गोरक्ष समाचारदाता
दाङ, २३ पुस । घोराहीबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पुस २१ गते बिहान करिब ९ः३० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १३ बनगाउँ चौतारी टोलस्थित एक घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालई पक्राउ गरेको हो ।
वनगाउँ चौतारी टोलस्थित सम्पदा बुढा मगरको घरमा खानतलासी गर्दा कोठाभित्र लुकाई छिपाई राखिएको सुटकेसबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० पुडिया (बिस) शुद्ध तौल नौ किलो छ सय १९ ग्राम र सोही झोलाभित्र राखिएको जङ्गली जनावरको जस्तो देखिने सिङ दुई थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीले घटनास्थलबाट २९ वर्षीय सम्पदा बुढा मगर र ३० वर्षीय हासी पुन मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सम्पदा रुकुम (पूर्वी भाग) भूमे गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा भई हाल घोराही–१३ मा बस्दै आएका थिए भने हासी पुन मगर पुथा उत्तरगंगा गाउँपालिका–१ निवासी हुन् । पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा सम्मानित दाङ जिल्ला अदालत घोराहीबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैबिच प्रहरीले सोही ठाँउबाट लागूऔषध (चरेस)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका–२ घर भई हाल घोराहीमा बस्दै आएका ३४ वर्षीया विनमाया पुन र ३९ वर्षीय दीपक पुन रहेका छन् । गोप्य सूचनाको आधारमा बुधवार बिहान खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घोराही–१३ वनगाउँ चौतारी टोलस्थित केवलप्रसाद गिरीको घरमा डेरा गरी बस्दै आएका विनमाया र दीपकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले शरीर तथा कोठाको खानतलासी गर्दा कोठाभित्र रहेको चामलको बोराभित्र लुकाई छिपाई राखिएको लागूऔषध (चरेस) जस्तो पदार्थ फेला पारेको जनाएको थियो । बरामद गरिएको चरेस चार वटा पोका रहेको र त्यसको शुद्ध तौल सात सय ७४ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकालाई लागूऔषध मुद्दामा दाङ जिल्ला अदालत घोराहीबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।