calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

आफ्नो कल्याण आफैँ गर्नुपर्छ, मतलवका हुन् सारा दुनिया

एकराज शर्मा अधिकारी

मानिसलाई संसार ज्यादै प्यारो लाग्छ । मानिसले संसार छोड्न चाहँदैनन् । संसारले हामीलाई बाँधेको छैन । हामी नै संसारमा बाँधिएका छाँै । यो संसारमा ८४ लाख जीवहरु छन् ।

कुनै पसिनाबाट जन्मिएका, कुनैै अण्डाबाट जन्मिएका, कुनै छरेर जन्मेका, कुनै सालनाल बेरेर जन्मेका । यस्ता ८४ लाख जीवहरुमा मनुष्य सबैभन्दा श्रेष्ठ प्राणी हो । मनुष्य जन्म धेरै जन्मको पुण्यले पाइन्छ । मनुष्य जन्म पाएर जसले आफ्नो कल्याण गर्न सक्दैन, त्यो भन्दा दुःखी को होला ? मनुष्यको जन्म पाएर धन, सम्पत्तिको रक्षा गर्दै पवित्र कर्मको साधना गर्दै आत्माको खोजी गर्नुपर्छ । आत्माको रक्षा गर्नुपर्छ ।

आत्मा हाम्रो शरीरभित्र छ, आत्मालाई अज्ञानले ढाकेको छ । अज्ञान हटाए आत्माको अनुभव हुन्छ । शरीर जड हो, आत्मा चेतन हो । शरीर बार–बार पाउन सकिँदैन । सम्पत्ति पाउन सकिन्छ, त्यसैले बुद्धिमान मानिसले पहिले शरीरको रक्षा गर्नुपर्छ । कुष्ठरोगीले पनि शरीर त्याग गर्न इच्छा गर्दैनन् । शरीर प्राप्त गरिसकेपछि शरीरद्वारा धन कमाउनु पर्छ ।

धनबाट धर्म कमाउनु पर्छ । धर्मबाट ज्ञान मिल्छ, ज्ञानबाट मुक्ति मिल्छ । जबसम्म शरीरमा रोग लाग्दैन इन्द्रीयहरु कमजोर हुँदैनन् । जबसम्म इन्द्रीयहरु कमजोर हुँदैनन्, तबसम्म आफ्नो कल्याण हुने काम गर्नुपर्छ । घरमा आगो लागेपछि कुवा खनेर के काम ? संसारिक व्यवहारमा लागिरहने मानिसले आफ्नो कल्याण हुने कुरा जान्दैनन् ।

दैवी मायामा मोहित भएर मेरो छोरी, मेरो घर, मेरो छोरो, मेरो धन, मेरा बन्धुवान्धव भन्दा भन्दै मनुष्यलाई कालरुपी ब्वाँसोले मार्दछ । त्यसैले भोलि गर्ने काम आज गर्नु, आज गर्ने काम अहिले गर्नु, कालले कसैको प्रतिक्षा गर्दैन । मानिसको वृद्धावस्थाले बाटो देखाइरहेको छ । मानिसले देखेर पनि देख्दैन । मृत्युले बालक, युवा, वृद्ध कसैलाई पनि छोड्दैन । त्यति मात्र होइन । गर्भमा रहेको बालकलाई पनि छोड्दैन ।

संसारिक बन्धनमा परेर के काम ? दुःखको मुल हो संसार । त्यसैलाई हामीले समाएर राखेका छौँ । संसारका बस्ने सबै मानिस दुःखी छन् । जसले यो संसार, यो शरीर नाशवान हो भनी सम्झेर व्यवहार गर्छ, त्यो सुखी हुन्छ । संसारमा बाँधिनु हुँदैन । एकदिन संसार छोड्नु पर्छ । एकैचोटी नसके पनि सुस्त–सुस्त छोड्नु पर्छ । संसारलाई छोड्न सकिन्न भने सज्जनको संगत गर्नुपर्छ ।

हाम्रा दुईवटा आँखा छन्, सत्संग र विवेक । सज्जनको संगत पनि गरेको छैन । विवेक पनि गरेको छैन भने त्यो अन्धो हो । त्यो खराब बाटोतिर लाग्छ र बारम्बार जन्म मृत्युको चक्रमा पर्छ । मतलबका हुन् दुनिया । एकादेशमा एउटा भक्त थिए । उनले दान, धर्म, तीर्थ, व्रत गर्थे तर घर व्यवहारले आतिँदा रहेछन् । मन अशान्त भएको थाहा पाएर एकजना साधु कहाँ गए । साधु जि ?

