नकारात्मक सोच हटाउन संघसंस्थाको महत्वपूर्ण भूमिका
गोरक्ष समाचारदाता
दाङ, २७ पुस । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नकारात्मक सोचलाई परिवर्तन गर्न सामाजिक संघसंस्थाले भूमिका खेल्नुपर्ने बताएका छन् । पछिल्लो समयमा समाजमा नकारात्मक प्रभाव बढ्दै गएको उनको भनाइ रहेको छ । अप्टिमिस्ट क्लब अफ घोराहीको चौथो पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘समाजमा रहेको समस्यालाई पहिचान गरी समस्याको समाधान गर्न सामाजिक संघसंस्थाहरू लाग्नुपर्छ’, उनले भने, ‘नैराश्यताबाट समाजलाई जोगाउनुपर्छ ।’ अप्टिमिस्ट क्लबले समाजमा सकारात्मक सोचको विकास गराउन नेतृत्व लिन उनले आग्रह गरे । ‘समाजले अनुभूति हुने गरी वातावरण सिर्जना गर्न आवश्यक छ’, उनले भने । पछिल्लो समयमा धेरै नागरिकमा नैराश्यता बढ्दै जाँदा डिप्रसेनको सिकार हुन थालेको बताउँदै पोख्रेलले यस्तो अवस्थाले समाजमा समस्या ल्याउने भएकाले यसको समाधान गर्न सबैको सहकार्य आवश्यक पर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले युवाहरूलाई सकारात्मक सोचका साथ उद्यमशीलतामा जोड्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले समाजलाई स्वस्थ र स्वच्छ राख्न सोचमा परिर्वतन ल्याउन आवश्यक रहेको बताए । क्लबका संस्थापक अध्यक्ष निशान्त आचार्यले सामाजिक कार्य गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको बताए ।
क्वबका अध्यक्ष निरञ्जन गहतराजको अध्यक्षतामा भएको कार्यक्रममा लेफ्टिनेन गभर्नर मानबहादुर बस्नेत, ब्रह्मकुमारी विश्वविद्यालयका अञ्जना खड्का, तुलसीपुर अप्टिमिस्ट क्लबका नवल डिसी, त्रिभुवनगर जेसीजका अध्यक्ष मिनराज भाट, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कैलाश रोका मगरलगायतले भनाइ राखेका थिए । कोषाध्यक्ष वशन्त जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमलाल न्यौपानेले गरेका थिए ।
नया नेतृत्व चयन
क्लबको अध्यक्षमा प्रदीपसिंह गहतराज चयन भएका छन् । जसको डाइरेक्टरमा ज्ञानेन्द्र नापित, कोषाध्यक्षमा प्रेमलाल न्यौपाने, सचिवमा प्रवेश भण्डारी प्रेसिडेन्ट इलेक्ट वसन्त जिएम रहेको निर्वाचन अधिकृत तेजविक्रम रावतले जानकारी दिए ।
