मेरो खुशी : पुरस्कार र स्थायी जागिरको संयोग…
विसं २०७६ साल, जुनवेला म निजामती सेवा प्रवेशका लागि लोकसेवा आयोगको परीक्षा दिएर बसिरहेका बेला मैले मोफसलबाट उत्कृष्ट पत्रकारिता गरेको भन्दै छायाँछवि इन्टरनेसनल चलचित्र अवार्ड लिन दुबई गएको थिएँ । जुन मेरो पहिलो विदेश यात्रा थियो । जुन दिन मैले पुरस्कार थापेँ, त्यसको भोलिपल्टै मेरो लोक सेवाको रिजल्ट आएछ ।
जुन बेला हामी दुबईका सहर घुम्न गएका थियौँं । साँझ बास बस्ने होटलमा फर्केपछि लोक सेवाको वेबसाइट हेर्दा मेरो नाम निस्केको देखेँ । खुसीको सीमै रहेन । एकै संयोगका अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार र निजामती सेवामा लेखा अधिकृतको जागिर । लेखिदिनुहोला मेरो खुसी एकै संयोगमा पुरस्कार र जागिर । दुबईमा मैले पाएको पुरस्कारसहित केही पैसा थपेर सँगै दुबई गएका चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष तथा साहित्यकार शान्तिप्रियलगायतका साथीभाइलाई सानोतिनो पार्टी पनि दिएँ । पुरस्कारको भन्दा पनि नेपालमा निजामती सेवामा प्रवेशको खुसियालीमा दिएको थिएँ, त्यो भोज ।
त्यसको खबर म भन्दा पहिले धेरै साथीभाइ र परिवारले थाहा पाइसकेका रहेछन् । फेसबुकभरि मलाई बधाई दिएका सन्देशहरू भाइरल भइसकेका थिए, किनकि मैले सञ्चार क्षेत्रमा काम गर्दा धेरै साथी कमाएको थिएँ । त्यसैले पुरस्कार निजामती प्रवेशको बधाई एकैपटक फेसबुकमा पोस्ट भएका थिए । त्यसपछि भोलिपल्टै नेपाल फर्केर काठमाडौंमा सङ्घीय मामिला मन्त्रालयमा गएर लेखा अधिकृतको नियुक्ति बुझेँ, परिवर्तन गाउँपालिकामा मेरो पोस्टिङ भएको थियो ।
त्यसपछि घरमा आउँदा मलाई घरपरिवार तथा ससुराली परिवारले एकैसाथ फूलमाला लगाएर घर प्रवेश गराउनुभएको थियो । बुबा नोखिराम न्यौपाने, आमा जयन्तादेवी, श्रीमती पूर्णिमा शर्मा, ससुराबुबा महेन्द्रराज शर्माले पनि मेरो स्वागतमा सहभागी हुनुहुन्थ्यो । ससुराबुबा अर्थात मलाई निजामती सेवामा प्रवेश गराउने ससुराली परिवार थियो । म जहिले ससुराली जान्थेँ, ‘ज्वाइसाप लोक सेवाको तयारी गर्नुस् है’ भन्ने सन्देश लिएर फर्कन्थेँ ।
ससुराली परिवारै निजामती सेवामा थियो, त्यसैले पनि मलाई जहिल्यै शसुराली लोक सेवाका लागि हौस्याइत्थ्यो । मेरो निजामती प्रवेशको मुख्य श्रेय मैले ससुराली परिवारलाई दिन्छु । मेरो खुसी निजामती सेवा प्रवेश, अहिले मैले मेरै ससुराली परिवारलाई तलब खुवाउने स्थानमा लेखा अधिकृतका रूपमा सेवा गरिरहेको छु; दंगीशरण गाउँपालिकामा लेखा अधिकृत ।
त्यसो त खुसीका अविष्मरणीय क्षणले मेरो दैनिकी भरिएको छ । कति स्मरण गरौँ ? किनकि मेरो खुसी सञ्चार क्षेत्रसँग पनि जोडिएको छ । २०६४ साल, महिना याद भएन । रेडियो मध्यपश्चिम घोराहीमा ‘खोजी आरजे’को भन्ने कार्यक्रम थियो । यो रियालिटी सो जस्तै हो । त्यहाँ सहभागी भएपछि रेडियोमा काम पाउन सकिन्थ्यो । वशन्त आचार्य र किसन रेग्मीले प्रतिस्पर्धा गराउनुभएको थियो । त्यसमा झन्डै एक सय ६५ सहभागी थिएँ ।
त्यसमा मेरो नाम चौथो नम्बरमा आयो । त्यसपछि मैले रेडियो मध्यपश्चिममा जोडिने मौका पाएँ । दसौँ स्थानसम्मकाले काम पाएका थिए, त्यो बेला । त्यसपछि मैले म्युजिक जर्नी कार्यक्रम शनिवार चलाउन सुरु गरेँ । जुन दिन म पहिलो पटक रेडियोमा कार्यक्रम चलाउन हिंडेको थिएँ, त्यो बेला मैले राप्ती विद्यामन्दिरमा कक्षा ९ मा अध्ययन गर्थें । मैले कार्यक्रम चलाउन जानु अघि स्कुल र गाउँभरि हल्ला गरेको थिएँ, ‘रेडियो मध्यपश्चिम सुन्नु है’ भनेर ।
कार्यक्रम चलाएर घर फर्किएँ । गाउँभरि मेरो स्वर सुनिएको रहेछ । शनिवार कार्यक्रम चलाएँ, आइतबार स्कुल पुग्दा कक्षा कोठामा पनि मेरै कार्यक्रमको चर्चा । मलाई त्यो दिन कक्षा कोठामै मेरा गुरु राजेन्द्र पाण्डेले, ‘हिजो रेडियोमा बोले जसरी बोल त’ भनेपछि मैले त्यसै स्टाइलमा कक्षा कोठामा पनि बोल्नुपरेको थियो । अर्थात, मेरो दोस्रो खुसीको क्षण थियो, रेडियोमा मेरा स्वर गुञ्जेको दिन । पत्रकारिता र रेडियोकर्मीको कामलाई निरन्तरता दिँदै गर्दा म चलचित्र पत्रकार संघ दाङको अध्यक्ष बन्ने अवसर पनि मिल्यो ।
