दाङका थारु गाउँबस्तीमा माघीको रौनक बढेको छ । माघ आउन एक दिन मात्र बाँकी रहँदा अहिले सबैका घर–घरमा मिठो पसिनो खाने तथा नाँचगान गरेर महोत्सवको आयोजना गरेर माघी मनाउन सुरु गरिएको छ ।
माघेसङ्क्रान्ति हिमाल, पहाड, तराईमा बसोबास गर्ने प्रायः सबै नेपालीले मनाउने चाड हो तर केही समुदायमा भने यसलाई प्रमुख चाडका रूपमा मनाउने गरिन्छ । थारू समुदायले माघेसङ्क्रान्तिलाई ‘माघ’ चाडका रूपमा मनाउँदै आएका छन् । माघी थारू समुदायको प्रमुख चाड हो । आदिवासी जनजाति अन्तर्गत पर्ने यो समुदायमा माघीलाई नयाँ वर्षका रूपमा लिने गरिन्छ ।
त्यस्तै मगर, नेवारलगायत अन्य जातजातिले पनि माघ १ गतेलाई माघी पर्वको रुपमा मनाउने गरेका छन् । यसै सन्दर्भमा माघी पर्वलाई कसरी मनाइन्छ र कसरी तयारी गरिन्छ भन्ने विषयमा विभिन्न जातजातिका अगुवा तथा बुद्धिजीवीहरुसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।
नेवार समुदायको माघ : हाम्वः संल्हु, तिल सङ्क्रान्ति
शिव श्रेष्ठ (अध्यक्ष)
नेवाः दय दबु (नेवार राष्ट्रिय मञ्च) तुलसीपुर नगर समिति
नेपालका आदिबासीले आफ्नै संस्कार र परम्परा अनुरूप मौलिक रूपमा धुमधामसँगै मनाउँदै आइरहेको माघे सङ्क्रान्ति र माघे मेलाको अत्यन्तै महत्व रही आएको छ । आदिबासी नेवारले पनि माघि पर्व मनाउने गरेका छन् । माघ महिनाको सङ्क्रान्ति घ्यू, चाकु खाएर मनाइने सङ्क्रान्ति ।
त्यसैले यो सङ्क्रान्तिलाई घ्यू चाकु संल्हु पनि भनिन्छ । दक्षिणयाणमा रहेका सूर्य यो दिनदेखि उत्तरयाणमा सर्दै आउँछ । १२ महिनामा हुने १२ राशी अनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
नेवारी संस्कार अनुसार माघे सङ्क्रान्तिका दिन चाकुमा तिल राखेर बनाएको लड्डु खानु पर्ने र विभिन्न प्रकारले तिलको प्रयोग गर्नुपर्ने भएकाले यो सङ्क्रान्तिलाई नेवारले हाम्वः संल्हु, तिल सङ्क्रान्ति पनि भन्ने गर्छन् । यो दिन अलिकता अमलाको धुलो दलेर नुहाउनु पर्ने, तिल राखेर तेल लगाउनु पर्ने, छोराछोरीलाई आमाले टाउकोमा तिल राखेर तोरीको तेल लगाइ दिनु पर्ने, तिल राखेर पितृ तर्पण गर्नु पर्ने, तिल आगोमा डढाउनु पर्ने, तिल खानु पर्ने, अनि तिल दान गर्नु पर्ने नेवारी संस्कार र परम्परा छ । यसरी विभिन्न प्रकारले तिल प्रयोग गर्नु पर्ने भएकाले नै यस सङ्क्रान्तिलाई हाम्वः संल्हु, तिल सङ्क्रान्ति भनिने हो ।
जाडोको समय भएकाले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागतको आपूर्ति गरेर शरीरलाई स्वस्थ्य बनाइ राख्न मनाउँदै आएको यो माघे सङ्क्रान्तिका दिन शरीरलाई अत्यन्तै फाइदा हुने घ्यू, चाकु, तरुल, पालुंगोको साग, माछासहितको सम्ये बजी खाएर चाड मान्ने गरिन्छ । नेवारले यो चाड मनाउने दिन बिहान सबेरै घरभरी बढारेर सफा सुग्घर पारेर सबैभन्दा पहिला देवी देवताको पूजा गर्दा घ्यू, चाकु, माछा र सम्ये बजी चढाउँछन् ।
