संक्रमितको संख्यामा छलाङ, सरकारको अकर्मण्यताको परिणाम : कांग्रेस

दाङ बैशाख ३१ । नेपाली कांग्रेसले नप्रधानमन्त्रीले कोरोनाको चुनौतीलाई भन्दा सत्ताको द्वन्द्वलाई बढी प्राथमिकता दिएको आरोप लगाएको छ । लकडाउनको ५० दिनको समिक्षा गर्दै उसले प्रधानमन्त्रीको प्राथमिकता फरक भएकाले कोरोनासंगको संघर्ष चुस्त बनाउने बिषय झनै कमजोर बन्न पुगेको ठकर गरेको छ । पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले सार्वजनिक गरेको समिक्षाको निश्कर्षमा भनिएको छ, ‘सरकारकै ध्यान बरालिएपछि स्वास्थ सामग्रीको अपर्याप्तता जारी रहनु, परिक्षणमा तिब्रता नहुनु र कोरोनाबाट संक्रमितको संख्या तिब्र रुपले बढ्दै जानु अनौठो भएन ।’

माघ १० गते प्रथम संक्रमित भेटिएपछि सरकारले दूरदर्शी कदम चालेको भए देशले अहिले लकडाउनको अबस्था भोग्न नसक्ने अनुमान पनि कांग्रेसको रहेको छ । पार्टीका तर्फवाट ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने नीति लिएर पार्टीले कोरोना बिरुद्धको लडाइमा साथ दिइरहेको उल्लेख गरेको छ । ‘सरकारले लक डाउनको समयमा सिमानाकालाई ब्यवस्थित गर्न प्रभावकारी र ब्यवहारिक रणनीति न अख्तियार गर्न सक्यो न कार्यान्वयन नै’ कांग्रेसले भनेको छ, ‘सिमानामा आइपुगेका नागरिकलाई नियन्त्रणका साथ प्रवेश दिएर क्वारेन्टाइनमा कडाइसाथ राखेर परिक्षण पश्चात् मात्रै घर जान दिएको भए लुकिछिपी प्रवेशले गरेको संक्रमणको विस्तारलाई रोक्न सकिन्थ्यो ।’ यो कडाइ र ब्यवस्थापनमा सरकारको अस्तित्व नदेखिनुको परिणाममा कोरोनाले आफ्नो अस्तित्व विस्तार गर्न सक्यो ।