दाङ,५ माघ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ८०औँ जन्मदिनको अवसरमा ग्रुपका देशैभरिका शाखाहरूमा एकै साथ रक्तदान गरिएको छ।
कार्यक्रमअन्तर्गत जनकपुर, हेटौंडा, पोखरा, दाङको घोराही र तुलसीपुर, नारायणगढ, वीरगञ्ज, हरिवन, लहान, विराटनगर, धनगढी, हिले, बिर्तामोड, काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, बुटवल, होङ्सी र दमौली गरी १८ स्थानमा रक्तदान गरिएको हो।
देशैभरि गरिएको रक्तदान ५७८ पाइन्ट रगत सङ्कलन भएको ग्रुपले जनाएको छ।
यसैबीच दाङको घोराहीमा आयोजित रक्तदान कार्यक्रम एमभी दुगड ग्रुप दाङका प्रबन्धक धीरज घिमिरेको अध्यक्षता तथा घोराही रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्याैपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। निरज गिरीको स्वागत मन्तव्यबाट सुरु गरिएको रक्तदानमा ५४ जनाले रक्तदान गरेका थिए।
एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडको ७५औँ जन्मजयन्तीदेखि नै ग्रुपका सम्पूर्ण शाखाहरूले रक्तदान, वृक्षारोपण लगायतका विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाइएको छ।
घोराही शाखाका प्रबन्धक धीरज घिमिरेले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । रक्तदान पश्चात् ग्रुपका अध्यक्ष मोतिलाल दुगडले सम्पूर्ण रक्तदाता कर्मचारी,सहयोगी तथा रक्तदानका लागि सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका छन् ।