मेरो खुशी : रेज योर भ्वाइस …

‘रेज योर भ्वाइस’ अर्थात् मौनता नसाँध, आफ्ना आवाज उठाऊ, तपार्ईंँले उठाएको आवाजले तपाईं स्वयम्लार्ई बदल्नेछ, तपाईंले उठाएका आवाजले समाज बदल्नेछ । तपाईंले उठाएको आवाजले सिङ्गै मुलुकलाई बदल्नेछ । त्यसैले लेखिदिनुहोला मेरो खुसी ‘रेज योर भ्वाइस’ ।

त्यसो त मलाई यो अभियानमा जोडिन मेरो असफलताले सिकाएको हो, जुन बेला बिजौरी स्कुलमा म कक्षा १ मा फेल भएको थिएँ । त्यही फेल मेरो पहिलो फेल थियो । त्यसपछि मलाई कहिल्यै फेल हुनु परेन । परीक्षामा असफल हुनु पनि त एउटा खुसी हुँदोरहेछ । जसले मलाई अध्ययनमा सधैँ बाटो खुल्ला गरिदिएको छ । त्यही फेल भएकै परिणाम हो, ‘रेज योर भ्वाइस’ ।

अर्थात् अहिले उनी ‘रेज योर भ्वाइस’ (आवाज उठाऊ)का संयोजक छन् । यो एउटा लुज फोरम हो, जुनसुकै व्यक्ति यसमा जोडिन सक्छन् । किनकि हाम्रो अभियानको मुख्य उद्देश्य भनेको सामाजिक विकृति, विसङ्गति र भ्रष्टाचारका विरुद्ध आवाज उठाउनु हो । हामीले यो अभियान सबैभन्दा पहिले त विद्यार्थीबाट सुरु गरेका छौँ । किनकि विद्यार्थी बोल्नुको अर्थ नै फरक हुन्छ ।

विद्यार्थीले बुझ्नुकै अर्थ बेग्लै हुन्छ । यी सबैखाले विकृति सहनु पनि अपराध सरह हो भनेर मेरो संयोजकत्वमा यो अभियान चल्दैछ । यसलाई एउटा लुज फोरम भन्न सक्छौँ । यसमा जुनसुकै उमेर समूह, जुनसुकै विचार वा आस्था र जुनसुकै लिङ्गका नागरिक समेटिन सक्छन् ।

त्यसैले मैले मेरो खुसीलाई विकृतिको विरुद्धको अभियानसँग जोडेको छु । किनकि अहिले हाम्रो समाजमा विकृति, विसङ्गति र कुशासन व्यापक बन्दै गएका छन् । कारण सहिदिनेहरू धेरै छन् । त्यसैले आवाज उठाउनुपर्छ, आवाज उठाए अवश्य नतिजा निस्कन्छ भन्ने मेरो मान्यता हो । यही अभियान अन्तर्गत हामीले मावि सेन्टर तुलसीपुरका विद्यार्थीलाई विद्यालय बाहिर ल्याएर सामाजिक विकृतिविरुद्ध अभियानमा जोडिन आग्रह ग¥यौँ । हामीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर किन माथि उठ्न सकेन ?

हाम्रा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले किन वर्षभरि पढेर पनि कक्षा उत्तीर्ण गर्न र शैक्षिक गुणस्तर माथि उकास्न सक्दैनन् ? कमजोरी कहाँ छ ? बदमासी कहाँबाट भइरहेको छ ? यावत प्रश्नहरूको जवाफ हामीले यो अभियानमार्फत् खोजिरहने छौँ । त्यस पछिको हाम्रो अर्को अभियान जनकल्याण मावि दुधरास र बेलझुण्डीका विद्यार्थीलाई दुधरास चोकमा भेला गराएर सम्पन्न ग¥यौँ । यो कार्यक्रम अभिभावक सचेतनासँग पनि जोडिएको थियो ।

अभिभावकलाई पनि आफ्नो विद्यार्थी हरेक दिन स्कुलबाट फर्केर के सिकेर आएको छ ? भन्ने जान्ने अधिकार छ । उरहरी चोक, सक्राम चोक र खाद्रे चोकमा पनि यस्तै कार्यक्रम हामीले सम्पन्न गरिसकेका छौँ । अब हामी हरेक खाले विकृति र विसङ्गतिविरुद्ध बोल्न सक्नुपर्छ । अन्यथा हामी सधैँ हेपिने र अवस्था नफेरिने अवस्था रहिरहनेछ भन्ने हाम्रो अभियानको निष्कर्ष हो ।

सरकारले सामुदायिक विद्यालयको शिक्षामा बर्सेनि अर्बौं रकम खर्च गरिरहेको छ तर यो बालुवामा पानी खन्याए जस्तै भएको छ । यसको समीक्षा नबोली कसरी हुन्छ ? त्यसैले हरेकले आवाज उठाउँदै गयौँ भने हाम्रो सामुदायिक शिक्षामा भएको लगानीले प्रतिफल दिनेछ । किनकि सामुदायिक विद्यालयमा पढाउने शिक्षकको पनि शैक्षिक गुणस्तरका विषयमा धेरै शङ्का गर्नु पर्नेछैन । किनकि उनीहरू त बोर्डिङमा जसरी सहजै भर्ना भएका होइनन्, शिक्षक सेवा आयोग उत्तीर्ण गरेर आएका हुन् ।

