गोरक्ष समाचारदाता
देउखुरी, ३० पुस । स्वरोजगार, आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्धन भन्ने मुख्य नाराका साथ लमहीमा कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ । लमही नगरपालिका–५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिन पार्कमा माघ ७ गतेदेखि महोत्सव सञ्चालन हुने भएको हो ।
लमहीमा आयोजित पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्श लमहीका अध्यक्ष किरणकुमार बुढाथोकीले महोत्सवको औपचारिक जानकारी दिएका हुन् । उनका अनुसार कृषि, पर्यटन, उद्योग तथा व्यापारिक क्षेत्रको विकास र विस्तारलाई टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण र उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महोत्सवले सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ ।
चेम्बर अफ कमर्श लमहीले दिएको जानकारी अनुसार महोत्सवमा कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, स्थानीय उत्पादन, पर्यटनसम्बन्धी सामग्री तथा सेवाको प्रदर्शन गरिनेछ । विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी, कला, साहित्य प्रदर्शनी, लोकसंस्कृतिमा आधारित नृत्य तथा सङ्गीत प्रस्तुतिका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिनेछ । महोत्सवमा करिब दुई सयमध्ये ५० वटा स्टल कृषि क्षेत्रसँग सम्बन्धित रहनेछन् ।
अध्यक्ष बुढाथोकीका अनुसार महोत्सवमा प्रवेश शुल्क सामान्य दर्शकका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि कार्डका आधारमा ८० रुपैयाँ तोकिएको छ । यसैगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । स्थानीय सुरक्षा समिति तथा सरोकारवाला निकायसँगको समन्वयमा महोत्सवलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सञ्चालन गरिने चेम्बर अफ कमर्स लमहीका बरिष्ठ सल्लाहकार किसन भट्टराईले बताए ।