calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

दुध उत्पादन बढाउन भैँसीको वंश सुधार गरिने

गोरक्ष समाचारदाता
दाङ, २४ पुस । दुध उत्पादन बढाई किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले देउखुरीमा हुलाकी राजमार्ग लक्षित भैँसीको वंश सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा राजपुर र गढवा गाउँपालिकामा भैँसीपालन व्यवसायमा संलग्न यादव समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

परम्परागत रूपमा भैँसीपालन पेसामा आबद्ध यादव समुदायलाई व्यवस्थित र आधुनिक पशुपालन प्रणालीमा जोड्दै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित हुलाकी राजमार्ग लक्षित भैँसी वंश सुधार कार्यक्रम गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा हरिनारायणप्रसाद थारू बताउँछन् । कार्यालय प्रमुख डा थारूका अनुसार कार्यक्रम अन्तर्गत ६० जना किसानलाई तीन समूहमा आबद्ध गराई भैँसीपालनसम्बन्धी तालिम, आहार व्यवस्थापनका लागि घाँसको बिउ सहयोग, गोठ सुधार र आवश्यक प्रविधि हस्तान्तरण गरिनेछ ।

भैँसीको वंश सुधार कार्यक्रमले दुध उत्पादनमा वृद्धि भई किसानको आम्दानीमा सुधार ल्याउने अपेक्षा गरिएको बताए । प्रदेश सरकारको कृषि आधुनिकीकरण नीति अनुसार स्थानीय जातका भैँसीपालनमा संलग्न यादव समुदायलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन र आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम गर्न थालिएको छ ।

अहिले अधिकांश किसानले परम्परागत रूपमा भैँसीपालन गरिरहेको भन्दै कार्यालय प्रमुख थारूले भने, ‘देउखुरीमा अधिकांश यादव समुदायले परम्परागत रूपमा भैँसीपालन गरेका छन् । त्यसलाई सुधार गर्दै व्यवस्थित रूपमा भैँसीपालनमा सघाउने कार्यक्रमको उद्देश्य रहेको छ ।’ कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा १२ लाख रुपैयाँ विनियोजन गरिएकोमा २० प्रतिशत कटेर अहिले नौ लाख रुपैयाँ मात्र रहेको बताए ।

जिल्लामा सबैभन्दा बढी भैँसीपालन राजपुर र गढवा गाउँपालिकामा हुने गरेको छ । यादव समुदाय मुख्य बसोबास रहेको राजपुर र गढवाका विभिन्न स्थानमा पुख्र्यौली पेसाका रूपमा भैँसीपालन गर्दै आएका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र दाङका अनुसार जिल्लामा करिब ७० हजार भैँसी रहेकोमा राजपुर र गढवामा मात्र १५ देखि २० हजार भैँसीपालन गरिएको छ ।