाई विश्व रंगमञ्चमा नेपालको अस्तित्वको उच्च राख्न सक्ने राजनीतिक सोच अहिलेको आवश्यकता मानिन्छ । अस्थिर राजनीतिले राष्ट्रिय स्वाभिमानमा असर पु¥याउन सक्छ । बाह्य शक्तिको चलखेल बढ्न सक्छ । जुन कुरा विगत इतिहासले देखाइरहेको पनि छ ।

यदि लामो समयसम्म यसैगरी राष्ट्र र राष्ट्रियताको चावी अरुको हातमा सुम्पँदै क्षणिक लोभ लालच र स्वार्थमा राजनीतिक गरिने हो भने यो देशको लागि दुर्भाग्य मानिन्छ । तसर्थ विचारको विविधता भएर पनि राष्ट्रिय स्वार्थको लागि राजनीतिले नैतिक धरातलमा आधारित राष्ट्रहित अनुकूल राजनीति निर्माण गर्न सक्नुपर्दछ । प्रतिनिधिमूलक राज्य व्यवस्थामा व्यक्ति र पार्टीभन्दा राष्ट्रिय स्वार्थ माथी हुनुपर्दछ ।

पार्टी सबै होइन भन्ने सोच बढाइ राष्ट्रिय र राष्ट्रिय एकतामा सबैको ध्यान मुखरित हुनुपर्दछ । तसर्थ समय र परिवर्तनले खोजेको सत्य सबैले बुझ्न जरुरी भइसकेको छ । वर्तमानमा जुन किसिमको अवस्था राष्ट्रिय राजनीतिमा देखिने सम्भावना बढिरहेको छ, केही समय अगाडि जेन–जी आन्दोलनले जुन किसिमको परिणाम देखाएको छ, त्यसलाई गम्भीर रुपले चिन्तन गरी अबको राजनीतिक यात्रा गर्न गराउनु सबैको ध्यान जान जरुरी छ । सम्वृद्धि नेपाल खुसी नेपाली अहिलेको राजनैतिक गोरेटो बन्नु पर्छ । यो सबैको जिम्मेवारी पनि हो ।

नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व कायम गरी विश्व रंगमञ्चमा नेपालको गरिमामय प्रतिष्ठान कायम गर्दै अघि बढ्ने उत्तम विकल्प भनेको राजनीति हा े। राजनीतिक सुझबुझबाट नै राष्ट्र र राष्ट्रियताको पहिचान विश्वसामु पुगेको हुन्छ । जनताको अधिकारको संरक्षण गर्दै उत्तरदायित्वपूर्ण जीवनलाई अस्तित्वसँग गाँसेर सबैको हक अधिकार कर्तव्यको उचित व्यवस्थापन राजनीतिक इच्छाशक्तिबाट नै सम्भव हुन्छ ।

सामाजिक र सांस्कृतिक विकास र यसको मूल्य र मान्यतालाई जीवनपयोगी मार्गमा लैजाने राजनीतिक प्रतिबद्धता नै राष्ट्रिय चिनारी पनि हो । तसर्थ राजनीतिलाई सीमित दायरामा नहेरी यसको व्यापकता प्रति सचेत रहनुपर्दछ । राजनीतिको सही परिचालनबाट मात्रै राष्ट्रिय स्वाभिमान बाँच्न सम्भव हुन्छ । आफ्नै माटो सुहाउँदो र जनइच्छाअनुसार राज्यको सार्वभौमिक अखण्डता र स्वतन्त्र अस्तित्वप्रति जिम्मेवारी भई प्रत्येक व्यक्ति दल नेता र नेतृत्व अहंकारबाट मुक्त भई राज्यको सार्वभौमिक स्वतन्त्रतालाई आफ्नो अनुशासित गन्तव्य ठानी राजनीतिलाई सही र आदर्श उन्मुख गन्तव्यतर्फ लैजान सक्नुपर्दछ ।

