राप्तीको आठौँ अधिवेशन सुरु, तीन विधेयक पेश
तुलबहादुर कुुवँर
भालुवाङ, २४ पुस । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा÷नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम विहीवारदेखि गाउँपालिका अधिवेशन सुरु भएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक र सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरूको सेवा, सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक पेश गरेका हुन ।
त्यसैगरी सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले राप्ती गाउँपालिकाको दलित सशक्तिकरण सम्बन्धी व्यवस्था विधेयक पेश गरेका थिए । सभामा पेश गरिएका विधेयकहरू अधिवेशनको आगामी बैठकमा छलफल गरि निर्णयार्थ प्रस्तुत गरिने छ ।
अधिवेशनको शून्य समयमा सभाका सदस्यहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै सम्बन्धित रचनात्मक सुझावहरु राखेका थिए सभामा उठेका विषयमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनताको जीवनस्तर सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताएका थिए ।