मेरो मन किन अशान्त भएको छ ? शान्त हुने उपाय के छ बताइदिनुहोस् ? भने पछि साधुले भने हेर बाबु ! तिमीले घरपरिवारलाई धेरै माया गर्दा रहेछौँ । सबै मेरा हुन् भन्दा रहेछौँ । हेर बाबु ! राम्रोसँग मेरा कुरा सुन– जो तिमीले मेरा भनेका छौँ । ती तिम्रा होइनन् । हिजो पनि ती तिम्रा थिएनन्, भोलि पनि ती तिम्रा हुँदैनन् । संसार नाता, गोता मेरा हुन् भन्ने त कल्पना मात्र हो । सबै आफ्नो स्वार्थपूर्ति गर्नको लागि जम्मा भएका हुन् ।

बाबुआमाले छोराछोरीलाई माया गरेको आफ्नै स्वार्थपूर्तिका लागि हो । कसैले कसैलाई माया गर्दैन । सबै झुटा हो । त्यसैले घरमा बस्दासम्म तटस्थ भई व्यवहार गर्नुपर्छ । यही हो बुझ्नु पर्ने कुरा । साधुको कुरा सुनिसकेपछि भक्तले भने– हे प्रभु ! मेरा परिवारका सबै मानिसले मलाई धेरै माया गर्छन् । मेरी बुढी आमाले त झन एकछिन घरमा भएन भने कति दुःखी र चिन्तित हुन्छिन् ।

त्यस्तै मेरो श्रीमतीले पनि म बाहिर गएर एक घण्टा मात्र ढिलो गरे भने पनि छट्पटिन्छिन् । त्यस्तै मेरा छोराछोरीले पनि दुःख मान्छन् । मैले कसरी यिनलाई स्वार्थी, मतलबी हुन् भनेर भन्ने ? यति कुरा भनेपछि साधुले भने– अब तपाईलाई तपाई कै अगाडि कति माया गर्दा रहेछन् देखाइदिन्छु भनेर प्राण रोक्ने विधि बताइदिए ।

तपाईले भोलि बिहान दुई घण्टा प्राण रोकेको जस्तो गरेर बस्नु होला । म त्यहाँ आउने छु भनी साधु घर गए । भोलिपल्ट ती साधुले प्राणायाम गरी स्वास रोकेका ती भक्तलाई देखेर सबै रुन कराउन थाले । गाउँका मानिस पनि जम्मा भए । सबैले प्राण रोकेको देखेर के भयो ह भनेर सोध्न थाले । बुढी आमाले भनिन्– कालले मलाई लगेको भए राम्रो हुन्थ्यो ।

किन छोरालाई लगे होलान् । पत्नीले पनि यसै भन्न लागिन् । अब म कसरी बाच्ने होला । हे दैव अब के गर्ने होला भनेर रुवाबासी गर्न थाले । त्यो देखेर साधुले भने– हुने हुनामी भइहाल्छ नरुनुस् भनी सम्झाए । कुनै उपाय गरे यो मानिस बाच्न सक्छ, यदि तपाईहरु मध्ये कसैले आफ्नो आयु दिन सक्नु हुन्छ भने यो मानिस बाच्छ भन्ने कुरा गरेपछि साधुले भने– तपाई बुढी भइसक्नु भयो, तपाईको आयु दिनुहोस् ।

तपाईको छोरा बाच्छ भन्दा बुढी आमाले भनिन्– यी नाबालक केटाकेटीलाई कसले रक्षा गरिदेला मैले त दिन सक्दैन । श्रीमतीले पनि त्यस्तै भनिन्– मेरो उमेर छँदैछ, मैले पनि दिन सक्दैन । छोराहरुले भने– हाम्रो उमेर छ, हामीलाई खान लाउन रहर छ । हामी पनि दिन सक्दैनौँ । बरु चाडै दाजुभाइलाई जम्मा गरौँ, चाडै नदीमा लगेर दाह संस्कार गराँै भने । त्यसपछि ती प्राणायम गरेर बसेका भक्तको शीरमा साधुले हात राखे ।

उठ बाबु उठ तिमीले देखिहाल्यौँ तिमीलाई कति माया गर्दा रहेछन् । तिमीले थाहा पाइहाल्यौँ भनी ती भक्त साधुका पछि लागेर घर छोडेर गए । उनलाई वैराग्य प्राप्त भयो । त्यसैले सबैले बुझ्नु पर्छ । यो रहस्य बुझ्ने मानिसले संसारको बन्धनमा पर्दैन र पूर्ण आनन्द प्राप्त हुन्छ । त्यसैले आफ्नो कल्याण आफै गर्नुपर्छ ।