बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्ला केही वर्ष यता सेवा लिनेहरुको चाप दिनदिनै बढिरहेको छ । कुनै बेला भूतबङ्गला जस्तै रुपमा रहेको आयुर्वेद चिकित्सालयमा अहिले विषयगत विशेषज्ञहरुसँगै आयुर्वेद चिकित्साका नयाँ नयाँ पद्धति सुरु भएका छन् ।
२०७९ सालमा नेपालमै पहिलो पटक सुरु भएको स्वर्णविन्दु प्राशन उपचार पद्धतिले बिजौरी आयुर्वेदलाई पश्चिम नेपालमै थप परिचित बनाएको छ । चिकित्सालयमा हाल उपलब्ध सेवाहरु, विशेषज्ञ चिकित्सकको अवस्था र भावि कार्यक्रमका विषयमा केन्द्रित रहेर प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निर्देशक डा प्रवेश श्रीवास्तवसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
गोरक्षको सातावार्ता यहाँलाई स्वागत छ ।
बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका विषयमा आमनागरिक माझ केही कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं अनि तपाईंको लोकप्रिय पत्रिका गोरक्ष राष्ट्रिय दैनिक परिवारलाई हृदयदेखि धन्यवाद ।
तपाईंहरूले तीन वर्ष अघि सुरु गरेको स्वर्णविन्दु प्राशनमा अहिले सेवा लिनेहरूको सङ्ख्या हरेक पटक अत्यधिक रूपमा बढिरहेको छ । यसको कारण के हुनसक्छ बताइदिनुस् न ।
यो आयुर्वेद चिकित्साको पुरानै पद्धति हो । मानिस जन्मेको छ महिनापछि अन्नप्राशन कार्यक्रम राखिए जस्तै आयुर्वेदको कुस्य सिमिता ग्रन्थमा स्वर्ण विन्दु प्राशनको विषयमा उल्लेख गरिएको छ । परापूर्वकालदेखि नै चल्दै आएको यो विधि भारतको आयुश विश्वविद्यालयले पनि विभिन्न मेडिकल कलेजमा अनुसन्धानका रूपमा प्रयोग गरेपछि यो बालबालिकाको स्वास्थ्यको समग्र विकाशका लागि फलदायी बन्यो अनि हामीले पनि पहिलो पटक बिजौरीमा यो पद्धति सुरु ग¥यौँ ।
स्वर्ण भस्ममा शुद्ध गाईको घ्यू र महको मिश्रण बनाएर जन्मेदेखि पाँच वर्ष उमेरसम्मको बच्चालाई मात्रा अनुसार खुवाउन सुरु ग¥यौँ । यो तीन वर्षको अवधिमा नियमित रूपमा स्वर्णविन्दु प्राशन खुवाउने बच्चाहरूमा आएको शारीरिक र मानसिक परिवर्तनको प्रचार हामीले भन्दा पनि सुधार आएका बच्चाका आमाबुबाबाट व्यापक रूपमा हुन थाल्यो । यो जिल्लाभर हुँदै समग्र लुम्बिनी प्रदेशभर फैलियो ।
हामीले सुरु गरेको स्वर्णविन्दु प्राशन कार्यक्रमको प्रभावकारिताकै कारण अहिले कुस्य नक्षत्रको दिन–जुन दिन स्वर्णविन्दु प्रासन खुवाइन्छ । दैनिक ६ हजार जनासम्म बालबालिकालाई खुवाउन सफल भयौं । यति धेरै सङ्ख्यामा सहभागिता हुनुको अर्थ अवश्य पनि यसको सकारात्मक प्रभावले हो । ख्याउटे बच्चाको स्वास्थ्यमा सुधार भएको हामीले पायौँ, अभिभावकले थाहा पाउनुभयो अनि छरछिमेकले पनि थाहा पाए । त्यसपछि प्रचार व्यापक बन्दै अहिले यो सङ्ख्याका बालबालिका हरेक पटकको अभियानमा जोडिने गरेका छन् ।
दुई सय जना बच्चालाई खुवाएर सुरु भएको स्वर्णविन्दु प्राशन कार्यक्रममा अहिले ६ हजार बच्चा जोडिँदा तपाईंहरूलाई साविकको बजेट र जनशक्तिले पर्याप्त भएको छ त ?
हामीलाई जनशक्तिको खासै समस्या छैन । किनकि बिजौरी आयुर्वेद नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानद्वारा सञ्चालित बिएएमएसको पनि प्रयोगात्मक अभ्यास गर्ने शिक्षण अस्पताल हो । त्यसैले ओजेटीमा आएका विद्यार्थीबाट हामीले यो सेवा दिइरहेका छौँ । जहाँसम्म बजेटको कुरा छ, हामीले अहिले सङ्घीय सरकारले उपलब्ध गराएको बजेटले नपुगेर अस्पताल विकास समितिको केही स्रोत व्यवस्थापन गरेर काम चलाइरहेका छौँ ।
अब यसले पनि थेग्न सक्ने अवस्था नभएपछि हामीले थप बजेटका लागि माथिल्लो निकायमा बजेटको माग गरिसकेको अवस्था छ । मलाई लाग्छ, माथिल्लो निकायले पनि यसलाई सम्बोधन गर्नेछ भन्नेमा म विश्वस्त छु ।
स्वर्णविन्दु प्राशन मात्र नभएर अन्य ओपिडीमा पनि अहिले बिरामीको आकर्षण बढिरहेको छ, जनशक्तिको अवस्था के कस्तो छ ?