यसरी नै पितृ तर्पण गर्दा पनि घ्यू, चाकु, तरुल, माछा, सम्ये बजी, चामल, पालुंगो, मास आदि राखेर दान दिइने गरिन्छ । घरैमा पनि पितृभाग राखेर पन्छाइन्छ । नेवारले चाड मान्दा सबैभन्दा पहिला देवता र पितृलाई मानी सकेपछि मात्र आफन्त र साथीभाइलाई बोलाएर भोज खुवाउने पनि नेवारी संस्कृतिभित्रै पर्छ ।
नेवारी संस्कृतिअनुसार बिहे गरेर पठाइसकेका छोरीलाई बोलाएर भोज खुवाउने र टाउकोमा आमाले तेल लगाइदिने परम्परा छ । माघे सङ्क्रान्तिका दिन नेवार समुदायले बिहान सबेरै नित्य पूजापछि विभिन्न देवदेवीलाई घ्यू, चाकु, साकसला र काँचो तरुल राखेर चढाउने चलन छ । त्यस्तै पितृलाई पनि घ्यू र चाकु दिने गरिन्छ ।
देवदेवीको पूजापछि आफूभन्दा ठूला मान्यजनबाट ज्वानो राखेर तताइएको तोरीको तेल टाउँकामा लगाइदिने गरिन्छ । जाडो समयमा खाने तेल टाउकामा राखेर घ्यू, चाकु, चिउरा, तरुल जस्ता पोसिलो वस्तु खाँदा शरीर तातो भई ऊर्जा पैदा हुने जनविश्वास छ । चुलीबेटी बोलाउने र त्यस दिन ज्वाई आउनु हुन भन्ने हाम्रो चलन छ ।
हामीहरूले हिमाल हेर्ने, तिलको लड्डु पाकेको, फर्सी खिचडी खाने रमाइलो गर्ने गरेका छौँ । तपाईहरू कतिलाई यो कुरा थाहा छ, यो वं कुरीँ वाँ कुरीं बारे । घरमा पाको उमेरका व्यक्ति हुनुहुन्छ भन्ने पक्कै यो कुरा थाहा होला । वास्तवमा वं कुरीं वाँ कुरीं भनेको घ्यू चाकु सल्हुंको अघिल्लो दिनलाई वं कुरीं भनिन्छ । यस दिन नै नेवाको घरमा विवाहिता छोरीलाई बोलाउने गर्छ ।
सल्हुंलाई आवश्यक सामग्री चेलीबेटी सबै मिलि जोरजाम गर्छ । त्यस्तै वां कुरीं भनेको सल्हुंको भोलिपल्टको दिन हो । यो दिन पनि सल्हुंको बाँकी भएको परिकार सबै मिली खाइन्छ । यस अर्थमा घ्यू चाकुको नेवा नाम कुरीं हो । नेवारले अचेल घ्यू चाकु भनिने पर्व वं कुरीं (पौष मसान्त) देखि वां कुरीं (माघ २) सम्म मनाउँछ ।
थारू समुदायको नयाँ वर्ष, माघेसङ्क्रान्ति
डा. पर्शुराम चौधरी
हरेक वर्ष माघ १ गतेलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । माघी मनाउन थारू समुदायमा पुसको अन्तिम दिन बङ्गुर काट्ने चलन रहेको छ भने सङ्क्रान्तिको दिन हिंसा गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।
त्यसैले पुसको अन्तिम दिन नै सुङ्गुर, बङ्गुर काटेर समुदायका मानिसले आफूलाई आवश्यक पर्ने मासुको जोहो गरिन्छ । त्यसरी सुङ्गुर, बङ्गुर काट्ने चलनलाई ‘जिता मरना दिन’ पनि भनिन्छ । महिलाले पनि पुसको अन्तिम दिननै ढिक्री बनाउने परम्परा रहेको छ ।
माघे सङ्क्रान्तिको दिन बिहानै थारू समुदायका बच्चादेखि वृद्धसम्म नदी, तलाउ नजिकै भए त्यही गएर नत्र घरमै नुहाउने चलन रहेको छ । यसो गर्दा पाप पखालिन्छ भन्ने जनविश्वास छ । कतै–कतै अघिल्लो दिन चोकमा धुनी बाल्ने, रातभर भेला भएर जाग्राम बस्ने र बिहान भएपछि नुहाउन जाने गरिन्छ ।
नुहाएर आइसकेपछि तिलको आगो ताप्ने चलन छ । बिहानै नुहाई सकेपछि ढिक्री पार्ने अनदीको रोटी गहँुको रोटी हाल्ने गरिन्छ । सोही दिन वा भोलिपल्ट आफ्ना दिदीबहिनी, चेलीबेटीलाई दिने गरिन्छ । थारू समुदायमा माघे सङ्क्रान्तिको दिन विशेष परिकारका रूपमा ढिक्री खाने चलन छ । यसका साथै पुसको अन्तिम दिन काटेको बङ्गुरको मासुको परिकार, माछाको सुकुटी, आलु र सिन्कीको अचार, हरियो सागर जाँड पनि बनाउने गरिन्छ ।
