calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

एकल रचना वाचनमा गुन्जिइन् स्मृति

गोरक्ष समाचारदाता
दाङ, २६ पुस । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् । परिषद्ले शुक्रवार आयोजना गनरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमार्फत् आफ्ना अनुभूति र समाजप्रतिको दृष्टिकोण श्रोता माझ प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा वाचन गरिएका रचनामा माया–प्रेमका सूक्ष्म भाव, व्यक्तिगत भोगाइ, समाजको यथार्थता र समसामयिक राजनीतिक परिवेशप्रति व्यङ्ग्य तथा वर्तमान सामाजिक परिवेश समेटिएका थिए । स्रष्टा योगीले संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै समाजभित्र विद्यमान विकृति, विसङ्गतिमाथि प्रश्न उठाएकी थिइन् ।

सरल शब्द चयन र गहिरो भाव समेटिएका उनका रचनाले उपस्थित श्रोताको ध्यान खिचेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्रष्टा योगीका रचनामा भएको बताए ।

साहित्यमा विशेषतः एउटा सानो कविताले सिङ्गो आख्यान नै बोकिरहेको बताउँदै प्रमुख अतिथि डा. गिरीले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष वा साङ्केतिक रूपमा योगीका रचनाले पनि बोकेको बताए । ‘साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्ने संवेदनशील पाठक पनि आवश्यक छ’, उनले भने ।

स्मृति योगीका रचनामा समाज, माटो र आत्मप्रतिको जिम्मेवारी स्पष्ट देखिएको उल्लेख गर्दै डा. गिरीले लेखनलाई निरन्तरता दिन आग्रह समेत गरे । राप्ती साहित्य परिषद् केन्द्रका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले योगीले वाचित रचनाहरूले समाजको यथार्थतासँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेकोमा खुसी व्यक्त गरे । उनले आफ्ना जीवनको भोगाइलाई साहित्यमार्फत् कलात्मक शैलीमा प्रस्तुत गर्न सके रचना अझ जीवन्त बन्ने धारणा राखेका थिए

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम केसीले गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ थियो ।

स्रष्टा योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारको धारणा रहेको थियो ।