कर्मचारी बहुउद्देश्यीय सहकारीको साधारणसभा

गोरक्ष समाचारदाता
दाङ, ३० पुस । कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोराही, दाङको १७ औँ साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सरस्वती रेग्मीको अध्यक्षता तथा नेपाल निवृत्त राष्ट्रसेवक समाज, प्रधान कार्यालयका अध्यक्ष चतुरमान डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संस्थाका सचिवले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा संस्थाका ज्येष्ठ सदस्य वेदुराम भण्डारी र चीजमानी थरूनीलाई सम्मान गरिएको थियो भने संस्थाको असल ऋणीका रूपमा प्रेमबहादुर जर्घा मगरलाई खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रम बोल्ने वक्ताहरूले सहकारीलाई भरिलो, दिगो र क्रियाशील बनाउन सबै शेयर सदस्यहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

अधिवेशनबाट केशव ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा राधा भट्टराई, सचिवमा दीर्घराज गौतम, कोषाध्यक्षमा घनश्याम धिताल तथा सदस्यमा गोपालप्रसाद भुसाल, मुक्तिराम भट्टराई, डण्डीराम विक, कुमारी पार्वती राना र सरस्वती गिरी रहेका छन् ।

यसैगरी तीन सदस्यीय ऋण समितिको संयोजकमा पदमप्रसाद रेग्मी तथा सदस्यमा गीता आचार्य र बलदेव बस्नेत रहेका छन् । निर्वाचन समितिमा श्रीधर अधिकारी निर्वाचन अधिकृत तथा शरद घिमिरे र माधव देवकोटा सदस्य रहेका थिए । निर्वाचन अधिकृत अधिकारीले संस्थाको विधान अनुसार नवनिर्वाचित पदाधिकारीलाई पदीय शपथ गराएका थिए । संस्थाका उपाध्यक्ष केशवराज ढकालको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दीर्घराज गौतमले गरेका थिए ।