दाङ, ३० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको पुस २८ गतेको निर्णयअनुसार प्रतिष्ठानमा रजिष्ट्रारका रुपमा कार्यरत लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको हो ।
उनलाई शैक्षिक, आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ। लम्सालले बुझेको पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्न निमित्तको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ। उपकुलपति नहुँदा नीतिगत निर्णय तथा दैनिक प्रशासनिक कामकारबाहीमा समस्या उत्पन्न हुँदै आएको थियो ।
निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान भएसँगै प्रतिष्ठानका कामकारबाही सहज हुने र गतिविधिले गति लिने विश्वास गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले २०८२ असोज २९ गते पदबाट राजीनामा दिएपछि प्रतिष्ठानको कुलपति नियुक्त हुन सकेको छैन ।