काठमाडौँ,१ माघ । नेपाली कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा बुधबार नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । पौडेल १४ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । घिमिरे विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेता हुन् । घिमिरे नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए ।
सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् ।
विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीमा शेरबहादुर देउवाको अध्याय टुंगिएको उद्घोष गरे । उनले कांग्रेस गुटबाट मुक्त भएको बताए । ‘कांग्रेसका सबै क्रियाशील सदस्य र सभापति बराबर रहने नयाँ परम्परा सुरु भएको छ,’ उनले भने ।