टेकबहादुर पुन
देउखुरी, ३० पुस । राजपुर गाउँपालिका–२ पश्चिम गैराकी ४१ वर्षीया एकल महिला कैलाशपती चौधरीको परिवारका लागि नयाँ पक्की घर निर्माण भई गृहप्रवेश गरेकी छिन् । ग्रामीण महिला उत्थान केन्द्र दाङको आर्थिक सहयोग तथा राजपुर गाउँपालिकाको सहकार्यमा एकल तथा अतिविपन्न महिलाका लागि सुरक्षित आवास निर्माण भएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङबाट चार लाख २५ हजार र राजपुर गाउँपालिकाबाट एक लाख ५० हजार रुपैयाँको लागतमा उक्त घर निर्माण गरिएको हो । संयुक्त लगानीमा दुईकोठा र बाथरूमसहितको पक्की घर निर्माण भएपछि चौधरी परिवारले लामो समयपछि सुरक्षित बसोबासको अनुभूति गर्न पाएको बताएका छन् । पाँच वर्ष अघि श्रीमान्को पानीमा डुबेर मृत्यु भएपछि कैलाशपतीको जीवन सङ्घर्षपूर्ण बनेको थियो ।
श्रीमान् गुमाएपछि दुई सन्तानको सम्पूर्ण जिम्मेवारी र घर चलाउन उनले अरूको घरघरमा मजदुरी गर्नु परेको थियो । आर्थिक अभावका कारण पुरानो कच्ची घर मर्मत गर्न नसक्दा वर्षातको समयमा घर डुबानमा पर्ने र बस्नै नसक्ने अवस्था थियो । ‘धेरै रात भोकै बिते, पानी चुहिने घरमा बच्चा अँगालो हालेर बस्नुपथ्र्यो’, गृहप्रवेश कार्यक्रममा भावुक हुँदै उनले भनिन्, ‘आज आफ्नै पक्की घरमा छिर्दा सपना जस्तै लागेको छ ।’
उनका छोरा आशिक १३ वर्षका भइ कक्षा ७ मा अध्ययनरत छन् भने ११ वर्षीया छोरी अनिशा चौधरी कक्षा ७ मै अध्ययनरत छन् । सुरक्षित घर पाएसँगै बालबालिकाको पढाइ र भविष्यप्रति परिवारमा नयाँ आशा जागेको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङका अनुसार यस वर्ष राजपुर गाउँपालिकामा अतिविपन्न तथा दुःखी तीन परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । यस अघि वडा नम्बर ६ की दुर्गा चौधरी र वडा नं. १ की निर्मला चौधरीको परिवारलाई घर हस्तान्तरण गरिएको थियो । संस्थाले एकल महिला, अतिविपन्न तथा जोखिममा रहेका परिवारलाई लक्षित गर्दै सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको प्रमुख आतिथ्यता, उपाध्यक्ष धनपतीदेवी यादव र प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगी विशिष्ट आतिथ्यतामा घर हस्तान्तरण तथा गृहप्रवेश कार्यक्रम भएको थियो । प्रमुख अतिथि अध्यक्ष बुढाथोकीले स्थानीय सरकार एकल महिला र विपन्न परिवारको पक्षमा निरन्तर सहकार्य गर्न तयार रहेको बताए ।
उपाध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत डाँगीले सामाजिक संघसंस्थाको सहकार्यमा गरिएका यस्ता पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले एकल महिला र विपन्न परिवारका पीडा उजागर गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने बताए । वडा नं. २ का वडाध्यक्ष ओमप्रकाश यादवले स्थानीय तहबाट आवश्यक सहयोग र सहजीकरण निरन्तर रहने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण संयोजक पार्वती बस्नेतले गरेकी थिइन् ।