त्यसैले फेरि पनि लेखिदिन अनुरोध गर्दछु, मेरो खुसी ‘रेज योर भ्वाइस …’ । म अहिले आदर्श बिजौरी टोल विकास संस्थाको अध्यक्षको जिम्मेवारीमा पनि छु । अहिले यो अभियान जिल्लामा मात्र सीमित छ तर यसलाई हामीले अन्यत्र वृद्धि गर्नेछौँ । मलाई आशा छ, यो अभियान देशभरि चल्नेछ । सायद यो अभियानलाई हामी काठमाडौंको माइतीघर मण्डेलासम्म पु¥याउने छौँ ।

दुःख सम्झन सजिलो हुन्छ तर खुसी सम्झन गाह्रो हुँदोरहेछ । तैपनि मेरो खुसीलाई यो अभियानकै सुरुआतकै दिन हो । जुन अभियानमा म २०८१ साल फागुन १२ गते पार्टीमा राजीनामा दिएर अभियानमा जोडिएको थिएँ । यो अभियानमा मलाई साथ दिने मेरो परिवारसँग जोडिएको कुरा हो । साथीहरू पनि छन् । सबैको नाम अहिले नखुलाऔँ । किनकि हामी यो यात्रा शून्य माइलबाट सुरु गरेका छौँ ।

हामीले यसलाई हजारौँ माइल पार गराउनु छ । जब म पार्टी राजनीति त्यागेर यो अभियानमा जोडिएँ, मेरो सबैभन्दा खुसीकै क्षण त्यही हो । जुन अभियानको खुसीमा मैले विचार बाँडेँ, असल बन्नका लागि । माथि उल्लिखित खुसीका अभिव्यक्ति हुन् तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा जन्मिएका विद्यार्थी अभियन्ता सर्जन परियारका । जन्मथलो बिजौरी अनि कर्मथलो कर्मले डो¥याउँदै लैजानेछ ।

२०४९ चैत २६ गते तुलसीपुर–१८ बिजौरीमा जन्मिएका सर्जनले प्राथमिक शिक्षा जनता संस्कृत मावि बिजौरीमा सुरु गरी कक्षा १० पनि त्यहीँबाट उत्तीर्ण गरे । त्यसपछि जनता क्याम्पस बिजौरीबाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरे । बिएस्सी महेन्द्र बहुमुखी क्याम्पस घोराही । एमएस्सी फिजिक्स वीरेन्द्र मल्टिपल क्याम्पस चितवनबाट ।

त्यसो त उनको विद्यार्थी नेताको राम्रो छवि छ । विद्यार्थी राजनीति सुरु २०७१ सालदेखि जनता क्याम्पसबाटै सुरु गरे, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट । जनता क्याम्पसको अनेरास्ववियुको एकाइ सभापति । महेन्द्र क्याम्पसमा पढ्ने बेला अनेरास्ववियुको क्षेत्रीय अध्यक्ष । अनेरास्ववियुको दाङको सहसंयोजक, संयोजक हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्य बने, २०७९ सालमा ।
त्यसपछि विद्यार्थी संगठनको राजनीतिबाट राजीनामा । त्यसपछि एमाले पार्टी सदस्यताबाट पनि राजीनामा दिएर उनले यो अभियानलाई रोजे । सायद उनी यही अभियानबाट समाज रूपान्तरण गर्न चाहन्छन् । अहिलेका पार्टीहरूको जरा हल्लाउने यो हाम्रो अभियान हो, जुन शिक्षाको समानतासँग जोडिएको छ ।

मलाई लाग्छ हामी यो अभियानमा शतप्रतिशत सफल हुनेछौँ । जीवनमा मर्ने बेलामा पनि ‘धत यार ! के राजनीति गरिएछ’ भन्ने नपरोस भनेर मैले यो अभियानलाई रोजेको हुँ । किन जागिर खानुभएन ? फिजिक्स विषयमा एमएस्सी गरेको व्यक्ति ? सर्जन भन्छन् । मलाई जागिर खाने मोहै भएन । यद्यपि पढाइमा भने मोह मरेको छैन । किन पढेँ र अझै पढ्ने चाहना छ । पढेको मान्छेका कुरा समाजले सुन्छ भनेर मैले पढाइलाई निरन्तरता दिइरहेको छु ।

बुबाले पनि मलाई ‘पढेपछि मात्र तेरो कुरा समाजले सुन्छ र पत्याउँछ’ भनेपछि मैले पढाइलाई निरन्तरता दिन थप ऊर्जा मिल्यो, मलाई । सायद अब म विद्यावारिधिको तयारी गर्छु होला तर जागिर खानका लागि होइन । मेरो खुसी विज्ञान पनि हो । किनकि विज्ञानले नै मलाई खारेको हो ।

प्रस्तुति : खेमराज रिजाल