calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

४० माइक्रोनभन्दा कमको प्लास्टिक प्रयोगमा निषेध हुन सकेन

अमरराज आचार्य
दाङ, २७ पुस । घोराही उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा निषेध गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । अहिले पनि बजारमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोग भइरहेका छन् भने उपमहानगरपालिकाले त्यसको अनुगमन तथा कारबाही गर्न नसकेको अवस्था छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को सुरुदेखि नै ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा निषेध गर्ने बताएको थियो । निषेध गर्नुभन्दा पहिले सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको उपमहानगरपालिकाले जानकारी दिएको छ । प्लास्टिक तथा प्लास्टिकका सामग्री सरकारले तोकेको मापदण्ड अनुसार कार्यान्वन गर्न लागिपरेको घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख मदन वलीले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्न २०७२ सालको वैशाख १ गतेदेखि लागू हुने गरी उक्त नियम बनाएको थियो । ‘हामी सरकारले लागु गरेको मापदण्डलाई कार्यान्वयन गराउन लागि परेका हौँ’, शाखा प्रमुख वलीले भने । साउनदेखि घोराही उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा निषेध गर्ने भने तापनि त्यसको कार्यान्वन भने भएको देखिएको छैन ।

उपमहानगरपालिकाले साउनसम्म समयावधि तोकेर प्लास्टिकजन्य प्रयोगको व्यवस्थापन गर्न व्यवसायीलाई निर्देशन दिएको शाखा प्रमुख वलीले बताए । ‘साउनसम्मको समयावधि दिएर व्यवसायीलाई ४० माइक्रोनभन्दा पातोलो प्लास्टिक प्रयोग गरे कारबाही गरिने भनिएको थियो तर अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन’, शाखा प्रमुख वलीले भने । देशको पछिल्लो अवस्थाले पनि यसमा प्रभाव परेको उनको भनाइ छ ।

प्लास्टिकजन्य प्रयोगको नगरपालिकाले अब निरन्तर अनुगमन गर्ने र कारबाही अगाडि बढाइने शाखा प्रमुख वलीले बताए । उनका अनुसार छिट्टै समितीको बैठक बसेर प्लास्टिकजन्य प्रयोगलाई कार्यान्वनमा लगिनेछ । घोराही उपमहानगरपालिका उपप्रमुखको नेतृत्वमा बजार अनुगन समिति गठन गरिएको छ । प्लास्टिकको माइक्रोन परीक्षणका लागि मेसिनसमेत उपमहानगरपालिकाले गरिेसकेको छ । बजारमा प्रयोगमा ल्याइएका प्लास्टिक परीक्षण गर्दा मापदण्डविपरीत भएको पाइए कारबाही गरिने शाखा प्रमुख वलीले बताए ।

सरकारको मापदण्डमा पर्ने पुनः प्रयोगमा आउने प्लास्टिकका सामग्री प्रयोग गर्न भने पाइने उनले बताए । प्लास्टिकले वातावरण तथा मानिसको स्वास्थ्यमा प्रभाव पार्ने भएकाले ४० माइक्रोनभन्दा कमको प्लास्टिकको प्रयोगमा रोक लगाउने सरकारले निर्णय गरेको हो । अहिले प्लास्टिकले वातावरण, मानिसको स्वास्थ्यसँगै खेतीकिसानी गर्ने कृषकलाई समस्यामा पारेको छ । खेतीयोग्य जमिनको माटोमा प्लास्टिक मिसिँदा खेती गर्न समस्या भएको किसान बताउँछन् ।

प्लास्टिक निषेध गर्नुभन्दा पहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउँदै विपद् व्यवस्थापन शाखा प्रमुख वलीले बजार अनुगमनका क्रममा ९८ माइक्रोनसम्मका प्लास्टिकका वस्तु प्रयोगमा ल्याएको पाइएको बताए । यसैगरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक पनि धेरै प्रयोग गरेको पाइएको थियो । सचेतनासँगै समय दिएर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक हटाउन भनिएको थियो ।

उपमहानगरपालिकाले १५ दिन सम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । घोराहीका विभिन्न स्थानमा तीन वटा टोली परिचालन गरेर प्लास्टिकजन्य प्रयोगबारे सचेतना दिइएको उनले बताए । नारायणपुर क्षेत्रमा नगर प्रहरीको नेतृत्वमा स्वयम्सेवक गरी पाँच जना, घोराही बजारमा नगर प्रहरीको नेतृत्वमा स्वयम्मसेवक गरी १० जना र रामपुर, गोग्ली बजार क्षेत्रमा नगर प्रहरीको नेतृत्वमा स्वयम्सेवक गरी पाँच जना गरिचालन गरिएको शाखा प्रमुख वलीले जानकारी दिए ।

यसरी २० जनालाई परिचालन गरेर मापदण्डविपरीत भएका प्लास्टिकको तथ्याङ्क सङ्कलन, व्यवसायीलाई सचेत बनाउने काम गरिएको उनको भनाइ छ । प्लास्टिकको झोला नकुहिने प्रकृतिको हुँदा हाम्रो वातावरणमा लामो समय रहिरहन्छ ।