calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

साम्प्रदायिक सद्भावका लागि प्रशासनको आग्रह

गोरक्ष समाचारदाता
दाङ, २७ पुस । केही दिन अघि छिमेकी बङ्गलादेशमा घटेको धार्मिक÷साम्प्रदायिक घटना र परिघटनाका कारण नेपालको तराईको विशेष गरी पर्सा जिल्लामा केही साम्प्रदायिक सद्भाव खल्बलिएको घटना नेपाल सरकार गृह मन्त्रालयले मातहतका सबै जिल्ला प्रशासन कार्यालयलाई साम्प्रदायिक सद्भाव एवम् सहिष्णुता कायम राख्न परिपत्र गरेसँगै जिल्ला प्रशासन दाङले पनि शुक्रवार यो विषयमा सरोकारवाला निकायसँग छलफल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको विशेष उपस्थितिमा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, विभिन्न धार्मिक सम्प्रदायका नेतृत्व एवम् प्रतिनिधि, प्रमुख राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, च्याम्बसर अफ कमर्श, नेपाल पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा जिल्लामा जातीय, धार्मिक, सांस्कृतिक एवम् साम्प्रदायिक एकता कायम गर्न र सामाजिक सद्भाव कायम राख्ने विषयमा सहमति भएको छ ।

यस अघिका साम्प्रदायिक घटनामा केही वाछिटाहरू दाङमा पनि देखिएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले केन्द्रको निर्देशन बमोजिम सरोकारवाला निकायसँग यो विषयमा छलफल गर्न आवश्यक रहेको जनाएको छ । सर्वदलिय÷सर्वपक्षीय छलफल कार्यक्रममा जिल्लामा धार्मिक सहिष्णुता एवम् सद्भाव कायम गर्दै शान्ति प्रवर्धन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

समितिका सदस्यहरूमा जिल्ला सुरक्षा समितितका प्रतिनिधिहरू, जिल्लास्थित प्रमुख राजनीतिक दलका अध्यक्ष एवम् प्रतिनिधिहरू, नागरिक समाज दाङका संयोजक एवम् प्रतिनिधि, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुखले तोकेको प्रतिनिधि, दाङ च्याम्बर अफ कमर्शका प्रतिनिधि, नेपाल पत्रकार महासंघ दाङका प्रतिनिधि, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष, विश्वहिन्दु महासंघ दाङका अध्यक्ष एवम् प्रतिनिधि, प्याब्सन दाङका अध्यक्ष एवम् प्रतिनिधि, एनप्याब्सन दाङका अध्यक्ष एवम् प्रतिनिधिहरू, दमारगाउँ चर्चका अध्यक्ष एवम् प्रतिनिधि, नेपाल मुस्लिम संघ दाङका अध्यक्ष एवम् प्रतिनिधिलगायत रहने छन् ।

यसैगरी बैठकमा जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको वातावरण कायम राख्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ । यसैगरी समाजमा धार्मिक एवम् सामाजिक विद्वेष फैलाउन सक्ने तत्वको पहिचान गरी त्यस्ता आवान्छित गतिविधि भएको पाइएमा सबै मिलेर निस्तेज गर्ने र त्यस्ता गतिविधि हुन नदिनसमेत सबै सचेत र जागरुक हुने निर्णयमा उल्लेख छ ।

यसैगरी नियमित कार्यक्रमबाहेक सामाजिक, धार्मिक, राजनीतिक कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनलाई पूर्व जानकारी गराउने र अनुमति लिने तथा जिल्लास्थित सुरक्षा निकायले सम्भावित संवेदनशील स्थानमा सुरक्षा मजबुत गराउने, सामाजिक सद्भाव खलल् पु¥याउने तथा हिंसा फैलाउने वा अफवाह फैलाउने व्यक्तिमाथि विद्यमान कानुन अनुसार आवश्यक कारबाही गर्ने र त्यस्ता कार्यका लागि सबैले सहयोग गर्ने निर्णय बैठकमा भएको छ ।

स्थानीय अगुवा, सामाजिक संघसंस्था, विद्यालय, महिला समूह, युवा क्लब, सहकारी संस्थालगायतले विवादको समुदायबिच सेतुको काम गर्न र सामाजिक सद्भाव कायम राख्न संवेदनशील भई क्रियाशील हुने बैठकमा निर्णय भएको छ । यसैगरी समाजमा जनचेतना फैलाउने, सत्य, तथ्य र सन्तुलित समाचार प्रकाशन, सद्भाव र सहिष्णुताको सन्देश फैलाउने कार्य सञ्चारकर्मीले गर्ने, सबैले आआफ्नो कार्यक्षेत्रभित्र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गरी शान्ति प्रवर्धन गर्न स्थानीय तहमा सामाजिक सद्भाव समिति गठन गरी जिल्ला समितिलाई जानकारी गराउने, दैनिक पूजापाठ, सत्संघ, प्रवचन तथा प्रार्थनाका कार्यक्रमहरू गर्दा सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता र शान्ति प्रवर्धन गर्न टेवा पुग्ने गरी कार्यक्रम व्यवस्थापन गर्न धार्मिक÷जातीय अगुवा तथा अन्य संघसंस्थालाई अनुरोध गर्ने निर्णय बैठकमा गरिएको छ ।

सर्वदलीय÷सर्वपक्षीय बैठकमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, नेपाली कांग्रेसका प्रतिनिधि प्रकाश सुवेदी, नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टीका विश्वराज आचार्य, जनमोर्चा नेपालका गणेश आचार्य, उद्योग वाणिज्य संघ दाङ, च्याम्वर अफ कमर्श दाङ, मुस्लिम समाज दाङ, दमारगाउँ चर्च, विश्वहिन्दु महासंघ दाङ, प्याब्सन तथा एनप्याब्सनका जिल्ला अध्यक्षलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।