calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

वीरेन्द्र माविलाई राष्ट्रपति रनिङ शिल्ड

लक्ष्मण बस्नेत
दंगीशरण, २५ पुस । दंगीशरण गाउँपालिका अन्तरविद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि वीरेन्द्र नमुना माध्यमिक विद्यालय हेकुलीले जित्दै रनिङ शिल्ड कब्जा गरेको छ ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु माध्यमिक विद्यालय दंगीशरण–६, प्रसडुवाको व्यवस्थापनमा भएको प्रतियोगितामा वीरेन्द्र नमाविले ११ स्वर्ण, चार रजत र दुई कांस्य पदकसहित उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक रनिङ शिल्ड हात पारेको हो । यस अघि विद्यालयले पाँचौँ संस्करणमा पनि रनिङ शिल्ड जितेको थियो । यससँगै वीरेन्द्र मावि लगातार छैठौँ पटक समग्र विजेता बन्न सफल भएको छ ।

प्रतियोगितामा श्रीगाउँ लाइफभिजन बोर्डिङ स्कुल सिम्ठानाले आठ स्वर्ण, चार रजत र छ कांस्य पदकसहित दोस्रो स्थान हासिल ग¥यो भने सात स्वर्ण, नौ रजत र छ कांस्य पदकसहित सिद्धपृथ्वी जनता मावि श्रीगाउँ तेस्रो स्थानमा रह्यो । ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाँडाले तीन स्वर्ण, सात रजत र सात कांस्य पदकसहित सान्त्वना स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।

पुरस्कार वितरण तथा समापन समारोह वडा नं. ६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशनजंग शाहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता र उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा भएको थियो ।

विजेता विद्यालय तथा उत्कृष्ट खेलाडी भलिबल छात्रमा वीरेन्द्र मावि हेकुलीका दुर्गाबहादुर राम्जा, छात्रातर्फ श्रीगाउँ लाइफ भिजनका गायत्री लामिछाने, एथलेटिक्स छात्रमा श्रीगाउँ लाइफ भिजन सेकेन्डरी स्कुल सिम्ठानाका सुनिल वली, छात्रामा सिद्धपृथ्वी जनता मावि श्रीगाउँकी रोशमणि सुनार, कबड्डी छात्रमा भानु मावि प्रसडुवाका आकाश चौधरी, छात्रामा वीरेन्द्र मावि हेकुलीका सलिना चौधरीलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिव महेन्द्र केसीले गरेका थिए ।