अहिले हामीसँग जनरल चिकित्सा, पञ्चकर्म, बालरोगका दुई जनाको दरबन्दी छ । दुई जना सन्सल्टेन्ट पनि स्थायी दरबन्दीमै हुनुहुन्छ । बाँकी थप चिकित्सक पनि हामीले नेपाल संस्कृत विश्वविद्यालयसँग सम्झौता गरेर राखेका छौँ । विश्वविद्यालयमा बिएएमएस ओजेटी गर्न दिएबापत हामीले विश्वविद्यालयबाट नाक, कान, घाँटी विशेषज्ञ एक जना, एक जना मानसिक रोग विशेषज्ञ, एक जना क्षारसूत्र शल्य चिकित्सक र एक जना स्त्रीरोग विशेषज्ञको व्यावस्थापन गरेका छौँ ।
हरेक क्षेत्रमा विशेषज्ञ थपिँदै जाँदा बिरामीको सङ्ख्या बढ्नु पनि स्वाभाविकै हो । अर्को कुरा हामी विसुद्ध रूपमा आयुर्वेद चिकित्सामा जोडिए पनि केही अवस्थामा प्रयोगशालाको पनि भर पर्नुपर्ने हुन्छ । एक्सरे सेवा पनि चाहिन्छ, भिडओ एक्स–रे तथा इसिजी सेवा पनि हामीले सुरु गरेका छौँ । त्यसैले हामीले सेवा थप्नु अहिलेको समयको माग हो ।
यसैगरी हामीले पछिल्लो समयमा फिजियोथेरापी र सावना पनि थप गरेका छौँ । पञ्चकर्म र क्षारसूत्र त अस्पतालमा अत्यन्तै चलेका छन् । अब हामी निकट भविष्यमै अक्युपन्चर सेवा पनि सुरु गर्ने तयारीमा छौँ । त्यसका लागि पूर्वाधार निर्माण र बजेट सुनिश्चिततासमेत मन्त्रालयबाट भइसकेको जानकारीमा पाएका छौँ ।
मलाई लाग्छ, सम्भवतः दुई महिनाभित्र हामीले अस्पतालमा अक्युपन्चर सेवा पनि सञ्चालनमा ल्याउने छौँ । किनकि हामीले बिजौरी अस्पताललाई पश्चिम नेपालकै आयुर्वेद चिकित्साको हब बनाउन चाहन्छौँ ।
प्रदेश सरकारले बिजौरी अस्पतालमा औषधी उत्पादन गर्न भनेर भवन निर्माणको काम पनि सम्पन्न भएको थियो तर भवन हस्तान्तरण नहुँदा औषधी प्रशोधनका लागि आएको बजेट पनि फ्रिज भएको थियो नि ?
हो, निर्माण कम्पनीले भवन निर्माणमा ढिलाइ गर्दा त्यसो भएको हुन सक्छ तर अब भवन निर्माण सम्पन्न भइसकेको छ । भवन विभागले अब हामीलाई चाँडै सो भवन हस्तान्तरण गर्ने तयारी गरिरहेको मैले सुनेको छु । भवन निर्माणपश्चात् मन्त्रालयले औषधी प्रशोधन र उत्पादनका लागि पनि आवश्यक बजेट सुनिश्चितता गर्ने तयारीमा रहेको हाम्रो जानकारीमा आएको अवस्था हो ।
अन्त्यमा केही थप भन्न चाहनुहुन्छ कि ?
हो हामी सबैले सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने आयुर्वेद भनेको उपचार पद्धति मात्र होइन । आयुर्वेद एउटा स्वस्थ जीवनशैली सिकाउने थलो पनि हो । मानिसमा निरोगिता सिकाउने कला पनि हो । रोग प्रतिरोधात्मक शक्ति सिर्जना गर्ने माध्यम पनि हो । हाम्रो शरीरलाई कस्ता आहार विहार चाहिन्छ भनेर सिकाउने थलो पनि हो ।
आयुर्वेदबाट जुन बिरामी निको भएको हुन्छ, सायद फेरि त्यो बिरामीलाई त्यो समस्या बल्झेर आउँदैन भन्ने पनि हामीलाई विश्वास छ । अर्थात्, आयुर्वेद चिकित्सा भनेको रोगलाई जरैदेखि उखेलेर फाल्ने पद्धति हो । त्यसैले हामीले बिहान योगाभ्यासलाई पनि निरन्तरता दिएका छौँ । नागरिकका लागि अस्पताल प्राङ्गणमै निःशुल्क रूपमा खुल्ला नागरिक व्यायामशाला निर्माण गरेका छौँ ।
अन्त्यमा आयुर्वेद चिकित्सालय बिजौरीमा उपलब्ध हरेक सेवा लिएर एक पटक अनुभव गर्न पनि मैले आम जिल्लाबासीलाई हार्दिकतापूर्वक अनुरोध गर्दछु । साथै बिजौरीमा मात्र सीमित रहेको स्वर्णविन्दु प्राशन अहिले लुम्बिनी प्रदेशका अन्य अस्पतालमा पनि सुरु भएको छ । हाम्रै जिल्लामा पनि तुलसीपुरको दोघरेमा रहेको राप्ती आपुर्वेद चिकित्सालयमा स्वर्णविन्दु प्राशन सुरु भइसकेकाले नजिकका अभिभावकले आफ्ना बालबालिकालाई त्यहाँ पनि स्वर्णविन्दु प्राशन खुवाउन सक्नुहुन्छ भन्ने जानकारी गराउन चाहन्छु ।