प्रेरणाको विन्दु : दुई ढुङ्गा
तुफानबाबु श्रेष्ठ
लामो र कठिन यात्रा तय गर्दै एउटा नदी पहाडको काखबाट बग्दै, भिर–पाखा काट्दै, खोँच र उपत्यका पार गर्दै अन्ततः तराईको समथर भू–भागमा आइपुगी । यात्राको क्रममा उसले हजारौँ वर्षको इतिहास बोकेका चट्टानहरू चिर्दै अघि बढी । नदी जहाँ–जहाँ पुग्यो, त्यहाँ प्रकृतिका विविध रूपहरू भेटिए– कहिले उग्र, कहिले शान्त, कहिले विनाशकारी, त कहिले जीवनदायी ।
नदीको दुवै किनारमा विभिन्न आकार, रूप र बनावटका असंख्य ढुङ्गाहरू थुप्रिएका थिए । कोही गोलाकार र चम्किला थिए, जसलाई हेर्दा मन नै लोभिन्थ्यो । कोही अण्डाकार, कोही तिखा किनार भएका र कोही अनियमित, खुरदुरा र सामान्य देखिने । ती ढुङ्गाहरू सबै एउटै नदीले बोकेका भए पनि, सबैको कथा एउटै थिएन ।
त्यही भीडमा दुई ढुङ्गाबिच विस्तारै परिचय बढ्न थाल्यो । दिन बित्दै गए, रात आए, बाढी आयो, पानी घट्यो– यस्तै क्रममा उनीहरू आपसमा कुरा गर्न थाले, अनुभव साट्न थाले र आफ्ना भोगाइ सुनाउन थाले । एउटा ढुङ्गा गोल–मटोल, चम्किलो र आकर्षक थियो । उसलाई हेर्दा लाग्थ्यो, मानौँ उसले जीवनको सबै परीक्षा सजिलै पार गरिसकेको छ । अर्को ढुङ्गा भने अनियमित आकारको, खुरदुरो सतह भएको र बाहिरी रूपमा खासै सुन्दर नदेखिने थियो । ऊ प्रायः आफूलाई अरूसँग तुलना गरेर चुपचाप सोचिरहन्थ्यो ।
एकदिन, धेरै सोचविचारपछि खुरदुरो ढुङ्गाले आफ्नो जिज्ञासा रोक्न सकेन । उसले नम्रतापूर्वक सोध्यो– ‘हामी दुवै उही हिमालका शृङ्खलाबाट बग्दै आएका हौँ । एउटै नदीले हामीलाई यहाँसम्म ल्याएको हो तर तिमी यति गोलो, चम्किलो र सुन्दर छौँ र म किन अझै यति खुरदुरो र असजिलो छु ?’ गोल ढुङ्गा केही क्षण मौन बस्यो । उसले बगेको नदीतर्फ हे¥यो, मानौँ आफ्ना पुराना दिनहरू सम्झिँदै होस् । त्यसपछि मुस्कुराउँदै भन्यो– ‘साथी, सुरुमा म पनि तिमी जस्तै थिएँ । मेरो सतह पनि तिखा किनारले भरिएको थियो, म पनि असजिलो र कडा देखिन्थेँ । तर मैले एउटा फरक बाटो रोजेँ ।’
उसले आफ्नो कथा यसरी सुनायो– ‘म नदीको तीव्र धारसँगै निरन्तर बगिरहेँ । कहिले काहीँ म चट्टानसँग ठोक्किएँ, फुटेँ, टुक्रिएँ । कतिपय दिन त म आफैंलाई बचाउन सक्दिनँ जस्तो लाग्थ्यो । आँधी, बाढी र धाराको प्रहारले मेरो अस्तित्व नै मेटिने हो कि भन्ने डर लाग्थ्यो तर हरेक चोट, हरेक घर्षणले मलाई कमजोर बनाउनुको सट्टा बिस्तारै परिष्कृत बनाउँदै गयो । धाराले मेरो तिखोपन काटिदियो, घर्षणले मलाई चम्किलो बनायो र समयले मलाई धैर्य सिकायो ।’
उसले गहिरो स्वरमा थप्यो– ‘मसँग विकल्प थियो । म पनि किनारमै बसेर शान्त र सजिलो जीवन बिताउन सक्थेँ तर त्यस्तो जीवनमा न त परिवर्तन थियो, न त विकास । बाहिरबाट सुरक्षित देखिए पनि, भित्रबाट त्यो मर्नु सरह थियो । संघर्षमै पीडा हुन्छ, तर त्यही पीडाले अर्थ दिन्छ ।’ अन्त्यमा गोल ढुङ्गाले खुरदुरो ढुङ्गालाई हौसला दियो– ‘तिमी आफ्नो अहिलेको रूप देखेर निराश नहुनु । अझै तिमी यात्रामै छाँै ।
समय, धैर्य र निरन्तर प्रयासले तिमीलाई पनि रूपान्तरण गर्नेछ । आज तिमी जहाँ छौँ, म पनि कहिल्यै त्यहीँ थिएँ । भोलि तिमी त्यही बन्ने छौँ, जो म आज छु– या सायद मभन्दा पनि राम्रो ।’ नदी चुपचाप बगिरह्यो तर ती दुई ढुङ्गाबिच भएको त्यो संवादले गहिरो अर्थ बोकेको थियो ।
जीवन पनि यस्तै हो । संघर्ष नै परिवर्तन र सफलताको आधार हो । कठिनाइ, असफलता र बाधाले मानिसलाई तोड्दैनन्– यदि उसले हार मानेन भने । बरु तिनैले मानिसलाई सुदृढ, परिपक्व र अनुभवी बनाउँछन् । जसरी नदीको निरन्तर धाराले खुरदुरो ढुङ्गालाई गोलो र चम्किलो बनाउँछ, त्यसरी नै जीवनका कठोर क्षणले मानिसलाई सबल बनाउँछन् ।
आज तपाईं जहाँ हुनुहुन्छ, परिस्थिती जस्तोसुकै किन नहोस्– संघर्ष गर्न कहिल्यै नछोड्नुहोस् । प्रारम्भमा परिणाम नदेखिए पनि निरन्तर प्रयास जारी राख्नुस् । समयले ढिलो गरे पनि न्याय अवश्य गर्छ । निरन्तर प्रयत्न गर्ने व्यक्तिलाई सफल हुन संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । कठिनाइलाई अवसरको रूपमा लिनुहोस्, संघर्षलाई आफ्नो मित्र बनाउनुहोस्– तब तपाईंको जीवन पनि त्यो गोल ढुङ्गाजस्तै चम्किलो, दृढ र अरूका लागि प्रेरणादायी बन्नेछ ।
