राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा तीन सिटका लागि आठको उम्मेदवारी
गोरक्ष समाचारदाता
दाङ, २४ पुस । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ । तीन सिटका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि चार राजनीतिक दलबाट आठ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले दिएको बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मको समयमा नेपाली कांग्रेस र एमालेबाट संयुक्त रूपमा तीन जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना गरी आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेको तालमेल गर्ने सहमति अनुसार अन्य कोटामा गुल्मी रेसुङ्गा नगरपालिका–३ निवासी कांग्रेस नेता चन्द्र केसी, अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा दाङको लमही नगरपालिका–२ निवासी बासुदेव घिमिरे ‘ज्गली’ र महिला कोटामा गुल्मीकै मदाने गाउँपालिका–३ निवासी एमाले नेता रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । घिमिरेको प्रस्तावमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी, केसीको प्रस्तावकमा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा उपप्रमुख हुमा डिसी रहेका छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट अन्य कोटामा नवलपरासी पश्चिमको बुर्दघाट नगरपालिका निवासी वृहस्पति अधिकारी, महिला कोटामा पाल्पाको तिनाउँ गाउँपालिका–६ निवासी दुर्गाकुमारी भण्डारी र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बाँकेको बैजनाथ गाउँपालिका–५ निवासी सर्जन विकले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिएका छन् । उनका अनुसार अधिकारीको प्रस्तावक र समर्थकमा प्रदेश सभा सदस्यहरू यमबहादुर नेपाली र मिना बुढा, भण्डारीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारू र समर्थकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल र अपाङ्गतर्फ उम्मेदवारी दर्ता गराएका विकको प्रस्तावक र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगर र दिलकुमारी बुढा रहेका छन् ।
यसैगरी राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा पार्टीबाट बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराएका छन् । प्युठानको मल्लरानी गाउँपालिका–२ निवासी खत्री मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काको प्रस्तावक र ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको समर्थनमा अन्य र प्युठान नगरपालिका–८ निवासी पण्डितले प्युठानकै भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाको प्रस्ताव र स्वर्गद्वारी नगरपालिका उपप्रमुख मिनराज राना मगरको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्ताका लागि ¥यालीसहित राजनीतिक दलहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र प्रदेशका १२ जिल्लामा रहेका एक सय नौ स्थानीय तहका प्रमुख तथा उपप्रमुख दुई सय १७ जना गरी कुल तीन सय चार जना मतदाता रहेका छन् । निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयबाट ¥यालीसहित नेता तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ¥यालीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमालेका नेता चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतका नेताको सहभागिता रहेको थियो ।
१८ सिटका लागि ४४ जनाको उम्मेदवारी
यसैबिच राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातवटै प्रदेशमा गरी ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा लुम्बिनीमा तीन सिटका लागि आठ, गण्डकीमा दुई सिटका लागि चार, बाग्मतीमा दुई सिटका लागि छ, मधेसमा चार सिटका लागि ११ जना, कोशीमा तीन सिटका लागि पाँच, कर्णालीमा दुई सिटका लागि छ जना र सुदूरपश्चिममा दुई सिटका लागि चार जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यक्रम अनुसार बिहिवार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने तालिका छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान हुनेछ ।
लुम्बिनीमा कुन दलको कति मतभार ?
लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तहगरी कूल सात सय ५३ मतभार रहेको छ । विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ रहेकोमा अहिले वृद्धि गरेर ५३ पु¥याएइको छ । यसैगरी स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ । लुम्बिनी प्रदेश सभामा सात सदस्य छन्, जसको मतभार चार सय ६१ रहन्छ भने प्रदेशमा रहेका एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय १८ जनाको मतभार चार हजार एक सय ४२ रहन्छ ।
यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको तीन हजार एक सय ७९ रहन्छ । एमालेको दुई हजार आठ सय १० र साविक माओवादीको एक हजार तीन सय ४३ रहेको छ । साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेको अवस्थामा प्रदेश सभामा एकीकृत समाजवादीका एक सांसदको मतभार पनि एक हजार तीन सय ४३ मा थप हुने देखिन्छ । साना दलमध्ये राप्रपाको दुई सय ६९ मतभार छ भने नागरिक उन्मुक्ति पार्टीको दुई सय १२, जसपाको दुई सय ७३, लोसपाको दुई सय ३५, जनमतको एक सय ५९, राजमोको एक सय २९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको ५३ मतभार छ ।