परिवारका सबै अग्रजबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिइसकेपछि सबैजनासँगै बसेर रमाइलो गर्दै बनाएका परिकार खाने गरेको परम्परा रहेको छ । माघे सङ्क्रान्तिकै दिन ठुलो परिवार छ भने माघे सङ्क्रान्तिको दिन अलग हुने, घरको सम्पूर्ण आयव्यय प्रस्तुत गर्ने, गाउँमा नयाँ भलमन्सा (गाउँका मुख्य व्यक्ति) छनोट गर्नेलगायत चलन आझै कायमै छ ।
गाउँका मुख्य व्यक्ति छान्ने, गाउँमा हुने विभिन्न कामको वाँडफाँट गर्ने, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीति नियम बनाउने आदि काम पनि माघीमा गरिन्छ । वर्षभरीको हिसावकिताव मिलाउने दिन पनि भएकाले थारू समुदायको आर्थिक वर्ष आरम्भका रूपमा पनि यो पर्व रहेको छ ।
खेतीपातीलगायत विभिन्न व्यवहारको नवीकरण गर्ने दिनका रूपमा माघी रहेको छ । माघी पर्वको सुरुवात भएको उनीहरूको भनाइ छ । भेला भएका अवसरमा नया धानको भात आदि परिकार खाइने भएकाले नयाँ अन्न खाने दिनका रूपमा पनि माघी पर्वलाई लिने गरिन्छ । माघे सङ्क्रान्तिको दिन खाइपिइ गरिसकेपछि दिउँसोदेखि ‘माघी नाच’ नाच्ने परम्परा छ ।
माघीमा छोक्रा नाच (मघौटा नाच) नाच्ने र ढुमरू गीत गाउने पनि गरिन्छ ।ढुमरू गीत र छोक्रा नाच माघे सङ्क्रान्तिदेखि तीन दिनसम्म तिहारमा देउसी खेले जसरी नै घर–घरमा गएर देखाउने गरिन्छ । यसै अवसरमा सखिया नाँच पनि नाच्ने गरिन्छ । माघी नाँच्दा थारू महिलाले ब्लाउज र सेतो गुन्यू र लेहंगा, फरिया कुर्था र थारू विशेष गरगहना लगाउने चलन छ । हरेक थारू समुदायको घर–घरमा गएर माघी नाँच नाच्दा आफ्नो क्षमता अनुसारको दक्षिणा दिने गरिन्छ ।
मगर समुदायको माघेसङ्क्रान्ति ः दाजुभाइले चेलीबेटीलाई फुज्ने पर्व
जुनकुमारी बुढा
(महिला जनप्रतिनिधि)
मगर समुदाय हरेक वर्ष माघ महिनाको पहिलो दिनलाई माघेसङ्क्रान्ति अर्थात् माघी पर्वको रूपमा मनाउने गर्दछन् । मगर समुदायहरूमा पनि माघीको आफ्नै महत्व छ ।
माघीको अघिल्लो दिन विभिन्न परिका पकाउने गरिन्छ । माघेसङ्क्रान्ति चाड विशेष त चेली पर्वको रूपमा मनाइन्छ । यो दिन छोरी चेलीहरूलाई पनि पुजिन्छ । ‘यो बेला सबै आफन्त भेटघाट गरी रमाइलो गरी मनाइन्छ । यो चाड ठाउँ अनुसार तीन दिनसम्म मनाउने गर्छौँ ।’ हाम्रो माघीको दिन विशेष गरी दाजुभाइले चेलीबेटीलाई फुज्ने चलन हुन्छ ।
त्यस्तै चेलीबेटी जम्मा भएर युवायुवतीहरूले जिस्कने रमाइलो गर्ने गरिन्छ । मगर समुदायले पनि दुई तीन दिनसम्म तारो हान्ने भन्ने खेल खेल्ने चलन छ । त्यस्तै खोलामा गएर पुतला जलाउने पुतला जलाइसकेपछि रुँदै घरसम्म फर्कने चलन पनि छ । माघिमा सबै आफन्त जम्मा हुनुका साथै विशेष भेटघाट हुने गर्छ । त्यस्तै माघिको दिन सखरखण्ड, तरुल र खिचडी (चामल, दाल, घ्यू राखेर पकाएको विशेष परिकार) खाने गरिन्छ ।