प्रतिनिधि सभा निर्वाचन २०८२
गोरक्ष समाचारदाता
दाङ, ६ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज (मङ्गलवार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएको हो ।
उम्मेदवारी दर्ताका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उम्मेदवारी दर्ताका लागि क्षेत्र नम्बर १ को लमहीमा, क्षेत्र नं. २ को घोराहीमा र क्षेत्र नं. ३ को तुलसीपुरमा गरेर छुट्टाछुट्टै व्यवस्था गरिएको छ । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरूसमेत उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि अधिकांश राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् । जस अनुसार नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि किरणकिशोर घिमिरे र क्षेत्र नं. ३ मा पूर्वमन्त्री दीपक गिरीलाई उम्मेदवार बनाउने भएको छ । यसैगरी नेकपा एमाले दाङ क्षेत्र नं. २ बाट महासचिव शंकर पोख्रेल, क्षेत्र नं. ३ बाट घनश्याम पाण्डेयलाई उम्मेदवार बनाउने निर्णय गरे पनि क्षेत्र नं. १ मा चयन गर्न सकेको छैन । क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, कुलहादुर केसीलगायतको नाम सिफारिस भए पनि अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरी, केन्द्रीय सदस्य क्षेत्र नं. २ बाट निर्मल आचार्य, क्षेत्र नं. ३ मा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ बाट पार्टीका लुमिबनी प्रदेश सभापति देवराज पाठक, क्षेत्र नं. २ बाट पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य र क्षेत्र नं. ३ बाट कमल सुवेदीलार्ई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नं. २ बाट मनिराम खनाल र क्षेत्र नं. ३ बाट कमल जिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मनोनयनमा जाँदा तडकभडक नगर्नू
यसैबिच निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् ।
तडकभडकलाई कानुनले पूर्णरूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधि नगर्न सचेत गराए । आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी उनले दिए । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयनपत्र दाखिल गर्न उनले आग्रह गरे ।
‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक हुन्छ । यो पूर्णरूपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ’, भण्डारीले भने । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । ‘आचारसंहिताले निषेध गरेका कामहरू प्रयोग नगरिकन निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन–पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवालालगायत मतदाताहरूको र त्यसलाई टड्कारो रूपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिबीच पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ’, उनले भने, ‘यो निर्वाचनमा कुनै शङ्का, उपशङ्का गर्नु पर्दैन ।’