शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट जोगाऔँ : मन्त्री न्यौपाने
अमरराज आचार्य
दाङ, २५ पुस । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले शिक्षा क्षेत्रमा दलीय राजनीति हुन नहुने बताएका छन् । शिक्षामा राजनीतिक प्रभाव परेका कारण समस्या देखिएको भन्दै उनले स्तरीय शिक्षा प्रदान गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
प्याब्सन दाङको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गदै उनले समयसापेक्ष शिक्षाको आवश्यकताबारे पनि चर्चा गरे । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि योजनाबद्ध भएर लाग्नुपर्ने कुरालाई केन्द्रमा शैक्षिक नीति र योजना बनाउन उनले सरोकारवालाको ध्यानाकर्षण समेत गरे । ‘पछिल्लो समयको प्रविधिको प्रयोग गर्दै विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा लाग्नुपर्छ’, मन्त्री न्यौपानेले भने ।
शिक्षामा सुधार ल्याउन निजी तथा सामुदायिक विद्यालयलाई सँगसँगै अगाडि बढाउनु पर्ने उनले बताए । ‘सामुदायिक र संस्थागत विद्यालयबिच रहेको विभेद हटाएर आपसी सहकार्यमार्फत् शिक्षामा सुधार ल्याउनुपर्छ’, मन्त्री न्यौपानेले भने । निजी क्षेत्रमा भएका राम्रा पक्ष सामुदायिक विद्यालयलाई पनि सिकाउन सके सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने उनको विश्वास थियो ।
‘सामुदायिक विद्यालय सुधार गर्न सकेमा विद्यार्थी सङ्ख्या बढाउन सकिनेछ’, उनले भने, ‘अहिले सामुदायिक विद्यालय मर्ज गर्नुपर्ने अवस्था आएको छ, यसलाई रोक्न यसको सुधारमा लाग्नुपर्छ ।’ राज्यले निजी विद्यालयलाई पनि सहयोग गरेर अगाडि बढ्नु पर्ने बताए । देश विकास र समृद्धिका लागि समय सुहाउँदो व्यावहारिक शिक्षा प्रणाली आवश्यक रहेको उनले बताए । न्यौपानेले अध्ययन गरिसकेपछि विद्यार्थीलाई बेरोजगार बस्न नपर्ने शिक्षा आवश्यक रहेको बताए ।
देश सङ्घीय संरचनामा गएसँगै कक्षा १० सम्मको शिक्षालाई हेर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको भन्दै मन्त्री न्यौपानेले शिक्षाको सुधारका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारले पहल थाल्नुपर्ने बताए ।
शिक्षा क्षेत्रको सवालमाथि ‘प्यानल डिस्कसन’
प्याब्सन दाङले स्थापना दिवसको अवसरमा यो पटक शिक्षा क्षेत्रका समस्याबारे ‘प्यानल डिस्कसन’ चलायो । प्यालनमा रहेर बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गरेर शिक्षा क्षेत्रमा सुधारका लागि गम्भीर भएर काम गर्नुपर्ने बताए ।
‘अहिले पनि स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर शिक्षाको सुधारमा काम गरेको देखिँदैन’, उनले भने, ‘आफ्नो अधिकार प्रयोग गर्न नसक्नु स्थानीय तहको कमजोरी हो ।’ स्थानीय आवश्यकता के हो भनेर पहिचान गरेर नीति बनाउन सहयोग हुने भएकाले स्थानीय तहलाई माध्यमिक तहसम्मको सबै अधिकार प्रदान गरिएको भए तापनि स्थानीय सरकारले बलियो आत्मविश्वासका साथ यो क्षेत्रमा काम देखाउन नसकेको उनको भनाइ थियो ।
शिक्षा क्षेत्रका समयस्या र तिनका समाधानका लागि जत्ति छलफल गरिनुपर्ने हो त्यति हुन नसकेको भन्दै सरोकारवालासँगको प्रशस्त छलफलले मात्र समाधानमा बल पुग्ने उनको भनाइ थियो । ‘संविधानमा मौलिक हकको शिक्षा प्राप्त गर्ने कुरा उल्लेख छ तर अहिले पनि सरकार एक्लैले यो दायित्व पूरा गर्न सकिरहेको छैन’, उनले भने, ‘संविधानको मर्म अनुसार नै नियमनसहित निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा पाउने र शिक्षामा कस्तो सेवा रोज्ने भन्ने अवरस उपलब्ध गराउन सरकार इच्छुक देखिनुपर्छ ।’
यसका लागि निजी क्षेत्रको लगानीको सुरक्षा र उनीहरूले प्रदान गर्ने सेवालाई स्तरीय बनाउन आवश्यक कानुन निर्माण गर्नुपर्ने उनको तर्क छ । ‘निजी क्षेत्रको लगानीलाई गलत देख्नु नै गलत हुन्छ’, उनले भने, ‘तर निजी क्षेत्रले आफ्नो लगानीलाई आफ्नो हकभन्दा पनि दायित्वका रूपमा लिनु पर्छ ।’ यसैगरी अर्का प्यानलिस्ट घोराही उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राममणि पाण्डेले सङ्घीय ऐनको कारणले स्थानीय तहलाई समस्या हुने गरेको बताए ।
स्थानीय तहले सङ्घीय तथा प्रदेशको कानुनभन्दा बाहिर कानुन निर्माण गर्न नपाउने भएकाले समस्या भएको बताए । स्थानीय सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनले बताए । ‘निजी र संस्थागत विद्यालयलाई सँगसँगै अगाडि बढाउने हाम्रो योजना हो’, पाण्डेले भने । प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीले राज्यले निजी विद्यालयबारे स्पष्ट नीति ल्याउनु पर्ने बताए ।
‘निजी विद्यालयलाई कहिलेसम्म सञ्चालन हुन दिने वा नदिने, के कस्ता कार्य गर्ने भन्नेबारे सरकारको र राजनीतिक दलको स्पष्ट नीति हुनुपर्छ’, उनले भने । कार्यक्रमको सहजीकरण प्याब्सनका नेपालका पूर्वसचिव यादव गिरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले निजी विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योग्दान पु¥याएको बताए ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले निजी विद्यालयले शिक्षा प्रदानसँगै सामाजिक उतरदायित्व निर्वाह गर्नुपर्ने बताए । गोरखा गु्रपका संस्थापक अध्यक्ष मानबहादुर बुढाले चुनौतीलाई अवसरको रूपमा लिएर अगाडि बढनुपर्ने बताए । कार्यक्रम प्याब्सनका जिल्ला अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दले स्वागत मन्तव्यसहित संस्थाका गतिविधिबारे जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण प्यावसनका सचिव आदिम केसीले गरेका थिए ।
कार्यक्रममा पाण्डवेश्वर मन्दिर धारापानी, खेलकुद क्षेत्रका सञ्जु केसी, शिक्षा क्षेत्रबाट सरिता देवकोटा, गोरखा गु्रपका संस्थापक अध्यक्ष मानबहादुर बुढालाई सम्मान गरिएको थियो । यसैगरी स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगीताका विजेतालाई सम्मान गरिएको थियो ।
