वक्तृत्वकला प्रतियोगितामा केसी प्रथम

गोरक्ष समाचारदाता
दाङ, ६ माघ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले घोराहीमा आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा घोराही–१६ सर्रास्थित ज्ञानमाला एकेडेमी कक्षा १० की छात्रा अदिती केसी प्रथम भएकी छिन् ।

संघका संस्थापक खगेन्द्रबहादुर बस्नेतको ९८ आँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालमा अपाङ्गताको अवस्था र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोर्खा मावि घोराहीकी कक्षा ११ की छात्रा सुप्रिया शर्मा दोस्रो भएकी छिन् ।

यसैगरी माउन्ट भ्यू बोर्डिङ स्कुल घोराहीकी छात्रा सलिना पौडेल तेस्रो र गुरुकुल एकेडेमी घोराहीकी छात्रा यशु बुढाथोकी सान्त्वना भएका छन् । प्रथमलाई पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र सान्त्वनालाई एक हजार नगद् तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

संघका सभापति रुपा वलीको अध्यक्षता र घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा घोराही–१४ का वडाध्यक्ष भानसिं बुढाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघकी सदस्य पार्वती रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपसभापति निशान्त आचार्यले गरेका थिए ।