calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

‘दाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागौँ’

घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी सुरु
गोरक्ष समाचारदाता
दाङ, २६ पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै कला, संस्कृति र भेषभूषालाई व्यवसायसँग जोड्नुपर्ने बताएका छन् ।

घोराहीमा शुक्रवार सुरु भएको दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन गर्दै मन्त्री न्यौपानेले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र वन्यजन्तुको स्वर्ग बर्दिया राष्ट्रिय निकुञ्जबिच अवस्थित दाङलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न यहाँको कला, संस्कृति, भेषभूषा र विशेष खानपानलाई व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

भौगोलिक अवस्था र सांस्कृतिक विविधताले प्रदेशको केन्द्रमा रहेको दाङको महत्व औल्याउँदै मन्त्री न्यौपानेले भने, ‘लुम्बिनीबाट बर्दिया जाने पर्यटकलाई दाङमा रोक्न सके यहाँको अर्थतन्त्रमा ठुलो योगदान पुग्नेछ । त्यसका लागि दाङमा के निर्माण गर्न सकिन्छ, ठोस योजना बनाऔँ र त्यस अनुसार सरकारी तथा निजी क्षेत्रबाट लगानी गरौँ ।’ सांस्कृतिक विविधतासँगै दाङमा साहसिक पर्यटन विकासको राम्रो सम्भावना रहेको मन्त्री न्यौपानेले बताए ।

घोराहीको सवारीकोट र राप्तीको देवीकोटबाट प्याराग्लाइडिङ तथा राप्ती नदीमा ¥याफ्टिङको सम्भावना रहेको भन्दै मन्त्री न्यौपानेले यी गतिविधिले दाङलाई साहसिक पर्यटनसँग जोड सहयोग गर्ने बताए । त्यसका लागि लगानीको वातावरण सबैले मिलेर बनाउनुपर्ने मन्त्री न्यौपानेको भनाइ थियो । मन्त्री न्यौपानेले कला, संस्कृति र परम्परालाई व्यवसायसँग जोडेर आयआर्जन गर्नु पर्नेमा जोड दिए ।

मगर समुदायसँगै दाङमा बसोबास गर्ने विभिन्न जातजातिको समृद्ध सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके संरक्षणसँगै रोजगारी र आम्दानीको स्रोत बन्ने उनको भनाई थियो । उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन विकासका लागि धार्मिक मठमन्दिरको संरक्षण र पूर्वाधार निर्माणमा लगानी गरिरहेको भन्दै लगानी गरेको रकमलाई सदुपयोग गर्न नागरिक जुट्नुपर्ने बताए । कला, संस्कृति र भेषभूषा पुरानो पुस्ताबाट नयाँ पुस्तामा पुस्तान्तरण नभएर कतिपय समुदायको पहिचान नै लोप हुने अवस्थामा पुगेको भन्दै कला, संस्कृति पुस्तान्तरणमा ध्यान दिनुपर्ने समेत बताए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दरजित रोका मगरले माघे मेलाले मगर समुदायको कला, संस्कृति र भेषभूषाबारे जानकारी दिने तथा समुदायबिच एकता सुदृढ गर्न मद्दत गर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि रहेका रोकाले मगर समुदायसँगै जनजाति समुदायको ठुलो पर्व रहेको माघ पर्वलगायत कला, संस्कृति र भेषभूषाले सबैलाई जोड्ने भएकाले मेलामा अवलोकन गर्न आग्रह गरेका थिए ।

नेपाल मगर संघ घोराहीका अध्यक्ष वेदबहादुर बुढाको अध्यक्षतामा भएको मेलाको उद्घाटन कार्यक्रममा बोल्ने अन्य वक्ताले सांस्कृतिक मेलाले स्थानीय मौलिकता जोगाउँदै आर्थिक गतिविधि बढाउनुका साथै कला, संस्कृति र भेषभूषा संरक्षणमा सहयोग गर्ने बताए । साथै मेलाले मगर समुदायको कला, संस्कृति, भेषभूषाको संरक्षणसँगै पर्यटनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले माघी पर्व जनजाति समुदायको ठुलो पर्व भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । मेलाको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपाका नेता विश्वराज आचार्य, घोराही–१४ का वडाध्यक्ष भानसिंह बुढा, नेपाल मगर संघका सल्लाहकार पूर्णबहादुर बुढा मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल मगर संघका उपाध्यक्ष गणेशप्रताप बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्चार संयोजक कैलाश घर्ती र प्रकाश पुनले गरेका थिए । मेला सुरु हुनुपूर्व कला, संस्कृतिसहितको ¥याली निकालिएको थियो । नेपाल मगर संघ घोराही कार्यसमितिको आयोजना तथा नेपाल मगर संघ दाङ र घोराही उपमहानगरपालिकाको संरक्षणमा सुरु भएको मेलामा मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवर्धनसँग सम्बन्धित सामग्रीसँगै आइफेल टावर, जलपरी र लन्डन ब्रिजलगायत बालउद्यानका सामग्री रहेका छन् ।

मेलामा प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ तोकिएको छ भने क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।