दीपशिखा बनिन् मेधावी छात्रा
दीपशिखा बनिन् मेधावी छात्रा
दाङ, २५ पुस । हिमाल एकेडेमीकी दीपशिखा कार्की मेधावी छात्रा–२०८२ को उपाधि चुमेकी छिन् । मेधावी छात्रा प्रतियोगिताको अन्तिम नतिजा बिहिबार सार्वजनिक गरिएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजना, एपेक्स कम्प्युटरको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा सञ्चालित मेधावी छात्राको २० औँ संस्करण प्रतियोगितामा कार्कीले मेधावी छात्राको उपाधि जितेकी हुन् । प्याब्सन दाङको ३५ ओैँ स्थापना दिवसको अवसरमा मेधावी छात्राहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
दोस्रोमा गुरुकुल एकेडेमी घोराहीका याशु बुढाथोकी, तेस्रोमा गोरखा सेकेन्डरी माविका सेविका आचार्य, चौथोमा श्री पशुपति विद्याश्रमकी कोमल सिंह रैदास, पाँचौमा दीपशिखा आवासीय मावि घोराहीकी प्रकृति डिसी र तुलसी माविकी क्युरिना चौधरी भएका थिए ।
यसैगरी छैठौँमा दीपशिखा आवासीय माविकी दीपिका भण्डारी र गुरुकुल एकेडेमीका स्वस्तिका ढकाल भए भने सातौँ स्थानमा सिद्धार्थ एकेडेमीका आर्शिका गौतम, गोरखा सेकेण्डरी तुलसीपुर माविका मन्जिला बस्नेत भए । उत्कृष्ट विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्याब्सन दाङमा आबद्ध निजी विद्यालयमा कक्षा १० सम्म अध्ययनरत छात्राहरूबिच भएको बौद्धिक प्रतिस्पर्धात्मक प्रतियोगिता मेधावी छात्रामा जिल्लाका ५७ विद्यालयका एक सय ६४ छात्राहरूले प्रतिस्पर्धा गरेका थिए । एक सय पूर्णाङ्कको अङ्ग्रेजी, गणित र विज्ञान विषयका वस्तुगत प्रश्नहरू रहने प्रतियोगिताका दश उत्कृष्ट छात्राहरूलाई प्याब्सन दाङको स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने गरिएको छ ।
