दृष्टीविहीनहरूले मतदानबाट संघको अध्यक्षमा खड्कालाई चयन

गोरक्ष समाचारदाता
दाङ, ६ माघ । दाङमा दृष्टीविहीनले मतदान गरी नेतृत्व चयन गरेका छन् । नेत्रहीन संघको १४ औँ साधारणसभा तथा छैठौँ अधिवेशन सोमवार तुलसीपुरमा सम्पन्न भएको हो ।

अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारबिच सहमति जुट्न नसक्दा मतदान भएको थियो । मतदानबाट अध्यक्ष पदमा रामबहादुर खड्का निर्वाचित भएका छन् । ४९ जना मतदाता रहेको संघको अध्यक्ष पदका उम्मेदवार खडकाले ३२ मत र प्रतिस्पर्धी कुशल तामाङले १२ मत प्राप्त गरेका थिए । पाँच जना मतदाता अनुपस्थित भएका थिए ।

दृष्टीविहीन मतदाता भएकाले उनीहरूले आआफनो मताधिकार तीन सदस्यीय निर्वाचन कमिटीलाई गोप्य रूपमा जानकारी गराउने र सोही अनुसार उम्मेदवारको मतदानको नामको सूचीमा टीक लगाउने व्यवस्था गरिएको निर्वाचन कमिटीका सदस्य भोला त्रिपाटीले जानकारी दिए । खड्का र तामाङ संघका पूर्वअध्यक्ष हुन् । अन्य पदमा भने सहमति जुटेको थियो ।

सहमति जुट्दा उपाध्यक्षमा आशी चौधरी, सचिवमा कर्ण पाली, सहसचिवमा अनिता थापा, कोषाध्यक्षमा प्रवीण चौधरी सर्वसम्मत चयन भएका छन् । सदस्य पदमा ईन्द्र बुढा र सुस्मिता चौधरी पनि सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक भावुकजंग थापाले जानकारी दिएका छन् ।

आर्थिक क्षमताको बिकास आबश्यक

उद्घाटन सत्र संघका अध्यक्ष गमन चौधरीको अध्यक्षता एवम् संघका केन्द्रीय उपाध्यक्ष भावुकजंग थापाको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा प्रमुख अतिथि थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सवल बनाउनसके मात्र अपाङ्गताको सङ्ख्यामा कमी हुने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल नेत्रहीन संघ लुम्बिनी प्रदेशका अध्यक्ष भोला त्रिपाटी, मानव अधिकारकर्मी एवम् पत्रकार सुशील बस्नेत, तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठ, नेकपा तुलसीपुर नगर कमिटीका अध्यक्ष मोहन थापा, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजय शर्मा, सदस्य वसन्ती वली, घरेलु तथा साना उद्योग संघका महासचिव भद्र वली, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।