राजनीतिज्ञले म को हुँ ? मैले कहाँ कुन क्षेत्रमा र कुन वर्गको नेतृत्व र प्रतिनिधित्व गरिरहेको छु ? मेरो जिम्मेवारी के हो ? राष्ट्र र राष्ट्रियताको लागि मेरो नैतिकताले कस्तो आचरण प्रवाह गर्नुपर्दछ ? भ्रष्टाचारमुक्त समाज निर्माणमा मेरो योगदान के हुनसक्छ ? आदि कुराहरुलाई गम्भीरतापूर्वक चिन्तन मनन गरेर इमान्दार राजनीतिक चरित्र अहिलेको आवश्यकता मानिएको छ ।

नेपालको राजनैतिक इतिहासमा देखिएको शक्ति संघर्षले देखाएको दुष्परिणामलाई चटक्कै बिर्सेर फेरि पनि अहंकार र स्वार्थपूर्ण राजनीतिक परिस्थिति जन्माउनु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । अहिले फेरि उहीँ पुरानै प्रवृति देखिँदै राजनीतिक क्षेत्रमा अकर्मन्यता र स्वार्थ चरित्रले प्रशय पायो भने राष्ट्रिय स्वाभिमानमा ठेस पुग्ला नपुग्ला ?

राष्ट्रियताको लागि मरिमेट्ने ती सहिद सपुतलाई चटक्कै बिर्सेर मेरो गोरुको बाह्रै टक्का भन्ने गलत चिन्तन बढाई राजनीतिक गरिने हो भने देशले कस्तो अवस्था भोग्नु पर्ला ? तसर्थ वीर सहिदको आकांक्षालाई मध्यनजर गरी राजनीतिक नेतृत्व गर्ने दल र दल विशेषका व्यक्तिले आफूलाई राष्ट्रिय चिन्तकको रुपमा प्रस्तुत गर्नु पर्ने बेला भइसकेको छ ।

नेतालाई नेता बनाउने जनता हुन् । अहिले सबै नेताहरु जनताको घरदैलोमा साख्खै हुन आइ पुगेका हुन्छन् । तसर्थ यस बेलामा सबैले गम्भीर रुपले चिन्तन मनन गर्नु पर्ने बेला आएको छ । हाम्रो काम जनताको आवश्यकता पु¥याइदिने, धारा पँधेरा, बाटो, कुँवा बनाई दिने हो, त्यो म बनाइ दिन्छु भन्नेतर्फ मात्र अहिले नेताको ध्यान केन्द्रित भएको देखिन्छ ।

देश र देशको स्वाभिमानलाई कुन दिशातिर मोड्ने कस्तो नीति र नैतिकता कायम गर्दा गराउँदा राष्ट्रको भविष्य उज्ज्वल हुन्छ । त्यसतर्फ नसोची स–साना कुरामा अल्झी यो बनाइदिन्छु त्यो बनाइदिन्छु भनी जनता अलमल्याउने, मैले जिते तपाईं वा तपाइको परिवारलाई यसमा नियुक्ति दिन्छु, यस्तो गर्दिन्छु भनी जनता भुल्याउन गरिने चरित्र पनि देखा पर्न सक्छ । यस्तो अवस्था साँच्चिकै राष्ट्रको लागि दुर्भाग्य मानिन्छ ।

वास्तवमा हाम्रो चाहना राष्ट्रिय राजनीतिमा निस्वार्थ र नैतिक चरित्रवान नेतृत्व गर्न सक्ने क्षमताका राजनीतिज्ञले देशको बागडोर सम्हालुन ्भन्ने हो । सबैको मनसाय पनि यही हो । तसर्थ यसतर्फ राजनीतिज्ञले गम्भीर रुपले चिन्तन गरुन् । राष्ट्रले सही राजनैतिक दिशा निर्धारण गर्न सफल रहोस् हाम्रो शुभकामना । चेतना भया ।