थारू समुदायमा माघ खुसियाली

प्रियास्मृति गजमेर
दाङ,२७ पुस । माघ महिनालाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्छन् । माघको पूर्वसन्धयमा अहिले थारू बस्तीमा माघको उमङ्ग छाएको छ । सहर पसेकाहरू गाउँ फिर्दैछन् भने काठदाउरा अनि दुनाटपरीको जोहोमा सिङ्गो बस्ती जुटेको छ । यति मात्र होइन, अहिले माघ महोत्सवको रूपमा उत्सव सुरु भएका छन् ।

विवाह संस्कारसँग जोडिएको डोली बोकेर झाँकी मात्रै निकालिएन, थारू समुदायको लोकसंस्कृतिसँग जोडिएका नृत्यसमेत प्रस्तुत गरिएको थियो भने माघ महिनामा गाइने धुम्रुसमेत गाइएको थियो । शनिवार लमहीको सार्वजनिक बगैँचा थारू कला, संस्कृति, परम्पराले गुञ्जयमान बन्यो । विभिन्न बस्तीबाट आएका झाँकी प्रस्तुतिले माघ भित्रिएको सङ्केत मात्रै गरेन थारू समुदायलाई आफ्नो परम्पराप्रति गौरवान्वित बनाएको छ ।

‘माघ हाम्रो संस्कार हो । हाम्रो परम्परा हो । हाम्रो नयाँ वर्ष हो’, थारू कल्याणकारिणी सभा लमहीका अध्यक्ष शिवप्रसाद चौधरीले भने, ‘हाम्रो परम्परा जोगाइराख्न आवश्यक छ । नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण आवश्यक छ ।’ थारू कल्याणकारिणी सभा लमहीले माघ सांस्कृतिक महोत्सव–२०८२ को आयोजना गरेको हो । नगर अध्यक्ष शिवप्रसादको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले थारू समुदाय कला, संस्कृति तथा सम्पदामा धनी भएको बताए ।

नगर प्रमुखलाई नागरिक अभिनन्दन

थारू कल्याणकारिणी सभा लमहीले लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीलाई नागरिक अभिनन्दन गरेको छ । स्थानीय सरकारको तर्फबाट बडघर ऐन निर्माण गरेर कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै नगर प्रमुखलाई नागरिक अभिनन्दन गरिएको हो । यसैगरी बडघर ऐन निर्माणमा योगदान पु¥याएको भन्दै समाजसेवी हल्लुप्रसाद चौधरीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा थारू समुदायबाट नेपाल सरकारको सुरक्षा निकायको उच्च ओहदामा पुगेको र राष्ट्र सेवामा तल्लीन भएको भन्दै प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी सारदाप्रसाद चौधरी, जेन–जी आन्दोलनको क्रममा प्रदेश संरचनाको सुरक्षामा महत्वपूर्ण समन्वय गरेर जोगाउन सफल भएको भन्दै प्रहरी निरीक्षक गीताप्रसाद चौधरी, लमही क्षेत्रको शान्ति सुरक्षामा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेलाई सम्मान गरिएको छ ।