त्यो कार्यकालमा मेरै पहलमा धेरै राष्ट्रिय चलचित्र अभिनेतालाई दाङ ल्याउन सफल भयौँ । राष्ट्रिय कलाकारलाई दाङसम्म ल्याएर यहाँको चलचित्र विकासमा योगदान पु¥याउन सकेको पनि अनुभूति हुन्छ, मलाई । चलचित्र छायाँङ्कन पनि दाङमा गरौँ भन्ने हाम्रो सधैँ केन्द्रसँग पहल हुन्थ्यो । यसमा हामी केही हदसम्म सफल भयौँ पनि । त्यसपछि दाङमा आधुनिक फिल्महल खुल्ने प्रेरणा पनि मिल्यो, सायद । म रेडियोमा काम गर्दै गर्दा फिल्मी पर्दा र मास्टर माइन्ड कार्यक्रम चलाउँथे, साथमा मिसन प्लस टु कार्यक्रम पनि मैले नै तुलसीपुरमा सुरु गरेको थिएँ । यसैगरी क्वीज कन्टेस्ट पनि चलाउँथे, जुन कार्यक्रम चलाउँथे मेरो रुचि अनुसारका ।
ती कार्यक्रम पनि मेरो सफलताका श्रेय हुन् । क्विज कन्टेस्टले मलाई निजामती सेवामा प्रवेश गर्न मद्दत पुग्यो, शैक्षिक कार्यक्रम पनि त्यसैसँग जोडिएको । मेरो अर्को खुसी रेडियो जोर्नालिस्ट, अर्थत आरजे …। माथि उल्लिखित खुसीका क्षण तुलसीपुर–७ निवासी पत्रकार तथा निजामतीकर्मी ध्रुवराज न्यौपानेका हुन् । उनलाई सञ्चार क्षेत्रले डिआरएन भनेर चिन्ने गर्दछ । लगन र मेहनतका प्रायः डिआरएन साच्चै सफलता प्राप्त गर्दै आएका छन् ।
निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका न्यौपाने अहिले दंगीशरण गाउँपालिकाको लेखा अधिकृत पदमा कार्यरत छन् । २०४८ पुस २१ गते जन्मिएका न्यौपाने सानैदेखि मेहनती र प्रतिभाका धनी थिए । अवसरको खोजीमा सधैँ भौतारिन्थे । गाउँकै त्रिदेव बोर्डिङ स्कुल श्रीगैँमा कक्षा ६ सम्म अध्ययनपछि उनी अध्ययनका लागि राप्ती विद्यामन्दिर तुलसीपुरमा भर्ना भए । त्यही स्कुलमा प्लस टु उत्तीर्ण गरेपछि उनले राप्ती बबइ क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातक उत्तीर्ण गरे ।
त्यसपछि पत्रकारिता र पढाइलाई सँगसँगै लगेर नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट कानुन सङ्कायमा पनि स्नाकक तह उत्तीर्ण गरे । त्यसपछि घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरे । पढाइलाई निरन्तरता दिँदै पछिल्लो पटक उनले आमसन्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर पूर्वाञ्चल विश्वविद्यालयमा विशिष्ट श्रेणीमा उत्तीर्ण गरे ।
रेडियो मध्यपश्चिममा २०६४ सालदेखि पत्रकारिता सुरु गरेका न्यौपाने अहिलेसम्म पनि सञ्चार क्षेत्रलाई क्रस गर्न चाहेका छैनन् । उनले रेडियोमा प्रवेश गराउने श्रेय अग्रज पत्रकार अर्जुन गिरीलाई पनि दिन्छन् । रेडियो मध्यपश्चिमको अनुभवपछि रेडियो तुलसीपुरमा कार्यक्रम संयोजक बनेर २०६५ देखि २०७१ सालसम्म काम गरे । त्यसपछि जोडिए रेडियो सञ्जीवनीमा, कार्यक्रम उत्पादक तथा समाचार कक्षमा काम गर्न ।
२०७३ सालमा चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्ष बने । ०७६ मा लियो क्लब अफ दाङ तुलसीपुरको संस्थापक अध्यक्ष, किवानीज क्लबको साधारण सदस्य छन् । अहिले चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय सदस्य रहेका न्यौपानेले निजामती सेवा प्रवेश अघि रक्षाचौरको गुरु जजुर माविमा कम्तीमा ४ वर्ष लेखापालको रूपमा पनि काम गरेको अनुभव छ ।
रोल्पाको परिवर्तन गाउँपालिकाबाट निजामती सेवा सुरु गरेका न्यौपानेले त्यही छँदा एक वर्ष निमित्त प्रमुख प्रशासाकीय अधिकृतको जिम्मेवारीसमेत सम्हाले गरे । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक वर्ष काम गरेर उनी पुनः स्थानीय पालिकामै लेखा अधिकृतको जिम्मेवारीमा फर्केका छन् । भन्छन् खुसी निरन्तरको मेहनत हो । सानै उमेरदेखि उनले हरेक पाइलामा सफलता हासिल गर्नु नै उनको निरन्तर मेहनेतको फल हो ।
प्रस्तुति : खेमराज रिजाल
