गोरक्ष समाचारदाता
दाङ, ७ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु तोक्न माग गरिएको छ । बयलडाँडा चौतारी क्लब, घोराही–१८, दाङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको सेवा अविलम्ब नियमित गर्न माग गरेको हो ।
क्लबले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुका रूपमा तोक्दा जिल्लाका हजारौँ बिमित नागरिक लाभान्वित हुने जनाएको छ । ज्ञापनपत्रमा जिल्लामा करिब ४५ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध रहेको उल्लेख गरिएको छ तर हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा अवरुद्ध हुँदा बिमित नागरिक अन्य स्वास्थ्य संस्थामा सिफारिसका आधारमा मात्र सेवा लिन बाध्य भएका छन् ।
यसले उपचारमा ढिलाइ हुनुका साथै अनावश्यक झन्झट र खर्चिलो भएको क्लबले जनाएको छ । ज्ञापनपत्रमा स्वास्थ्य बिमा जस्तो संवेदनशील र जनसरोकारको विषयमा सम्बन्धित निकाय गम्भीर हुनुनुपर्ने उल्लेख गरिएको छ । नागरिकले बिमाका लागि बुझाएको रकम अनुसार सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दुका रूपमा तत्काल तोक्न माग गरिएको छ ।
क्लबले स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेको छ । प्रतिष्ठानले माघ १ गते बाट प्रथम सेवा विन्दुको सेवा रोकेको छ । प्रतिष्ठानले माघ १ बाट प्रथम केन्द्रबाट रिफर भएर आएकालाई मात्र सेवा दिने गरेको छ ।